Like us!
Follow us!
Connect us!
Watch us!

राधीले दोर्दी खोलाको संस्थापक सेयर बेच्दा लाभ कमायो, खरिदकर्ताले आज सम्म घाटा मात्रै देखे

अर्थ संसार

विहीबार, १२ असार २०८२, ०८ : १९ मा प्रकाशित

राधीले दोर्दी खोलाको संस्थापक सेयर बेच्दा लाभ कमायो, खरिदकर्ताले आज सम्म घाटा मात्रै देखे

आइतबार, साताको पहिलो कारोबार दिन दोर्दी खोला जलविद्युत कम्पनी लिमिटेड (DORDI) को सेयर बजारमा आएको हलचल अहिले बजारमा चर्चा मात्र होइन, चिन्ताको विषय बनेको छ। लगानीकर्ताले उच्च मूल्यमा किनेको सेयर T+2 नियमअनुसार बुधबार बिक्रीयोग्य हुँदा नै मूल्य ओरालो लागेर घाटाको तस्बिर कोरेको छ।

आइतबारको ऐतिहासिक बिक्री

असार ८ गते आइतबार, जब बजार खुलेको पहिलो दिन नेप्से परिसूचक ३२.९३ अंकले घटेर २५९५.९७ विन्दुमा झरिरहेको थियो, दोर्दी खोला जलविद्युत कम्पनीको सेयर भने सबैभन्दा बढी कारोबारमा थियो। कुल कारोबार ९ अर्ब १४ करोड रुपैयाँ नाघेको उक्त दिन दोर्दी खोलाको कारोबार मात्रै ७५ करोड रुपैयाँ पुगेको थियो। त्यसमध्ये ब्रोकर नम्बर ३९ – सुमेरु सेक्युरिटिज प्रा.लि.मार्फत मात्रै ५६ करोड ३८ लाख रुपैयाँभन्दा बढीको सेयर बिक्री भएको थियो।

यो कारोबार १६ लाख ४७ हजार कित्ता संस्थापक सेयर बराबर रहेको बुझिएको छ, जुन राधी विद्युत कम्पनीको स्वामित्वमा रहेको थियो। कम्पनीले यसअघि नै सार्वजनिक सूचना प्रकाशित गर्दै १६ लाख ४४ हजार ८ सय ८८ कित्ता संस्थापक सेयर बिक्रीको निर्णय गरेको थियो। यिनको लकइन अवधि असार ७ गते सकिएपछि भोलिपल्ट आइतबार नै ती सेयरहरू बिक्रीमा ल्याइएको थियो।

खरिद मूल्य र बिक्रेता कम्पनी

राधी विद्युत कम्पनीले दोर्दी खोलाको संस्थापक सेयरहरू प्रति कित्ता ३४० देखि ३४५ रुपैयाँको दरमा बिक्री गरेको देखिएको छ। सुमेरु सेक्युरिटिजको कारोबार विवरण हेर्दा, उक्त कम्पनीले दोर्दी खोलाको सेयर बिक्रीमार्फत ५६ करोड ३८ लाख रुपैयाँ संकलन गरेको छ। सोही दिन सुमेरु सेक्युरिटिजको कुल कारोबार १ अर्ब ६ करोड रुपैयाँ पुग्यो, जसमा बिक्री मात्र ७२ करोड रुपैयाँभन्दा बढी थियो।

यो घटनाले बजारमा ठूलो तरंग सिर्जना गर्‍यो। किनभने एकै दिनमा एउटै ब्रोकरबाट यति ठूलो परिमाणमा संस्थापक सेयरको निकासी हुनु दुर्लभ मानिन्छ। 

बजार संकेत

आइतबार खरिद गरिएका ती सेयरहरू T+2 नियम अनुसार लगानीकर्ताको डिम्याट खातामा मंगलबार साँझ मात्रै आए। अर्थात् बुधबार ती सेयरहरू बिक्री योग्य बने। 

दोर्दी खोलाको सेयर बुधबार रु ३३४.९० बाट खुलेको थियो तर दिनभरिको कारोबारमा झरदै रु ३०८.०० सम्म पुग्यो। दिनको अन्तिम कारोबार मूल्य रु ३१३.१६ मा थामियो भने समापन मूल्य (closing price) रु ३१६.०० मा कायम रह्यो। अघिल्लो बन्द मूल्य रु ३२८.३८ को तुलनामा सेयर रु १२.३८ ले घटेको थियो, अर्थात् ३.७७ प्रतिशतको गिरावट। 

जसले आइतबार ३४०-३४५ मा दोर्दी खोला किने, उसले बुधबारको मूल्य हेरेर प्रष्ट महसुस गर्‍यो – उनी घाटामा छन्। औसत रुपमा हेर्दा प्रत्येक कित्ता सेयरमा करिब रु २५ देखि ३० को घाटा भएको देखिन्छ। यदि कसैले ठूलो परिमाणमा खरिद गरेका थिए भने, लाखौं रुपैयाँको घाटा भएको अनुमान गर्न गाह्रो छैन।


 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको