अर्थ संसार, काठमाडौँ–अझै १२० नगरपालिका निमित्त कार्यकारी अधिकृतको भरमा चलिरहेका छन् । नयाँ बनेका नगरपालिकामा उपसचिव नहुँदा निमित्त कार्यकारी अधिकृतको भरमा सञ्चालन भएका हुन् ।
सामान्य प्रशासन मन्त्रालयले कर्मचारी नपठाउँदा ती नगरपालिका निमित्तका भरमा सञ्चालन भएको संघीय मामिला तथा स्थानीय विकास मन्त्रालय कर्मचारी शाखाका प्रमुख भरतकुमार शर्माले जानकारी दिनुभयो । उहाँले सामान्यसँग पटक–पटक माग्दा पनि कर्मचारी नपठाएको गुनासो गर्नुभयो ।
“हामीले स्थानीय तहको निर्वाचन भएपछि कर्मचारी माग गरेका हौँ”, उहाँले भन्नुभयो, “अहिलेसम्म दुईपटक चिठी पठायौँ । तर सामान्यले अझै कर्मचारी पठाएको छैन ।”
स्थानीय विकास मन्त्रालयले जेठ १२ र साउन १९ गते दुईपटक १२० नगरपालिकाको कार्यकारी अधिकृतका लागि उपसचिव माग गरेको थियो ।
यता सामान्य प्रशासन मन्त्रालयका प्रवक्ता शिवराम न्यौपानेले अपुग कर्मचारी पठाउने तयारी भइरहेको बताउनुभयो ।
यसैगरी महानगरपालिकामा सहसचिव कार्यकारी अधिकृत हुने व्यवस्था भए पनि वीरगञ्ज र विराटनगरमा उपसचिवस्तरका कर्मचारी कार्यकारी अधिकृत रहेका छन् ।
उपसचिव शर्माले ती महानगर ढिलो घोषणा गरिएको हुनाले उपसचिव नै कार्यकारी अधिकृत भएको बताउनुभयो । उहाँले चाँडै नै ती दुई महानगरमा सहसचिव पठाउने तयारी भइरहेको बताउनुभयो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस