Like us!
Follow us!
Connect us!
Watch us!

महोत्तरीमा धार्मिक हिंसाको नालीबेली, किशोरी यादवले एक्का लगाउँदा नै सुरु भएको थियो

अर्थ संसार

शुक्रबार, ११ कार्तिक २०७९, ०७ : ५६ मा प्रकाशित

महोत्तरीमा धार्मिक हिंसाको नालीबेली, किशोरी यादवले एक्का लगाउँदा नै सुरु भएको थियो

महोत्तरीको भंगाहा नगरपालिकामा मुस्लिम समुदाय र हिन्दु समुदायबीच झडप भएको छ । हिन्दु सम्राट सेनाले शोभा यात्रा निकालेर मुस्लिम वस्तिमा पुगेपछि झडप सुरु भएको स्थानीयले बताएका छन् ।

वडा नम्बर ८ स्थित पहरिया चोकमा पुगेर कलश यात्रामा सहभागीहरूले मुस्लिमको झण्डा राखेको ठाउँमा आफूहरूको झण्डा राख्ने तयारी गर्दागर्दै मुस्लिम महिलाले ढुंगा प्रहार गरेको स्थानीय एक प्रत्यक्षदर्शीको भनाइ छ ।

झगडाको सुरुवात नै यहीँबाट भएको बताइएको छ । मुस्लिमहरूले बाक्लै ढुंगा प्रहार गर्न थालेपछि शोभा यात्रामा सहभागीले प्रतिकार गर्दा स्थिति तनावग्रस्त भएको थियो ।

भिडलाई नियन्त्रण लिन प्रहरीले  दर्जनौं सेल अश्रुग्याँस र हवाई फायर गरे पनि स्थिति नियन्त्रणमा आउन नसकेपछि उनीहरूले लाठीचार्जसमेत गरे ।

दोहोरो झडपका क्रममा केही स्थानीय घाइते भएका छन् भने स्थानीयको ढुंगामुढाबाट केही प्रहरीसमेत घाइते भएको जिल्ला प्रहरी कार्यालय महोत्तरीले जनाएको छ ।

झगडाको सुरुवात कसरी भयो ?

मोहम्मद डेको एक दिन अगाडि अर्थात् २३ असोजमा स्थानीय किशोरी यादवले एक्का लगाउने तयारी गरे । एक्का लगाउन छिमेकीलाई सबै खबर गरेर तयारी अन्तिम चरणमा पुगेको बेला मुस्लिम धर्मावलम्बीका मसरिम राइन र रफिक आलमले एक्का लगाउँदा आफूहरूलाई डिस्टर्व हुने भन्दै रोक्न आग्रह गरे ।

किशोरी यादवका छोरा विदेशबाट छुट्टीमा आएका थिए । छुट्टीमा आएकोवेला एक्का लगाउँदा राम्रो हुने धार्मिक विश्वास अनुसार एक्का लगाएर नै छोरालाई पठाउने किशोरीको योजना थियो ।

यसबीचमा मसरिम र रफिक पटक-पटक एक्का नलगाउनु भन्दै रोक्न आए तर किशोरीले आफ्नो धार्मिक स्वतन्त्रतामा कसैले हस्तक्षेप गर्न नसक्ने भन्दै एक्का लगाएर नै छाडे ।

यहीँबाट स्थानीय मुस्लिम समुदाय र हिन्दु समुदायबीच तितोपना बढ्दै गएको थियो । भित्र-भित्रै उनीहरू आगो जसरी सल्किएका थिए । काहीँ न काहीँ उनीहरूबीच झगडा हुन सक्ने भन्दै स्थानीयमा त्रास बढ्दै गएको थियो ।

यो विषयमा नगरप्रमुख सञ्जीव साहले पनि निगरानी बढाउँदै लगे । यसैबीच आज हिन्दु सम्राट सेनाले शोभा यात्रा निकाल्ने पूर्व निर्धारित कार्यक्रम थियो ।

यही यात्रा नै झगडाको कारक बन्न सक्ने भन्दै नगरप्रमुख साह निक्कै सचेत थिए । हिन्दु सम्राट सेनाका केही व्यक्तिलाई बोलाएर यसअघि नै उक्त शोभा यात्रा ननिकाल्न अनुरोध पनि गरे तर उनीहरूले त्यसलाई अस्वीकार गरे ।

नगरप्रमुख साहले नेपाल प्रहरी र सशस्त्र प्रहरी दुबैलाई घटनाको विषयमा जानकारी गराए । सोभायात्रा निक्लनु अगाडि नै सशस्त्र प्रहरी र नेपाल प्रहरी यात्रा गर्ने वरपर तैनाथ गरिएको थियो ।

पहरिया चोक जस्तो सार्वजनिक ठाउँमा राखेको मुस्लिम झण्डालाई लिएर यसअघि पनि हिन्दु र मुस्लिमबीच विवाद भएको थियो ।

सार्वजनिक ठाउँमा गाडिएको उक्त झन्डालाई लिएर नगरप्रमुख साहले मुस्लिम समुदायका अगुवाहरूलाई बोलाएर कयौँ पटक छलफल पनि चलाए । सार्वजनिक ठाउँमा बरु नेपालको झण्डा राखौँ भन्ने उनको सुझाव थियो ।

नगरप्रमुख साहले जातीय दंगा भड्कन सक्ने भन्दै उक्त झण्डा हटाउन आदेश पनि दिन सकेनन् । तर शोभा यात्रामा सहभागीको तगारो सोही मुस्लिम झण्डा बन्यो ।

हिन्दु सम्राट सेना हिन्दुहरूलाई मुस्लिम समुदायले गरेको हस्तक्षेपलाई लिएर प्रतिकार गर्ने तयारी गरिरहेका थिए । उनीहरूले यही मुस्लिम झन्डालाई नै कारक बनाए र त्यहाँ उनीहरूले आफूहरूको झण्डा पनि गाड्ने तयारी गरे । त्यसपछि झगडाले उग्ररुप लियो ।

निषेधाज्ञा जारी

घटनास्थल भएको नगरपालिका क्षेत्रमा कर्फ्यु आदेश जारी भएको छ ।

घटनाग्रस्त क्षेत्रमा थप घटना नहोस् भन्ने उद्देश्यले कर्फ्यु जारी गरिएको जिल्ला प्रशासन कार्यालय महोत्तरीले जनाएको छ ।

नगरपालिका-८ को दक्षिणमा परियाको सम्पूर्ण क्षेत्र, उत्तरपुर्वमा ब्रह्मास्थान पररिया, उत्तरमा धरमपुरभन्दा दक्षिण, पूर्वमा लोहारपट्टी, वडा -१ पर्ने वगडाचोक, पश्चिममा इलाका प्रहरी कार्यालय लोहारपट्टी स्थित पुलसम्म कर्फ्यु आदेश जारी गरिएको सहायक प्रमुख जिल्ला अधिकारी उपेन्द्र न्यौपानेले जानकारी दिए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

धेरै पढिएको