Like us!
Follow us!
Connect us!
Watch us!

बिहीबार दिनभरका समाचार एकै ठाउँ (भिडियो)

अर्थ संसार

विहीबार, १५ मंसिर २०७९, २१ : ४४ मा प्रकाशित

आज (मंसिर १५ गते, बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ । 

१. सेन्चुरी कमर्सियल बैंक लिमिटेडले लाभांश घोषणा गरेको छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई ४ दशमलव ७५ प्रतिशत बोनस सेयर र ०.२५ प्रतिशत नगद गरी कुल ५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । उक्त प्रस्तावित लाभांश नेपाल राष्ट्र बैंकबाट स्विकृत भएर बैंकको वार्षिक साधारण सभाले पारित गरेपछि वितरण गरिनेछ ।

२. नबिल बैंकबाट बंगलादेशको आईएफआईसी बैंक बाहिरिने भएकाे छ । नबिल बैंक लिमिटेडकाे संस्थापक सेयरधनी इन्टरनेशन फाइनान्स एण्ड कमर्स बैंक लिमिटेड बंगलादेशले आफ्नो नाममा रहेको १ करोड ७७ लाख ३६ हजार ८८ कित्ता संस्थापक सेयर बिक्री गर्ने भएकाे हाे । 

३. आईसीएफसी फाइनान्स कम्पनी लिमिटेडले लाभांश घोषणा गरेको छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाइ ५ प्रतिशत बोनस सेयर र ५ प्रतिशत नगद लाभांश गरि कुल १० प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो।

४. मेगा बैंक लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेको छ । बैंकको १२ औँ वार्षिक साधारण सभा पुस ७ गते बिहिबार राष्ट्रिय सभागृह, काठमांडौमा बिहान १० बजेदेखि सुरू हुनेछ । सभाले बैंकले गत आर्थिक वर्षको नाफाबाट प्रस्ताव गरेको ४ प्रतिशत बोनस सेयर र ३.७९ प्रतिशत नगद लाभांश (कर समेत) गरी कुल ७.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव पारित गर्नेछ । मेगा बैंक र नेपाल इन्भेष्टमेन्ट बैंकका बिचमा अन्तिम मर्जर सम्झौता भइ अहिले मर्जर प्रक्रिया अगाडी बढेको छ ।

५. साताकाे अन्तिम काराेबार दिन बिहीबार नेप्से परिसूचकसँगै काराेबार रकम पनि बढेकाे छ । बिहीबार सेयर कारोबार मापक नेप्से परिसूचक ११ दशमलव २२ अंकले बढेर १९ सय ६१ दशमलव ०६ विन्दुमा पुगेकाे छ । सेन्सेटिभ परिसूचक पनि १ दशमलव ८२ अंकले बढेर ३ सय ८३ दशमलव ६६ विन्दुमा पुगेकाे छ । कूल २४१ वटा कम्पनीकाे ३८ लाख ६५ हजार ९ सय ६१ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ३२ करोड २९ लाख ७२ हजार एक सय ८५ रूपैयाँ बराबरको कारोबार भएकाे छ ।

६. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले थप २ कम्पनीकाे काराेबार फुकुवा गरेकाे छ । नेप्सेले प्रभु इन्स्योरेन्स कम्पनी लिमिटेड र प्रिमियर इन्स्योरेन्स कम्पनी लिमिटेडकाे काराेबार फुकुवा गरेकाे हाे । नेप्सेले दुवै कम्पनीकाे आधारभूत सेयरधनीबाहेकको सेयरधनीहरूको सेयर कारोबार फुकुवा गरेको हो । नेपाल धितोपत्र बोर्डले जारी गरेको 'धितोपत्र दर्ता गराएका संगठित संस्था एकआपसमा गाभ्ने /गाभिने तथा प्राप्ति सम्बन्धी निर्देशिका, २०७९ ' बमोजिम काराेबार फुकुवा गरिएकाे नेप्सेले जनाएकाे छ । याे सँगै अब  आगामी आइतबारबाट दाेश्राे बजारमा दुवै कम्पनीकाे काराेबार सुरू हुनेछ । 

७. अर्थमन्त्री जनार्दन शर्माले मुलुकको अर्थतन्त्र सङ्कटमा नरहेको बताएका छन् । नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २६औँ वार्षिकोत्सवका अवसरमा आज आयोजित कार्यक्रममा उनले अर्थतन्त्रमा सङ्कट नभएको बरु केही चुनौती भने अझै बाँकी रहेको बताए । अर्थमन्त्री शर्माले अर्थतन्त्रका सूचकाङ्क राम्रो हुँदै गएको स्पष्ट पारेका छन् । पछिल्लो समय विदेशी मुद्रा सञ्चिति र विप्रेषण आप्रवाह बढ्दै गएकाले अर्थतन्त्र सुधार भइरहेको उनको भनाइ छ ।

८. घरजग्गाकाे काराेबार ओरालो लागेकाे छ । घरजग्गा कारोबारमा कमी आउँदा राजस्व सङ्कलन समेत प्रभावित भएको छ । भूमि व्यववस्थापन तथा अभिलेख विभागका अनुसार कार्तिक महिनामा ३ अर्ब ७६ लाख २५ हजार रूपैयाँ बराबरकाे राजस्व सङ्कलन भएको छ । गत आर्थिक वर्षकाे कात्तिक महिनामा देशभरका मालपोत कार्यालयबाट ५ अर्ब ४९ करोड ५१ लाख रूपैयाँ बराबरकाे राजस्व सङ्कलन भएको थियो । 

९.  शिवश्री हाइड्रोपावर कम्पनी लिमिटेडले चालु आर्थिक वर्षको पहिलो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । यस अवधिसम्ममा कम्पनीले ३ करोड ४८ लाख ३२ हजार रुपैयाँ घाटा व्यहोरेको छ । कम्पनीकाे विद्युत बिक्री आम्दानी भने २५५ प्रतिशतले बढेर १५ करोड ५० लाख ३७ हजार रुपैयाँ पुगेकाे छ । कम्पनीको प्रतिसेयर आम्दानी ९ रूपैयाँ ४४ पैसा ऋणात्मक र प्रतिसेयर नेटवर्थ ६१ रुपैयाँ १९ पैसा रहेको छ ।

१०. नेपाल राष्ट्र बैंकले एक हजार दरका ४३ करोड थान बैंक नोट छाप्ने जिम्मा भारतीय सरकारी कम्पनीलाई दिने भएको छ । भारत सरकारको स्वामित्व रहेको भारत प्रतिभूति मुद्रण तथा मुद्रा निर्माण निगम लिमिटेडलाई नोट छपाइका लागि ठेक्का दिन लागिएको हो । 

 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको