‘शेयर’, ‘स्टक’, ‘सेक्युरिटीज’, ‘प्रतिभूति’ र ‘धितोपत्र’ भनिने मुद्रा उपकरण अहिले संसारभर लगानीका लागि सहज र सरल माध्यम बनेको छ ।
सानो रकमसमेत लगानी गर्न सकिने उपकरण भएकाले यसको पहुँच अत्यन्त न्यून आय भएका व्यक्तिका लागि पनि सरल र सहज माध्यम बनेको छ । पूँजीवादी भनेर चिनिने देशका ठूला कम्पनीले शेयर जारी गरेर सर्वसाधारणलाई निश्चित अंश लगानी गर्ने अवसर दिई मालिक बनाएका छन् ।
शेयरको शैशवकाल
रोमन गणतन्त्र कालमा राज्यले केही सरकारी सेवाहरू निजी संस्थालाई दिएका थिए । यी संस्था वर्तमान समयका पब्लिक कम्पनीजस्तै थिए । यसलाई ‘पब्लिकानी’, ‘सोसियटास’, ‘पब्लिकानोरूम’ भनिन्थ्यो । यस्ता संस्थाले ‘पार्टेस’ र ‘पार्टीकुलाए’ नामक शेयर जारी गरे । ग्रीक इतिहासकार पोलिविअसका अनुसार प्रायः सबै नागरिक यसमा सहभागी भएका थिए । सिसेरोले त्यतिबेला शेयरको मूल्य अधिक थियो भनेर उल्लेख गरेका छन् ।
पहिलो शेयर
औपचारिक रूपमा शेयर र शेयरबजार सन् १५०० सम्म अस्तित्वमा आएको इतिहास पाइँदैन । यद्यपि अहिलेको शेयरबजारजस्ता ससाना बजार भने प्रशस्त भएको पाइन्छ । कफी शपहरू त्यतिबेलाका शेयर कारोबार गर्ने केन्द्र थिए ।
बेलायती महारानी एलिजावेथ प्रथमद्वारा जारी ‘शाही घोषणा’मार्फत डिसेम्बर ३१ सन् १६०० मा ‘इष्ट इण्डिया कम्पनी’ स्थापना भयो । यसमा धनाढ्य व्यापारीहरूको मात्र शेयर थियो । शुरूमा बेलायती सरकारको यसमा शेयर थिएन तर अप्रत्यक्ष नियन्त्रण थियो । कम्पनीमा शेयरधनीको दायित्व सीमित हुने सिद्धान्तको शुरुआत पनि यसै कम्पनीबाट भयो ।
इङ्ग्ल्याण्डमा कम्पनीको शुरुआत भए पनि सन् १६०२ मा हल्याण्डको ‘डच इष्ट इण्डिया कम्पनी’ शेयर जारी गर्ने पहिलो कम्पनी बन्यो ।
शेयर जारी गर्न रोक
इष्ट इण्डिया कम्पनीले सन् १६०२ देखि १६५० सम्म औसत १६ प्रतिशत लाभांश दिएको थियो । तर, कम्पनीसम्बन्धी पर्याप्त कानूनी व्यवस्था नभएकाले शेयरधनीले लाभ पाउन नसकेपछि इङ्ग्ल्याण्ड सरकारले सन् १८२५ सम्म शेयर जारी गर्न रोकसमेत लगायो ।
विधिवत् रूपमा सन् १८०१ मा इङ्ग्ल्याण्ड सरकारले लण्डन स्टक एक्सचेञ्जको स्थापना गर्यो । स्टक स्थापना भए पनि शेयर जारी गर्न रोक लागेका कारण न्यूयोर्क स्टकले नै स्टक एक्सचेञ्जको इतिहासमा विधिवत् स्थापना भएको स्टक एक्सचेञ्जको श्रेय पायो । यद्यपि अनौपचारिक स्टक एक्सचेञ्ज भने धेरै पहिलादेखि प्रचलनमा थिए ।
शेयरसम्बन्धी पुस्तक
स्पेनको यहुदी परिवारका शेयर कारोबारी एवम् लेखक जोसेफ डे ला भेगाले सन् १६८८ मा स्पेनिश भाषामा लेखेको ‘कन्फ्युजन अफ कन्फ्युजनस’ नै शेयरबजारसम्बन्धी पहिलो पुस्तक मानिन्छ । पुस्तकमा शेयरबाट धनी हुन पैसा र धैर्य दुवै हुनुपर्ने उल्लेख गरिएको छ जुन अहिलेका लागि पनि उत्तिकै सान्दर्भिक छ ।
नेपालमा शेयर
विक्रम संवत् १९९३ सालमा प्रधानमन्त्री श्री ३ जुद्ध शमशेरको हुकुम र कमाण्डर इन चिफ पद्म शमशेरको मर्जीमुताविक कम्पनी कानून बनेको पाइन्छ । नेपाल बैङ्क कानून १९९४ मा ‘हाल उठाउने २५ हजार शेयरमध्ये कमसेकम चार खण्डको एक खण्ड शेयर सरकारबाट लिइबक्सने भएको हुँदा बाँकी रहेको शेयर नेपाली ग्राहकहरूले लिन पाउनेछन्’ र अर्को एउटा दफामा ‘कदाचित् हाल उठाउने २५ हजार शेयरको मूलधनले बैङ्कको काम चलाउन मूलधन नपुगी अरू शेयरबाट हदसम्ममा जति चाहिने हुन्छ उति मूलधन उठाउनु पर्दा सो नयाँ उठाएको शेयर साविक शेयरवालाहरूले लिएसम्म अरूले लिन पाउने छैन’ भन्ने व्यवस्था थियो ।
‘यस्तो शेयर नेपाली रैयत भई जन्मेका वा नेपाली रैयत भएका स्त्री पुरूषबाहेक अरू कसैले खरीद गर्नु र अरू कौने तरहबाट लिनुदिनु गर्नु हुँदैन’ भन्ने समेत व्यवस्था भेटिन्छ । ‘गाथ गादी उपर खुद लागेको ठूलो कसुर गरेमा बाहेक हरिने सर्वस्व हुने समेत कौनै कसुरमा पनि यो बैङ्कको शेयरमा जफत वा हरण केही हुने छैन’ भनिएको पाइन्छ । यही वर्ष विराटनगर जुट मिल्सले पनि शेयर बेचेको थियो ।
शुरूमा नै दुईओटा कम्पनीले शेयर बेचेको इतिहास पाइन्छ । शेयर बेच्ने शुरुआत भए पनि किनबेच गर्ने व्यवस्था भने २०३३ सालमा ‘सेक्युरिटी खरीद विक्री केन्द्र’को स्थापना भएपछि भएको हो । अहिलेको नेपाल स्टक एक्सचेञ्ज लिमिटेड ९नेप्से० यसैको पछिल्लो रूप हो ।
कानूनमा शेयर
कम्पनी ऐन २०६३ को दफा २ ९ढ० अनुसार ‘शेयर’ भन्नाले कम्पनीको शेयर पूँजीको विभाजित अंश सम्झनुपर्छ । त्यस्तै दफा २९द० मा ‘शेयरधनी’ भन्नाले कम्पनीको शेयरमा स्वामित्व भएको व्यक्ति भनेर परिभाषा गरिएको छ । शेयरको चुक्तामूल्य १ सय तोकिएको छ ।
सीमित दायित्व
कम्पनी स्वतन्त्र व्यक्ति भएकाले यसमा लगानी गर्ने शेयरधनी र कम्पनीको अस्तित्व अलग हुन्छ । कम्पनीले आफ्नै नाममा कारोबार गर्ने भएकाले यसलाई व्यक्तिसरह नालिस उजुरी गर्ने र आफूविरुद्ध पनि नालिस उजुरी लाग्छ ।
कम्पनीको कारोबारको सम्बन्धमा शेयरधनीको दायित्व निजले खरीद गरेको वा खरीद गर्न कबुल गरेको शेयरको अधिकतम रकमसम्म मात्र सीमित रहन्छ । इष्ट इण्डिया कम्पनी गठनदेखि यस्तो प्रचलन भए पनि ‘सालोमन विरुद्ध सालोमन एण्ड कम्पनी’को मुद्दामा ‘हाउस अफ लर्ड्स’ले कम्पनीको स्वतन्त्र व्यक्तित्व सम्बन्धमा विस्तृत न्यायिक व्याख्या गरेको छ । अहिले संसारभर यो मुद्दालाई कम्पनीको क्षेत्रमा कोसेढुङ्गा मानिन्छ ।
साधारण र अग्राधिकार शेयर
संस्थापक, बोनस, हकप्रद, व्यवस्थापक, स्थानीय आदि जेजस्ता नाम दिए पनि यी सबै साधारण शेयर हुन् । साधारण शेयरलाई कम्पनीको सञ्चालक हुन र सञ्चालकको निर्वाचनमा मत दिनलगायत कम्पनीको महत्त्वपूर्ण निर्णयमा मतदानको अधिकार हुन्छ । शेयर लगानी गर्नुको अर्थ लाभ प्राप्त गर्नु हो । तर, यस्ता शेयरले हरेक वर्ष लाभांश नपाउन पनि सक्छ ।
अग्राधिकार शेयर धारकलाई साधारण शेयर धारकजस्तो अधिकार हुन्न । तर, लाभांश प्राप्त गर्ने विषयमा अग्राधिकार हुन्छ । अग्राधिकार शेयर (क) हरेक वर्ष निश्चित लाभांश प्राप्त हुने, (ख) प्राप्त गर्ने लाभांश सञ्चित हुने वा नहुने, (ग) सामान्य अवस्थामा मताधिकार हुँदैन तर अग्राधिकार शेयरको विषयमा मतदान हुने भए तोकिएको अनुपात अनुसार मतदान, (घ) खारेजी वा दामासाहीमा परेमा रकम फिर्ता गर्दा अग्राधिकार हुनेरनहुने, (ङ) निश्चित समयपछि फिर्ता हुने वा कहिले पनि फिर्ता नहुने, (च) फिर्ता हुने भए प्रिमियमसहित वा परल मूल्य, (छ) निश्चित समयपछि साधारण शेयरमा परिवर्तन हुने भए कति समयको अन्तरमा कतिका दरले हुने आदि व्यवस्था गरिएको हुन्छ । यसका अतिरिक्त कम्पनी कानूनअनुसार फरक अधिकार भएका शेयरसमेत जारी हुने व्यवस्था छ ।
शेयर कि शेयरबजार ?
लगानीको प्रथम शर्त आम्दानी हुनुपर्छ । तर, शेयरबजारबाट कि कम्पनीले दिने मुनाफाबाट भन्ने प्रश्न सर्वाधिक चासोको विषय हो । वारेन बफेटको भनाइ छ, ‘म शेयरबजारबाट कहिल्यै पैसा कमाउने प्रयास गर्दिनँ र शेयर किन्दा भोलि नै बजार बन्द गर्छन् र आगामी ५ वर्षसम्म खोल्दैन भन्ने मान्यता राख्छु ।’ बफेटका अनुसार शेयर लगानीबाट प्राप्त गरिने लाभ भनेको बजारमूल्यमा हुने उतारचढाव होइन । शेयरबजारले नयाँ व्यक्तिलाई शेयर किन्न अवसर मात्र दिएको हो, नाफा दिने त कम्पनीले हो ।
लेखक धितोपत्रसम्बन्धी जानकार अधिवक्ता हुन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस