Like us!
Follow us!
Connect us!
Watch us!

५ सयदेखि एक हजार रुपैयाँसम्ममा बन्छन् नक्कली शैक्षिक प्रमाणपत्र, धमाधम पक्राउ गर्दै प्रहरी

अर्थ संसार

बुधबार, २२ भदौ २०७९, १३ : ३० मा प्रकाशित

५ सयदेखि एक हजार रुपैयाँसम्ममा बन्छन् नक्कली शैक्षिक प्रमाणपत्र, धमाधम पक्राउ गर्दै प्रहरी

नक्कली शैक्षिक प्रमाणपत्र बनाउने कार्यमा संलग्न तीन जनालाई प्रहरीले पक्राउ गरेको छ । 

पक्राउ पर्नेहरुमा मोरङ बेलबारी नगरपालिका–९ घर भई काठमाडौं गौशाला बस्ने एभीआई फोटो स्टुडियोका सञ्चालक ३० वर्षीय चबुरलाल चौधरी, सिन्धुली सुनकोशी गाउँपालिका–४ घर भई काठमाडौं बानेश्वर बस्ने एमए जेनरल फोटो स्टुडियोका सञ्चालिका ४३ वर्षीया सुमित्रा कोईराला र सोलुखुम्बु दुधकुण्ड गाउँपालिका–४ घर भई काठमाडौं बानेश्वर बस्ने आरएन फोटो स्टुडियोका सञ्चालक २४ वर्षीया फुल्हमु तामाङ रहेका छन् । 

काठमाडौं महानगरपालिका–९ बत्तिसपुतलीमा सञ्चालित विभिन्न फोटो स्टुडियोहरुले एसएलसी, प्लस टु उत्तिर्ण गरेको नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको भन्ने सूचनाको आधारमा काठमाडौं उपत्यका अपराध अनुसन्धान कार्यालय मिनभवनबाट खटिएको प्रहरीले उक्त कार्यमा संलग्न उनीहरुलाई पक्राउ गरेको हो । 

उनीहरूले खाडी मुलुकमा वैदेशिक रोजगारीमा जाने व्यक्तिहरुबाट ५ सय देखि १ हजार रुपैयाँसम्म लिएर नक्कली शैक्षिक प्रमाणपत्र बनाउने गरेको अनुसन्धानबाट खुल्न आएको छ । 

ती फोटो स्टुडियोहरुबाट प्रहरीले ४ थान कम्प्युटर, ४ थान मोनिटर, २ थान पेन ड्राइभ, ४ थान कलर प्रिन्टर र ६ थान विभिन्न नक्कली सर्टिफिकेट समेत बरामद गरेको छ । 

उनीहरूलाई लिखत सम्बन्धी कसूरमा थप अनुसन्धान एवं आवश्यक कारवाहीका लागि प्रहरी वृत्त गौशाला पठाईएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको