Like us!
Follow us!
Connect us!
Watch us!

अष्ट्रेलिया जाने नेपाली विद्यार्थीले चीन र भारतलाई उछिने

पत्रपत्रिका

बुधबार, ०८ भदौ २०७९, ०८ : २९ मा प्रकाशित

अष्ट्रेलिया जाने नेपाली विद्यार्थीले चीन र भारतलाई उछिने

पछिल्लो समय अष्ट्रेलिया पुगेका नेपाली विद्यार्थीको संख्यामा ठूलो बढोत्तरी भएको छ । विश्वव्यापी मान्यताप्राप्त शैक्षिक संस्था,सहज जीवनयापन, रोजगारीलगायत अन्य अवसरको खोजीमा अष्ट्रेलिया जाने नेपाली विद्यार्थीहरुको आकर्षण बढेको बताइन्छ ।

नर्सिङ,सूचना प्रविधि, इञ्जिनियरिङ, हस्पिटालिटी,बिजनेश, पब्लिक हेल्थ, प्रोजेक्ट म्यानेजमेन्ट विषय अध्ययन गर्ने योजना बनाइरहेका नेपाली विद्यार्थीले अष्ट्रेलियालाई पहिलो विकल्प बनाएका हुन् ।

कोरोनापछि सीमा खुलेसँगै २०२१ डिसेम्बरदेखि २०२२ को जुलाई ३ सम्म दुई लाख १५ हजारभन्दा बढी विद्यार्थी अष्ट्रेलिया पुगेको देखिन्छ । २०२१ नोभेम्बर २० देखि २०२२ जुलाई ३ तारिखको अवधिमा एक लाख २६ हजार विद्यार्थीले भिसा प्राप्त गरेका छन् । गत जुन २०२२ मा पछिल्लो १० वर्षमा सबैभन्दा धेरै आवेदकले विद्यार्थी भीसा प्राप्त गरेका छन् । उक्त एक महिनामा ४३ हजार भीसा स्वीकृत भएको बताइन्छ ।

पछिल्लो पाँच महिनाको भीसा स्वीकृति दर हेर्दा नेपाली विद्यार्थीको संख्या भारतीय र पाकिस्तानीको तुलनामा धेरै पाइएको छ । गत मार्च महिनामा अध्ययनका लागि चार हजार सात सय ८८ जना नेपाली विद्यार्थीले अष्ट्रेलियाको भीसा आवेदन गरेका थिए । सोही महिनामा तीन हजार नौ सय ३० जना चिनियाँ विद्यार्थीले अष्ट्रेलियामा अध्ययनका लागि भीसा आवेदन गरेको जानकारी दिइएको छ ।

उक्त अवधिमा तीन हजार चार सय ८३ जना भारतीय विद्यार्थीले अष्ट्रेलियामा अध्ययनको निम्ति आवेदन दिएका थिए । अष्ट्रेलियामा अध्ययनको निम्ति विद्यार्थी पठाउनेमा संख्यात्मक हिसाबले चीन पहिलो मुलुक भए पनि यो वर्षको शुरुवातमा सबैको कीर्तिमान तोडेर नेपाल पहिलो नम्बरमा उक्लिएको छ ।

अहिले पनि नम्बरका हिसाबले चीन र भारतपछि अष्ट्रेलियामा उच्च शिक्षाको निम्ति जाने विद्यार्थीमा नेपालीको संख्या तेस्रो स्थानमा छ । तर, कोरोना महामारीपछि अन्य देशको तुलनामा नेपालबाट जाने विद्यार्थीको संख्या बढेको हो । गत मार्चमा भने नेपालले चीन र भारतलाई पछि पारेको थियो ।

सन् २०२१ को अक्टोबरमा अष्ट्रेलियामा अध्ययनार्थ पाँच हजार तीन सय ८७ जना विदेशी विद्यार्थीले आवेदन दिएका थिए । नोभेम्बरमा आवेदन गर्ने विद्यार्थी संख्या ११ हजार चार सय छ जना पुग्यो । त्यस्तै डिसेम्बरमा २० हजार पाँच सय ३२ विद्यार्थी अष्ट्रेलिया पुगेको बताइएको छ ।

सन् २०२२ को जनवरीमा २५ हजार चार सय १७, फेब्रुअरीमा २७ हजार एक सय ८३ र मार्चमा २७ हजार एक सय ९८ विद्यार्थी अध्ययनका लागि अस्ट्रेलिया पुगेका छन् । २२ जुलाई २०२२ सम्म विश्वका करिब चार लाख विद्यार्थीले भिसा पाइसकेका छन् । २० नोभेम्बर २०२१ देखि २०२२ जुलाई ३ को बीचमा अष्ट्रेलियाले एक लाख २६ हजार आवेदकलाई विद्यार्थी भिसा प्रदान गरेको छ ।

अष्ट्रेलिया जाने विद्यार्थीलाई सहजीकरण गर्न भारतस्थित अष्ट्रेलियाली दूतावासले तीन वटा सहर हैदराबाद, अहमदाबाद र नयाँ दिल्लीका साथै नेपालमा पनि योजनाबद्द रूपमा थप कार्यशालाको आयोजना गर्दै आएको छ ।

केही समयदेखि नेपाल,भारत र पाकिस्तानी विद्यार्थी भीसा जोखिम सूचीमा रहेको बताइएको र आवेदन जाँचको मापदण्ड फेरबदल गरिए पनि त्यहाँ विद्यार्थी जाने क्रम भने झन् बढेको छ ।

जनआस्था साप्ताहिकबाट । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको