Like us!
Follow us!
Connect us!
Watch us!

बाढीका कारण प्राधिकरणको दुई अर्ब बढीको क्षति

आइतबार, २९ साउन २०७४, १९ : ०२ मा प्रकाशित

बाढीका कारण प्राधिकरणको दुई अर्ब बढीको क्षति

  • रमेश लम्साल

अर्थ संसार, काठमाडौं– अविरल बर्षाका कारण नेपाल विद्युत् प्राधिकरणका एक दर्जन बढी सबवस्टेशन तथा अन्य भौतिक संरचनामा क्षति पुगेको छ ।

प्राधिकरणले गरेको प्रारम्भिक अनुसन्धानको क्रममा ती संरचनाको क्षति करिब दुई  अर्बको हाराहारीमा हुन सक्ने देखिएको छ ।

प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले आज ऊर्जा मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो ‘ प्राधिकरणको संरचनामा अर्बौको क्षति भएको छ । हामी अनुसन्धानकै क्रममा छौ ।’

अविरल बर्षाका कारण पूर्र्वी तराई तथा मध्य तराईको सम्पूर्ण विद्युत् सेवा कटौती हुन पुगेको छ । यस्तै भरतपुर सवस्टेशन अन्तगर्तको सेवा समेत कटौती हुन पुगेको प्राधिकरणले जनाएको छ ।
दुर्घटना कम होस् भन्ने तर्फ विशेष सावधानी अपनाएर विद्युत् लाइन पूर्ण रुपमा कटौती गरिएको कार्यकारी निर्देशक घिसिङले जानकारी दिनुभयो ।

दुहवी सवस्टेशन पानीमा, दर्जनौ टावर समस्यामा

बाढी तथा पानी जम्दा दुहवी सवस्टशेन, दमक सवस्टेशन , अनारमनी सवस्टेशन पूर्ण रुपमा डुबेको छ । सवस्टेशनका सम्पूर्ण उपकरण तथा सञ्चालन प्रणाली समेत समस्या आएको छ । यही साउन २७ गतेबिहानदेखि ती सवस्टेशन पूर्ण रुपमा बन्द भएको प्राधिकरणले जानकारी दिएको छ ।

यस्तै दमक गोदाक खण्डको १३२ केभी प्रसारण लाइनअन्तर्गत चुलाचुलीमा रहेको टावर नं १७ बाढीको कारण ढलेको छ । हेटौडा सवस्टेशनअन्तर्गतको हेटौडा सिमेन्ट नजिक रहेको ६६ केभी टावर पल्टिन लागेकाले उक्त औद्योगिक फिडर पूर्ण रुपमा बन्द रहेको छ । नेपाली सेनाको सहयोगमा उक्त टावरको सुरक्षाको उपाय अगाडि बढाइएको कार्यकारी निर्देशक घिसिङले बताउनुभयो ।

चपुर पथलैया १३२ केभी, ढल्केबर चपुर १३२ केभी, बालाजु त्रिशुली  र रक्सौल परवानीपुर १३२ केभीको भुलहीमा बाढीले दुइृ वटा टावरको फेदमा समस्या पैदा गरेको छ ।

तराईका सम्पूर्ण फिडरमा समस्या

प्राधिकरणकाअनुसार लहान सबस्टेशनअन्तर्गत रुपनी र स्थानीय फिडर बाहेक सम्पूर्ण ३३ केभी तथा ११ केभी बन्द रहेको छ । सो फिडरको ३६ मेगावाट माग मध्ये दुई मेगावाट मात्रै खपत भएको छ ।

ढल्केबर सवस्टेशनअन्तर्गत जनकपुर फिडर बाहेक सम्पूर्ण फिडर बन्द रहेका कारण एक मेगावाट मात्रै विद्युत् खपत हुन सकेको छ । सो फिडरमा कुल ३५ मेगावाट विद्युत् माग हुने गरेको थियो ।

चपुर सवस्टेशनअन्त्र्गत हरसाहा ३३ केभी तथा स्थानीय फिडर चार्ज भएको छ । गौर, हरिपूर तथा निजगढ ३३ केभी प्रसारण लाइनमा समस्या पैदा भएका कारण ३२ मेगावाट माग हुने स्थानमा १.५ मेगावाट मात्रै खपत भएको छ ।

हरिपुर र गौर नजिकको फिडरमा एक फिट भन्दा बढी पानी जमेको र पोल बगाएको छ । परवानीपुर सवस्टेशन मातहतको गण्डक र हिमाल फिडरमा समस्या आएको प्राधिकरणले जनाएको छ । सिमरा सवस्टेशनको स्थानीय फिडरमा एक मिटर भन्दा बढी पानी जमेको छ ।

हेटौडा सवस्टेशन मातहतको स्थानीय फिडरमा दुई मेगावाट मात्रै चालु रहेको छ । सो फिडरमा १२ मेगावाट विद्युत् खपत हुने गरेको थियो । भरतपुर सवस्टेशन र पर्सा सवस्टेशनमा पूर्ण रुपमा जलमग्न रहेको, भरतपुरअन्तर्गतको गैडाकोट फिडरबाट ४० मेगावाट विद्युत् खपत हुने गरेकोमा दुई मेगावाटमा त्रे सञ्चालनमा रहेको छ ।

प्राधिकरणकाअनुसार शिवपुर सवस्टेशनअन्तर्गत ११ केभी र बहादुरगञ्ज फिडर बन्द रहेको छ । उता कोहलपुर सवस्टेशनअन्तर्गत राझा फिडर बन्द हुन पुगेको छ । सो फिडरमा कुल ४० मेगावाट माग रहेकोमा दुइृ मेगावाट मात्रै प्रयोग भइरहेको छ ।

अधिकाशं आयोजना ट्रिपिङमा

कार्यकारी निर्देशक घिसिङले मुलकका अधिकाशं आयोजना ट्रिपिङमा रहेका छन् । कालीगण्डकी ए १४४ मेगावाट क्षमतामा नै चलाउन सकिएको छैन । सो आयोजनाबाट हाल १०० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको छ ।

आयोजनाको कुल क्षमता मध्ये न्यूनतम ४० प्रतिशत मात्रै विद्युत् उत्पादन भइरहेको छ । मध्य मस्र्याङदी जलविद्युत् आयोजनाले २५ मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ । सो आयोजनाबाट ७० मेगावाट विद्युत् उत्पादन हुन्छ । मस्र्याङदी जलविद्युत् आयोजनाबाट ३२ मेगावाट मात्रै विद्युत् उत्पादन गरिरहेको छ ।

बालाजु त्रिशुली ६६ केभी सर्किट ट्रिपिङ भएकाले चिलिमे र त्रिशुली सात/सात मेगावाट र देवीघाट पाँच मेगावाट मात्र उत्पादन गरिएको छ । गण्डक पावर हाउस बाढीका कारणले बन्द अवस्थामा रहेको छ ।

भारतबाट आउने विद्युत् बन्दप्राय

भारतबाट आयात हुने विद्युत् लगभग पूर्ण अवस्थामा बन्द हुन पुगेको छ । ढल्केबर– मुजफरपुरबाट हाल सात मेगावाटदेखि ३३ मेगावाट मात्रै विद्युत् आयात भइरहेको छ । सो प्रसारणलाइनबाट १४५ मेगावाट विद्युत् आयात हुने गरेको छ ।

यस्तै विहार र टनकपुरबाट हुने आयात हुने विद्युत् समेत बन्द भएको छ । ढल्केबरबाट आयात हुने विद्युत् लिए पनि नलिएपनि प्राधिकरणले महसुल भने तिर्नुपर्नेछ । एक दिन विद्युत् आयात रोकिदा रु एक करोड २० लाख भन्दा बढी प्राधिकरणलाई घाटा हुन्छ । यस्तै काठमाडौँका केही फिडरमा समेत समस्या पैदा भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको