अर्थ संसार, काठमाडौं - चीन सरकारको ठूलो लगानी संस्था चाइना हार्बरले नेपालमा करीब रू. १५ अर्ब लगानी गर्ने भएको छ । चीनले नेपालमा गरेको हालसम्मको ठूलो भनिएको सो लगानी चाइना कम्युनिकेशन कन्ष्ट्रक्शन कम्पनी (सिसिसिसि) मार्फत साञ्जेन खोला जलविद्युत् परियोजनामा गर्ने भएको हो । सोसम्बन्धी सम्झौतापत्रमा शनिवार काठमाडौंमा दुई पक्षबीच हस्ताक्षरसमेत भएको छ ।
हस्ताक्षर कार्यक्रममा ऊर्जामन्त्री महेन्द्रबहादुर शाही र चिनियाँ राजदूत यू होङको पनि उपस्थिति थियो । सम्झौतापत्रमा नेपालका तर्फबाट परियोजना प्रमुख विष्णुराज अधिकारी र चिनियाँ पक्षबाट चाइना हार्बरका प्रमुख ट्याङ स्योरिङले हस्ताक्षर गरेका थिए ।
सरकारले केही समयअघि ७८ मेगावाट क्षमताको साञ्जेन खोला परियोजनामा लगानी गर्न चीनलाई आग्रह गरेको थियो । सोही आग्रहअनुसार चीनले आफ्नो ठूलो लगानी संस्थामध्येको एक चाइना हार्बरको लगानीलाई पहिलो पटक नेपाल भित्र्याएको हो ।
सम्झौतापत्रमा हस्ताक्षरपछि दुवै पक्षले रसुवा जिल्लाको परियोजनाले नेपाल–चीन सम्बन्ध विस्तार गर्न सहयोग गर्ने बताएका थिए । सो अवसरमा ऊर्जा सचिव अनुपराज उपाध्यायले अभियानलाई एउटै परियोजनामा ठूलो परिमाणको प्रत्यक्ष विदेशी लगानी भित्रिएकाले आउँदा वर्षहरूमा नेपालको ऊर्जा सङ्कट घटाउँदै लैजान सकिने आत्मविश्वास जगाएको बताए ।
हरेक वर्ष संसारका विभिन्न ठाउँमा ११ खर्ब लगानी गर्ने चाइना हार्बरले नेपालमा लगानी सुनिश्चित गरेसँगै अर्थबजारमा सरकारले ठूला आयोजनामा प्रत्यक्ष विदेशी लगानी भित्र्याउन गरेको प्रयासले सकारात्मक मोड लिएकोे विश्लेषण हुन लागेको छ । परियोजनासम्बद्ध एक अधिकारीले करीब ३ वर्षमा आयोजना निर्माण सम्पन्न हुने अपेक्षा गरिएको बताए । लगानी सम्झौता भएको ३५ वर्षमा परियोजना नेपाल सरकारलाई हस्तान्तरण हुने आजको अभियानमा समाचर छ ।
नमूना परियोजना निर्माणको आग्रह
काठमाडौं । ऊर्जामन्त्री महेन्द्रबहादुर शाहीले नेपालका लागि जापानी राजदूत मासाशी ओगावासँग ऊर्जामा नमूना परियोजना निर्माण गर्न आग्रह गरेका छन् । शुक्रवार मन्त्रालयमै भएको भेटघाटका क्रममा मन्त्री शाहीले राजदूत ओगावासँग जापान सरकारका तर्फबाट यस्तो कार्य अघि बढाउन आग्रह गरेका हुन् ।
जापान नेपालको एक भरपर्दो विकास साझेदार राष्ट्र भएको बताउँदै मन्त्री शाहीले ऊर्जाक्षेत्रमा जापानले एक नमूना परियोजना निर्माण गर्नुपर्नेमा जोड दिए । उनले जापान सरकारलाई ऊर्जा, सिँचाइ र खानेपानीका लागि एकीकृत परियोजना निर्माणमा लगानी गर्न प्रस्ताव पनि गरे ।
मन्त्री शाहीले नेपालमा विद्यमान जल तथा ऊर्जाका अन्य क्षेत्रमा जापानी ऊर्जा कम्पनीहरूको लगानी वृद्धिका लागि पनि जापानको सकारात्मक सहयोगको अपेक्षा गरेको भेटमा बताए । ऊर्जा, कृषिको आधुनिकीकरण तथा विकास, भौतिक पूर्वाधार, पर्यटनलगायत क्षेत्रमा प्रत्यक्ष लगानी भित्र्याउन नेपालका नीति तथा कार्यक्रमहरू सहयोगी रहेको उल्लेख गर्दै उनले नेपालमा गरिएको लगानी खेर नजाने स्पष्ट पारे ।
जवाफमा राजदूत ओगावाले नेपालको ऊर्जाक्षेत्रमा लगानी गर्न जापान सकारात्मक रहेको बताउँदै तनहुँमा जाइकाको सहयोगमा जलविद्युत् परियोजना निर्माण भइरहेको बताए । त्यसैगरी उनले नमूना परियोजना निर्माणका लागि काम गर्ने गरी परियोजना निर्माणको ठोस खाका तयार गर्ने वचनसमेत दिएको मन्त्रालय स्रोतले बताएको छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस