Like us!
Follow us!
Connect us!
Watch us!

मेलम्चीको पानी कार्तिकमै काठमाडौँ ल्याउने तयारी

अर्थ संसार

शुक्रबार, ०४ कार्तिक २०७९, १६ : ०९ मा प्रकाशित

मेलम्चीको पानी कार्तिकमै काठमाडौँ ल्याउने तयारी

मेलम्ची खानेपानी विकास समितिले यही महिना भित्रै उपत्यकामा पानी ल्याउने गरी आवश्यक सुधार र तयारीको काम अघि बढाएको छ । पानी ल्याउन सामान्य सुधारका काम मात्रै गर्नुपर्नेछ । आयोजनाका कतिपय संरचना, आयोजनासम्म पुग्ने सडक र पुल नबन्दासम्म तत्काल मर्मत गरेर पानी ल्याउन लागिएको समितिका प्रवक्ता राजेन्द्रप्रसाद पन्तले बताए । 

स्थायी समाधान नहुँदासम्म वर्षामा पानी ल्याउन रोकेर हिउँदमा मर्मत गरेरै ल्याउनुपर्ने अवस्था छ । गत वैशाखमा पानी पुनःवितरण सुरु गरिएकामा असारदेखि रोकिएको थियो । उनले भने, “यो वर्ष आयोजनामा कम क्षति भएकाले अघिल्लो वर्षभन्दा चाँडै पानी ल्याउन सकिनेछ ।”  वर्षा सकिएकाले अस्थायीरुपमा पानी चलाउन सडक र पुल मर्मत भइरहेको छ । यस वर्ष हेडवर्कको डाइभर्सन सुरुङ, अम्बाथान अडिट सुरुङमा नदीजन्य कुरा जान नदिन पहिले नै फलामको ढोका लगाएर बन्द गरियो । यो वर्ष सुरुङमा समस्या नभएको अनुमान छ । 

 

उनले भने, “सुरुङ सफा गर्न पर्दैन र हेडवर्कसम्म सडक पुगेमा चाँडै पानी ल्याउन सकिन्छ भन्ने लागेको छ ।” गत वर्ष वर्षाले आयोजना, आयोजनासम्म पुग्ने सडक र पुलमा ठूलो क्षति पुर्यायाे । तुलनात्मकरुपमा यो वर्ष संरचनामा कम क्षति पुगेको अनुमान छ । गेट नम्बर १ सफा गरेर चाँडै पानी पथान्तरण गर्न सकिने उनले बताए । त्यहाँका संरचना सफा गर्नु पर्दैन भन्ने अनुमान गरेपनि त्यहाँ पुगेपछि संरचनाको अवस्था थाहा हुने प्रवक्ता पन्तले बताए । गत वर्ष नदीको तिरैतिर डोजरले सम्याएर सडक बनाइएपनि बाढीले त्यसलाई बगाएको छ । अब त्यसरी नै नदी नजिकैबाटै अस्थायीरुपमा भएपनि पहुँच सडक बनाइने छ । 

कार्ययोजनामा सुरुङ चलाएपछि हरेक वर्ष साधारण निरीक्षण गर्ने र पाँचपाँच वर्षमा मर्मत गर्नुपर्ने हुनसक्छ भन्ने उल्लेख छ । सोहीअनुसार नै अहिले निरीक्षण गरिएको र त्यसमा सामान्य सुधार आवश्यक रहेको पाइएकाले त्यसलाई सुरु गरिएको छ । आयोजनाको दीर्घकालीनरुपमा मर्मत गर्न एशियाली विकास बैंकले अध्ययन गरेकामा त्यसको प्रारम्भिक प्रतिवेदन यसअघि समितिलाई दिएको थियो । त्यसको अन्तिम प्रतिवेदन डिसेम्बरसम्ममा आएपछि नै योजनाबद्धरुपमा मर्मत र सुधारको काम अघि बढाउन सकिनेछ । अन्तिम प्रतिवेदनका आधारमा कसरी गर्ने भनेर योजना बनाइनेछ । उनले भने, “पुल, सडक र संरचना बनाउँदा ककसले कसरी बनाउने भनी निर्णय हुनेछ र त्यसअनुसार काम अघि बढाइनेछ ।”

दुई दशक पहिले निर्माण सुरु भएको आयोजनाबाट विसं २०७७ फागुनमा पहिलोपटक पानी काठमाडौँ ल्याइएको थियो । पानी पथान्तरण गरेको केही महिनामा नै अर्थात् विसं २०७८ असार १ गते आएको वर्षाले आयोजनामा ठूलो क्षति पुर्याएको थियो । आयोजना निरीक्षणका क्रममा आयोजनाका दुई कर्मचारीको मृत्यु भएको थियो ।  सोही वर्ष कात्तिकमा आएको वर्षाले आयोजनामा थप क्षति पुर्यायो । सरकारले अस्थायीरुपमा पहुँचमार्ग निर्माण गरेर गत वैशाखमा पुनःपानी पथान्तरण गरेको थियो । झण्डै दुई महिना पानी उपत्यकामा ल्याइएको भएपनि वर्षाले थप क्षति हुन नदिन त्यसभन्दा पहिले नै पानी ल्याउन रोकेको थियो । 

काठमाडौं उपत्यकावासीको लामो प्रतिक्षापछि मेलम्चीको पानी ल्याएर वितरण सुरु भए पनि अझै बाह्रै महिना वितरण गर्नसक्ने अवस्था छैन । विसं २०७७ असारमा आयोजनाको माथिल्लो भागमा बाढी र पहिरो आउँदा त्यस क्षेत्रमा नै ठूलो असर पुगेको छ । त्यहाँको भौगर्भिक अध्ययन सकिएपछि मात्रै त्यहाँको स्थायी समाधानमा लाग्न सकिने अवस्था छ । आयोजनाका जम्माजम्मी कामलाई हेडवर्क, सुरुङमार्ग र प्रशोधन केन्द्र गरी तीन भागमा विभाजन गरिएको छ । यसमध्ये हेडवर्क र सुरुङमार्गको निर्माण एउटै कम्पनी र प्रशोधन केन्द्र निर्माण दुई कम्पनीले गरेका हुन् । सुरुङमार्ग र पानी प्रशोधन केन्द्र सम्पन्न भइसकेको छ । ‘हेडवर्क’ सम्पन्न नहुँदै बाढीले क्षति पुर्याएको थियो ।  

सरकारले विसं २०५६ मा मेलम्ची खानेपानी विकास समिति गठन गरेको थियो । आयोजना निर्माणका लागि एडिबीले सन् २००१ मा सम्झौता गरेको थियो । इटालियाली कम्पनी सिएमसी फिर्ता भएको झण्डै पाँच महिनापछि चिनियाँ कम्पनी सिनो हाइड्रोले बाँकी निर्माणका काम सुरु गर्याे । दुई वर्ष कोभिडले निर्माणमा अवरोध पुग्यो भने वर्षाले बनिसकेका संरचनामा क्षति पुर्यायो ।  

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

farkera na aau
Provident Merchant Banking

धेरै पढिएको