प्राइम कमर्शियल बैंक लिमिटेडले आज असार १६ गतेदेखि सर्वसाधारणका लागि ऋणपत्र निष्काशन तथा बिक्री खुला गरेको छ। बैंकले '६.२५ प्रतिशत प्राइम डिबेञ्चर २०९३' नामको १० वर्षे अवधिको ऋणपत्रमार्फत कुल ३ अर्ब रुपैयाँ बराबरको पूँजी संकलन गर्न लागेको हो।
बैंकले प्रतिकित्ता १ हजार रुपैयाँ अंकित मूल्यका ३० लाख कित्ता ऋणपत्र जारी गरेको छ। यसमध्ये १८ लाख कित्ता व्यक्तिगत तथा संस्थागत लगानीकर्तालाई निजी तवरबाट बिक्री गरिनेछ भने बाँकी १२ लाख कित्ता सर्वसाधारणका लागि छुट्याइएको छ।
सर्वसाधारणतर्फ छुट्याइएको १२ लाख कित्ता मध्ये ५ प्रतिशत अर्थात् ६० हजार कित्ता सामूहिक लगानी कोषका लागि सुरक्षित गरिएको छ भने बाँकी ऋणपत्रमा योग्य लगानीकर्ताले आवेदन दिन सक्नेछन्।
यस ऋणपत्रमा इच्छुक लगानीकर्ताले छिटोमा असार १९ गतेसम्म आवेदन दिन सक्नेछन्। सो अवधिसम्म पर्याप्त आवेदन नपरेमा निष्काशन अवधि असार ३० गतेसम्म लम्बिनेछ।
आवेदन गर्दा न्यूनतम २५ कित्ता र अधिकतम जारी भएका सबै कित्ता सम्म माग गर्न सकिने व्यवस्था गरिएको छ।
यस ऋणपत्रको वार्षिक ब्याजदर ६.२५ प्रतिशत कायम गरिएको छ भने यसको अवधि १० वर्ष रहनेछ। नियमित ब्याज आम्दानी चाहने तथा दीर्घकालीन लगानी गर्न चाहने लगानीकर्ताका लागि यो ऋणपत्र एक विकल्पका रूपमा रहेको बैंकले जनाएको छ।
यस ऋणपत्र निष्काशनका लागि नेपाल धितोपत्र बोर्डबाट असार ३ गते स्वीकृति प्राप्त भएको थियो। ऋणपत्रको बिक्री प्रबन्धकको जिम्मेवारी सानिमा क्यापिटल लिमिटेडले सम्हालेको छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस