चालु आर्थिक वर्ष ०७९/८० को पहिलो असोज १४ सम्ममा सरकारको बजेट खर्च १३.३१ र राजस्व संकलन १३.२१ प्रतिशत बराबर देखिएको छ । महालेखा नियन्त्रक कार्यालयका अनुसार असोज १४ सम्ममा सरकारको खर्च २ खर्ब ३८ अर्ब ६७ करोड ८८ लाख रुपैयाँ बराबर देखिएको हो । यही अवधिको राजस्व असुली १ खर्ब ९२ अर्ब ६२ करोड ६९ लाख रुपैयाँ बराबर छ ।
कुल खर्चमध्ये चालु शीर्षकमा विनियोजित बजेटको १६.४६ प्रतिशत अर्थात् १ खर्ब ९४ अर्ब ७३ करोड ४४ लाख खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले चालु शीर्षकमा ११ खर्ब ८३ अर्ब २३ करोड ५१ लाख रुपैयाँ बराबर छुट्याएको छ ।
पुँजीगत शीर्षकमा ३ अर्ब ८० करोड ३८ लाख ४५ हजार रुपैयाँ बराबर छुट्याइएकामा ४.८८ प्रतिशत अर्थात् १८ अर्ब ५४ करोड ९४ लाख रुपैयाँ बराबरको खर्च भएको देखिन्छ ।
वित्तीय व्यवस्थातर्फ २ खर्ब ३० अर्ब २१ करोड ७७ लाख रुपैयाँ बराबरको वार्षिक बजेट रहेकामा असोज १४ सम्ममा ११.०३ प्रतिशत अर्थात् २५ अर्ब ३९ करोड ५० लाख रुपैयाँ बराबर खर्च भएको छ ।
यस अवधिमा भएको राजस्व संकलनको अवस्था हेर्दा कर राजस्वतर्फ लक्ष्यको १२ प्रतिशत अर्थात् १ खर्ब ५५ अर्ब ५४ करोड ३२ लाख र गैरकर राजस्वतर्फ लक्ष्यको १३.१४ प्रतिशत अर्थात् १४ अर्ब १५ करोड ८१ लाख रुपैयाँ खर्च भएको छ । चालु आर्थिक वर्षका लागि सरकारले १४ खर्ब ५८ अर्ब ६० करोड रुपैयाँ बराबर राजस्व उठाउने लक्ष्य राखेको छ ।
असोज १४ सम्मको वैदेशिक अनुदान हेर्दा वार्षिक लक्ष्यको १.४३ प्रतिशत बराबर छ । चालु आर्थिक वर्षका लागि सरकारले ५५ अर्ब ४५ करोड ८३ लाख रुपैयाँ बराबर वैदेशिक अनुदान भित्र्याउने लक्ष्य राखेकामा हालसम्म ७९ करोड ३० लाख रुपैयाँ आएको हो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस