अर्थ संसार, काठमाडौँ– नेपाल विद्युत् प्राधिकरणले भारतबाट आयात गरिरहेको विद्युत्को नयाँ मूल्य निर्धारण भएको छ ।
भारतको राजधानी नयाँ दिल्लीमा सम्पन्न नेपाल भारत विद्युत् आदान प्रदान समितिको बैठकले न्यूनतम रु ८.८८ देखि अधिकतम रु १०.३२ प्रतियुनिटमा विद्युत् खरिद गर्ने गरी नयाँ मूल्य निर्धारण गरेको हो ।
नयाँ दिल्लीमा रहनुभएका नेपाल विद्युत् प्राधिकरणका प्रवक्ता प्रबल अधिकारीले टेलिफोनमा दिनुभएको जानकारीअनुसार न्यूनतम भारु ५.५५ र अधिकतम भारु ६.४५ मूल्य निर्धारण भएको छ ।
त्यसमा विशेष गरी सानो क्षमताको प्रसारण लाइनको हकमा बढी मूल्य तिर्नुपर्ने देखिएको छ ।
प्रवक्ता अधिकारीले ११ केभी क्षमताको प्रसारण लाइनबाट आयात हुने विद्युत्को मूल्य प्रतियुनिट रु १०.३२ (भारु ६.४५), ३३ केभीमा प्रतियुनिट रु ९.६० रुपैयाँ (भारु ६) र १३२ केभीमा प्रतियुनिट ८.८८ रुपैयाँ (भारु ५.५५) तिर्नुपर्नेछ ।
निर्णयअनुसार ५० मेगावाट भन्दा माथि वा १३२ केभी क्षमताको प्रसारण लाइन मार्फत आयात हुने विद्युत्को मूल्य नेपालका लागि सस्तो हुने भएको हो ।भारतले यसअघि नेपाललाई उपलब्ध गराउँदै आएको विद्युत्को मूल्य प्रतिवर्ष ५.५ प्रतिशतको दरले बढाउँदै आएको थियो ।
मंगलबार सम्पन्न बैठकले सो प्रावधानलाई हटाएर आपसी सहमतिमा विद्युत्को मूल्य निर्धारण गर्ने निर्णय गरेको छ ।विगत ६ वर्षदेखि बस्न नसकेको बैठक प्राधिकरणमा नयाँ नेतृत्वआएपछि पहिलो पटक बसेको र त्यसले दुई देशबीच विद्युत् आयात तथा निर्यातका सम्बन्धमा तल्कालीन र दीर्घकालीन महत्वका केही निर्णय समेत गरेको प्रवक्ता अधिकारीको भनाइ छ । गत मार्चसम्म पनि प्राधिकरणले खरिद गर्दै आएको विद्युत्को मूल्य सोही बराबर नै रहेको थियो ।
नयाँ निर्णयअनुसार नेपालले अब कम क्षमता भन्दा पनि बढी क्षमताका प्रसारण लाइन मार्फत बढी विद्युत् आयात गरे मूल्य कम पर्ने देखिएको छ । अर्को बैठक सन् २०१८ को मार्च भित्र बसेर अर्को वर्षका लागि विद्युत्को मूल्य निर्धारण गरिने प्राधिकरणले जनाएको छ ।
भारतको उत्तर प्रदेश र नेपाल जोड्ने १३२ केभी क्षमताका तीन वटा तथा ३३ केभी क्षमताका दुई वटा अन्तरदेशिय प्रसारण लाइन निर्माणका बारेमा भने ऊर्जा सचिव स्तरीय दुई देशिय समितिको आगामी बैठकमा पेश गर्ने र अन्तिम निर्णय गर्ने सहमति दुईपक्षकाबीचमा भएको छ ।
यस्तै सन् २००७ सालदेखि बन्द अवस्थामा रहेको ३३ केभी क्षमताको धनगढी–पालिया प्रसारण लाइन आगामी दुई महिना भित्र सञ्चालनमा ल्याउने सहमति समेत भएको छ । उक्त प्रसारण लाइनबाट दश मेगावाट विद्युत् आयात हुँदै आएको थियो ।
दुई अन्तरदेशिय प्रसारण लाइनबाट थप विद्युत् आउने
आगामी हिउँदमा विद्युत्भार कटौती पूर्ण रुपमा अन्त्यका लागि सरकारले दुई अन्तरदेशिय लाइन मार्फत थप १०० मेगावाट विद्युत् आयात गर्ने भउको छ ।
निर्माण सम्पन्न भएको ६ महिना भन्दा बढी भएपनि रक्सौल– परवानीपुर र कुशाहा कटैया अन्तरदेशिय प्रसारण लाइन मार्फत विद्युत् आयात हुन सकेको थिएन ।
भारतीय पक्षले महंगो मूल्य प्रस्ताव गरेका कारण प्राधिकरणले बर्षाको समयमा ती प्रसारण लाइनबाट थप विद्युत् आयातको विषयमा कुनै निर्णय गर्न सकेको थिएन । नेपाल भारत विद्युत् आदान प्रदान समितिको बैठकले कटैया–कुशाहा र रक्सोल–परवानीपुर १३२ केभी नयाँ प्रसारण लाइनबाट थप विद्युत् आयात गर्ने निर्णय गरेको छ भने विद्युत्को मूल्य समेत तय गरेको छ ।
ती प्रसारण लाइनबाट ५०÷५० मेगावाट विद्युत् प्रतियुनिट रु ८.८८ (भारु ५.५५) मा आयात हुने प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
बैठकले तोकेको नयाँ मूल्य सन् २०१८ को मार्चसम्म कायम हुनेछ । आदान प्रदान समितिको निर्णयपछि आगामी हिउँदमा भारतबाट थप ११० मेगावाट विद्युत् आयात हुने भएको छ । हाल भरतबाट ३८० मेगावाट विद्युत् आयात भइरहेको छ । सो निर्णयपछि अब भारतबाट करिब ५०० मेगावाट विद्युत् आयात हुनेछ ।
थप नयाँ अन्तरदेशिय प्रसारण लाइन निर्माणको प्रस्ताव
आदान प्रदान समितिको बैठकमा प्राधिकरणले भारतीय पक्षसँग ३ वटा १३२ केभी र २ वटा ३३ केभी नयाँ प्रसारण लाइन निर्माणको प्रस्ताव पनि राखेको छ ।
अधिकारीका अनुसार पलिया–धनगढी र अत्तरिया, नानपारा–कोहलपुर र सम्पतीया–मैनैयामा १३२ केभी तथा नानपारा–खडिया र नौतनवा–भैरहवामा ३३ केभी लाइन निर्माणको प्रस्ताव राखिएको छ ।
बैठकको नेतृत्व नेपालको तर्फबाट प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ र भारतका तर्फबाट केन्द्रीय विद्युत प्राधिकरणका प्रतिनिधिले नेतृत्व गर्नुभएको प्रवक्ता अधिकारीले जानकारी दिनुभयो ।
त्यस्तो बैठक यसअघि सन् २०११ मा बसेको थियो । उक्त बैठक बस्न नसक्दा नेपालले आयात गर्दै आएको विद्युत्को मूल्य प्रतियुनिट रु ११ सम्म तिर्नु परेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस