Like us!
Follow us!
Connect us!
Watch us!

मनसुन लम्बिने: असोज १८ देखि २१ गतेसम्म ठूलो वर्षाको सम्भावना, सतर्क रहन आग्रह

अर्थ संसार

आइतबार, १६ असोज २०७९, ०७ : ०३ मा प्रकाशित

मनसुन लम्बिने: असोज १८ देखि २१ गतेसम्म ठूलो वर्षाको सम्भावना, सतर्क रहन आग्रह

यस वर्षको मनसुन लम्बिने भएको छ । मनसुन बाहिरिने सरदर मिति आइतबार अर्थात् अक्टोबर २ का दिन तोकिए पनि नयाँ मनसुनी न्यूनचापीय क्षेत्र निर्माण भएकाले मनसुन लम्बिएको हो । जल तथा मौसम विज्ञान विभागले विशेष मौसम बुलेटिन जारी गर्दै यसपालाको मनसुन दशैँ अवधिभरसम्म पनि नबाहिरिने जनाएको छ ।

बङ्गालको  खाडीमा  दुई  दिनयता  विकसित  भएको  न्यूनचापीय  क्षेत्र  उत्तर–पश्चिमतर्फ  सर्दै  जानेक्रममा नेपालमा त्यस प्रणालीको प्रत्यक्ष असर पर्ने विभागले उल्लेख गरेको छ । त्यसैले नेपालका पूर्वदेखि  पश्चिमी  भू–भागमा  मनसुन  थप  सक्रिय  हुने मौसमविद् वरुण पौडेलले बताए । उनले भने,“यसपाला हिले दशैँ हुने भएको छ । यात्रा गर्दा र दशैँ मनाउँदा सुरक्षित र चनाखो रहँदै मौसमको पूर्व जानकारी लिएर मनाउनुपर्ने देखिएको छ ।” 

विशेषगरी दशैँका नवमीको दिन असोज १८ देखि २१ गतेसम्म चार दिन पूर्वदेखि पश्चिमी भू–भागका  विभिन्न  स्थानमा  निकै  ठूलो  वर्षाको  सम्भावना छ । नवमीको दिन देशैभर आंशिकदेखि सामान्य बदलीको अवस्था रहनेछ । विजयादशमीको दिन देशभर सामान्यदेखि पूर्ण बदली रही देशका धेरै स्थानमा  वर्षाको  सम्भावना  रहेको  विभागअन्तर्गत  रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ ।

उक्त दिन गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशका केही स्थानमा ठूलो वर्षा हुने अनुमान गरिएको छ । भोलिपल्ट एकादशीमा पनि देशव्यापी वर्षाको सम्भावना छ । ठूलो वर्षाको क्रम भने अघिल्लो दिनमा झैँ पश्चिमी भू–भागमा केन्द्रित रहनेछ । यस अवधिमा वर्षाका कारण देशका पहाडी भू–भागमा पहिरो तथा गेग्रान बहावको उच्च जोखिम रहेकाले सतर्क रहन मौसम विज्ञान विभागले अनुरोध गरेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको