Like us!
Follow us!
Connect us!
Watch us!

नेपालको पूँजीबजारका तीन दशकः कुन अवस्थामा बढ्यो, कुनमा घट्यो ?

धिरज पौड्याल

मंगलबार, ०७ भदौ २०७९, १७ : ०२ मा प्रकाशित

नेपालको पूँजीबजारका तीन दशकः कुन अवस्थामा बढ्यो, कुनमा घट्यो ?

एक वर्ष अगाडि अगष्ट १९, २०२१ मा नेपालको सेयरबजार परिसूचक नेप्से अल टाइम हाइ अर्थात् सर्वाधिक उच्च बिन्दु ३२०० बढी पुगेको थियो तर त्यसपश्चात निरन्तर रूपमा बजार घटिरहेको छ। अगष्ट १९ बाट घट्न सुरु भएको बजार अक्टोबर २४ सम्म निरन्तर रूपमा घटी रह्यो त्यसपश्चात बजारमा करेक्सन लिँदै जनवरी २१ मा २९०० सम्म पुग्यो। बजार घट्ने क्रम रोकिएन र हिजोको अंतिम कारोबार २०६० मा बन्द भएको छ। करिब २० महिनाको अवधिमा ११०० मा रहेको बजार परिसूचक ३२०० सम्म पुग्यो यो छोटो अवधिको सर्वाधिक वृद्धि हो। 

१९९३ मा औपचारिक रूपमा सुरु भएको नेप्से ३० वर्ष पुग्न लाग्दा विभिन्न आरोह अवरोह देखा परे। २८ वर्षको अवधिमा जनयुद्ध, बैंकिङ क्राइसिस, विश्व आर्थिक संकट, महाभूकम्प राष्ट्रको आर्थिक अवस्था तथा कोभिड लागायतका संकटलाई परास्त गर्दै सेयरबजार आजको बिन्दुमा आइपुगेको छ। २००४ देखि २००७ सम्ममा सेयरबजारमा राम्रो वृद्धि देखियो, जनयुद्ध अन्त्य भएको अवधिमा लगानीकर्ताहरुमा लगानीमा विश्वास बढेको थियो। २००४ को सुरुवातमा करिब २०० को बिन्दुमा रहेको बजार २००७  डिसेम्बर १७ सम्ममा करिब १०६५ मा पुगेको थियो, यस अवधिमा बजारका सबै सुचकहरुमा सकारात्मक सुधार देखिएको थियो।

 २००८ को सुरुवातमा बजार घट्यो र विश्वब्यापी रूपमा मार्च २००८ मा सुरु भएको अन्तराष्ट्रिय आर्थिक संकटले अगस्ट २००८ मा नेपालमा प्रभाव देखिन थाल्यो।  त्यसपश्चात बजार २०१२ सम्म निरन्तर गिरावट आयो । २०१२ अप्रिलमा आइपुग्दा करिब ११८० तिर रहेको सेयरबजार ८७०, ७३% को गिरबटका साथ ३०० को बिन्दुमा आई पुग्यो । अन्तराष्ट्रिय आर्थिक संकटले पारेको प्रभाव नेपालमा प्रतक्ष्य रूपमा भन्दा पनि अप्रत्यक्ष रुपमा बढी देखियो जसले नेपालको कुल गार्हस्थ उत्पादनलाई ४  बर्षसम्म प्रभाव परिरह्यो। यो अवधिमा संकटलाई थप संकट बनाइरहेको थियो त्यसबेला उच्च संख्यामा खुलेका बैंक तथा वित्तीय संस्थाहरु जसले आफू आफू बीच अस्वस्थ प्रतिस्पर्धा गरिरहेका थिए र बाँच्नको लागि संघर्ष गरेका थिए जसले बजारलाई प्रभावित बनायो।  

सन् २००८ देखि २०१२ सम्म घटिरहेको बजार २०१२ को सुरुवातमा सम्हालिन प्रयास गर्यो र त्यसपश्चात बजारको अर्को वृद्धिको सुरुवात भएको थियो। २०१२ बाट सुरु भएको बजारको वृद्धि २०१६ अगष्ट सम्म निरन्तर रह्यो। २०१२ को सुरुवातमा करिब ३०० को हाराहारीमा रहेको बजार १८७५ सम्मको हाराहारीमा पुग्यो। यो बीचको अवधिमा २०१५-४-२५ मा गएको महाभूकम्पले आर्थिक रूपमा असर तथा नाकाबन्दीले प्रभाव परेको थियो। मे २०१५ मा बजारमा सानो गिरावट देखियाे तर  गिरावट पछि बजार पुनः सम्हालियो र जूनको सुरुवातमा देखि बजारले निरन्तर रूपमा वृद्धि हुन थाल्यो।

२०७१ आश्विन ६ अर्थात् सेप्टेम्बर २३ देखि भारतले नेपाल विरुद्ध नाकाबन्दी सुरु गर्यो। नाकाबन्दीको कारण बजार २०१५ नोभेम्बर सम्म निरन्तर रूपमा घट्यो त्यसपश्चात् २०१६ जुलाई सम्म बजारको वृद्धि निरन्तर रूपमा भयो र बजार पुनः १८७५ को बिन्दुमा पुग्यो।  

२०१७ मा नेपालमा लिक्वीडिटी क्रञ्च देखिएको थियो। यसका कारण बैंकहरुले कर्जा प्रवाहमा कडाइ गरेका थिए। त्यसबेला जग्गा कारोबार, सेयरबजार अटोमोबाइल लगायतका सेक्टरहरुलाई अनुत्पादक क्षेत्र जनाउँदै कर्जामा थप कडाइ गरे, राष्ट्र बैंकले अनुत्पादक क्षेत्रमा प्रवाह गर्ने कर्जालाई कडाइ गर्यो जसका कारण बजार उच्च रूपमा प्रभावित भयो। २०१९ को अन्त्यसम्म बजार करिब ११०० को बिन्दु तर्फ आएको थियो। 

२०१९ को अन्त्यमा कोभिड को सुरुवात भएको थियो यसपश्चात सुरुवातमा केही महिना बजार प्रभावित रहे पनि त्यसपश्चात निरन्तर रूपमा वृद्धि भयो र अगस्ट २०२१ मा सर्वाधिक ३२२७ अंकको बिन्दुमा पुग्यो। त्यसपश्चात बजारमा देखिएका नीतिगत हस्तछेपका कारण बजारमा गिरावट सुरु भयो र हाल बजार २०५० अंकको बिन्दुमा छ। 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको