लमजुङको दोर्दी खोलामा निर्माणधिन २५ मेगावाट माथिल्लो दोर्दी ए जलविद्युत आयोजना निर्माण सम्पन्न भएको छ । लिबर्टी इनर्जीद्वारा निर्मित सो आयोजना निर्माण पूरा गरी संरचना परीक्षणसमेत सकिएकाे छ । सम्मूर्ण काम सकिए पनि प्रसारण लाइन नहुँदा विद्युत उत्पादन हुन सकेकाे छैन ।
दोर्दी गाउँपालिका–६ ढोडेनीमा निर्माण भएको आयोजनाकाे हेडवक्ससँगै बाँधक्षेत्र, पावरहाउस, इलेक्ट्रोमेकानिकललगायत संरचना निर्माण सम्पन्न भइसकेको छ । असाेज २०७१ सालबाट निर्माण थालिएको याे आयोजनाले असाेजमसान्त २०७४ देखि व्यावसायिक विद्युत उत्पादन गर्ने लक्ष्य राखिएकाे थियाे । तर पटक–पटक निर्माण कार्य प्रभावित हुँदँ निर्धारित समयमा पूरा हुन सकेन ।
आयोजनाबाट उत्पादित विद्युत दोर्दी करिडोरको १३२ केभी राष्ट्रिय प्रसारण लाइनबाट मर्स्याङ्दी करिडोरको २२० केभी प्रसारण लाइनमा जोडिनेछ । तर, राष्ट्रिय विद्युत प्रसारण लाइन निर्माण सम्पन्न नहुँदा विद्युत उत्पादन गर्न नपाइएको आयोजनाले जनाएको छ ।
अघिल्लो वर्षको असारमा आएको बाढीले क्षति पुर्याएको सो आयोजनामा मर्मत सकिएसँगै संरचना परीक्षण गरिएको आयोजना प्रवर्द्धक राजेन्द्र वस्तीले बताए । आयोजनामा टनेल, इनटेन्कलगायतका संरचना परीक्षण गरिएको र अब विद्युत उत्पादन गर्न मात्रै बाँकी रहेको वस्तीले बताए ।
सो आयोजना विनासकारी भूकम्पपछिको अघोषित नाकाबन्दी र पटक पटक बाढीका कारण निर्माणअवधि लम्बिँदै आएको हो । हाल आयोजनाको बाँधस्थल लोदो खोलाबाट २७ सय मिटर लामो भूमिगत सुरुङ र २७ सय मिटर लामो पेनस्टक पाइपमार्फत दोर्दी खोलाको पानीलाई विद्युतगृहमा पुर्याई विद्युत उत्पादनको तयारी भएको छ ।
आयोजनाको चार अर्ब ६३ करोडभन्दा बढी रकम लागत रहेको छ । १२ दशमलव पाँच मेगावाट क्षमताका दुईवटा पेल्टन टर्बाइन रहेको यस आयोजनामा हिउँदको समयमा आठ रुपैयाँ ४० पैसा र बर्खाको समयमा चार रुपैयाँ ८० पैसा रहने गरी प्रवर्द्धन कम्पनी लिबर्टी र विद्युत प्राधिकरणबीच विद्युत खरिद बिक्री सम्झौता (पीपीए)भएको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस