Like us!
Follow us!
Connect us!
Watch us!

मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन सुरु, १८ मेगावाट क्षमता

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, १७ : २० मा प्रकाशित

मध्यमोदी जलविद्युत् आयोजनामा परीक्षण उत्पादन सुरु, १८ मेगावाट क्षमता

मोदी खोलामा निर्माणाधीन १८ मेगावाट क्षमताको मध्यमोदी जलविद्युत् आयोजनाको निर्माण पूरा भएको छ । आयोजनाको सम्पूर्ण काम पूरा भएर परीक्षण उत्पादनको तयारी सुरु गरिएको हो । 

मिडिल मोदी हाइड्रोपावर लिमिटेडले विसं २०७१ को मङ्सिरमा सुरु गरेको आयोजना आठ वर्षको अवधिमा सम्पन्न भएको हो । करिब रु चार अर्बको लगानीमा निर्माण भएको आयोजनाबाट आजदेखि परीक्षण उत्पादन सुरु गरिएको आयोजना प्रमुख प्रताप खरेलले जानकारी दिए । नेपाल विद्युत् प्राधिकरणको टोलीले परीक्षण उत्पादन र प्रसारण लाइनमा जडान गर्ने कार्यको अध्ययन गरिरहेको खरेलले जानकारी दिए ।

निर्माण थालेको तीन वर्षमा नै काम पूरा गर्ने लक्ष्य राखिए पनि भूकम्प, नाकाबन्दी र कोभिड–१९ को असरका कारण आयोजना पाँच वर्षपछि धकेलिएको हो । आयोजना प्रमुख खरेलका अनुसार परीक्षण उत्पादन सुरु गरेपछि उत्पादित विद्युत् एक सय ३२ केभी क्षमताको मोदी–लेखनाथ सबस्टेसनमा जडान गर्ने तयारी भइरहेको छ । चौध दिनसम्मको परीक्षणपछि मात्र केन्द्रीय प्रसारण लाइनमा जोडिने भएको छ । 

आयोजनाको ड्याम, टनेल, पावर हाउस, टावर निर्माणलाई आयोजनाका प्रमुख र जटिल कामका रूपमा लिने गरिन्छ ती सबै काम पूरा भएका छन् । प्रसारण लाइनसमेतको निर्माण सकिएपछि परीक्षण उत्पादन थालिएको खरेलले बताए ।

सुरुवातमा रु दुई अर्ब ८० करोड लागत लाग्ने अनुमान गरिएको आयोजनाको निर्माण चौधरी ग्रुपले गरेको हो । विसं २०७१ मा ग्रुपका अध्यक्ष विनोद चौधरीले आयोजनाको शिलान्यास गरेका थिए । तीन वर्षमा नै निर्माणको काम सकेर २०७४ मङ्सिरमा काम पूरा गर्ने लक्ष्य राखिएको भए पनि प्रभावित क्षेत्रका नागरिकको पटक पटकको आन्दोलन र विरोध तथा प्राकृतिक विपद्का कारण आयोजनाको काम लम्बिएको आयोजना प्रमुख खरेलले जानकारी दिए । त्यसका कारण लागतसमेत ह्वात्तै बढेको छ । 

विसं २०७२ मा भूकम्पको मारमा परेको आयोजनाले बाढी र पहिराको पनि उस्तै सामना गर्नुपरेको थियो । पछिल्लो एक वर्षयता आयोजना निर्माण कार्यमा कुनै पनि पक्षबाट विरोध नभएका कारण कामले तीव्रता पाएको थियो । 

पर्वतको मोदी गाउँपालिका–२ केङ्गामा पावर हाउस राखिएको आयोजनाको बाँध भने कास्कीको अन्नपूर्ण गाउँपालिका–३ वीरेठाँटीमा रहेको छ । आयोजनाको दुई हजार तीन सय ९३ मिटर लामो सुरुङमा मोदी खोलाको पानी ल्याइनेछ । निर्माण सुरु गर्ने बेलामा १५ दशमलव एक मेगावाट क्षमतामा आयोजना सञ्चालन गर्ने भनिएको भए पनि निर्माण कार्य सँगसँगै क्षमता बढेर १८ मेगावाटमा पुगेको छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको