Like us!
Follow us!
Connect us!
Watch us!

सोमबार दिनभरको आर्थिक समाचार (भिडियो)

अर्थ संसार

सोमबार, १९ मंसिर २०७९, १७ : ३२ मा प्रकाशित

आज (मंसिर १९ गते, साेमबार) दिनभरका प्रमुख आर्थिक समाचार तल उल्लेख गरिएकाे छ ।

१. मितेरी डेभलपमेन्ट बैंक लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । बैंकले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट बैंकका सेयरधनीहरूलाई १२.३५ प्रतिशत बाेनस सेयर र ०.६५ प्रतिशत नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

२. नेकाे इन्स्योरेन्स कम्पनी लिमिटेडले लाभांश घाेषणा गरेकाे छ । कम्पनीले गत आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट कम्पनीका सेयरधनीहरूलाई हाल कायम चुक्ता पूँजीकाे १५ प्रतिशत बाेनस सेयर र कर प्रयाेजनका लागि ०.७९ प्रतिशत नगद गरी कुल १५.७९ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेकाे हाे ।

३. पेट्रोलियम पदार्थको मूल्य नघट्दा उपभोक्ता मारमा परेका छन् । अन्तर्राष्ट्रिय  बजारमा  पेट्रोलियम  पदार्थको मूल्य घटे पनि स्थानीय बजारमा मूल्य नघटाउँदा निगम एक महिनामा एक अर्ब १७ करोड ४२ लाख नाफामा रहेको छ । हाल पेट्रोलमा  प्रतिलिटरमा  १३  रुपियाँ  १६  पैसा, डिजेलमा ५३ पैसा, मट्टितेलमा ३५ रुपियाँ ३५ पैसा, हवाई इन्धनमा ४२ रुपियाँ १६ पैसा नाफा रहेको छ । निगमलाई ग्यासमा मात्र प्रतिसिलिन्डर २७७ रुपियाँ घाटा छ । इन्धनमा लगाइएको उच्च करका कारण पनि उपभोक्ता मूल्य महँगो पर्न गएको छ । 

४. ट्रायलमा ७० अङ्क ल्याए पास हुने निर्देशिका यातायात व्यवस्था कार्यालय चाबहिलबाट आइतबारदेखि सुरू गर्ने तयारी गरेपनि बागमती सरकारको भाँजो हालेकाे छ । मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले शुक्रबार एकाएक यातायात मन्त्रालयलाई पत्र लेखेर तत्काल ७० अङ्कको ट्रायल रोक्न निर्देशन दिएपछि ताेकिएकाे शुभारम्भ कार्यक्रम राेकियाे । ७० अङ्कको ट्रायलका सन्दर्भमा बाग्मती सरकारले भाँजो हालेको यो नै पहिलोपटक होइन । गत असोज २ गते पनि मन्त्रालयले  उक्त ट्रायल लागु गर्ने जमर्को गर्दा अहिलेकै जसरी रोकावट गरिएको थियो ।

५. साेमबार फेरि सेयर बजारले ओरालो यात्रा नै तय गरेकाे छ । आज (साेमबार) सेयर कारोबार मापक नेप्से परिसूचक २४.४६ अंकले घटेर १९३८.७६ विन्दुमा झरेकाे छ । कूल २४० वटा कम्पनीकाे ४१ लाख २७ हजार २ सय ८६ कित्ता सेयर खरिदबिक्री हुँदा एक अर्ब ६७ करोड ४ लाख ५५ हजार रूपैयाँ बराबरको कारोबार भएकाे छ । कारोबार भएका कूल १३ वटै उपसमूह ओरालाे लागेका छन् । 

६. नेपाल धितोपत्र बोर्डले एनआईबिएल म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने एनआईबिएल ग्रोथ फण्ड निष्कासन गर्न स्वीकृत प्रदान गरेकाे छ । सेबोनले प्रति इकाई मूल्य १० रुपैयाँ अंकित दरको १६ करोड इकाई निष्कासन गर्न अनुमति प्रदान गरेकाे हाे । याे बन्दमुखी योजना हो । यस फण्डको कोष प्रवर्द्धकमा नेपाल इन्भेष्टमेन्ट बैंक र योजना व्यवस्थापकमा एनआईबिएल एस क्यापिटल लिमिटेड रहेका छन् । 

७. अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल आएकाे छ । रुसी तेलको मूल्य प्रतिब्यारेल ६० डलरमा सीमित गर्ने जी–७ राष्ट्रहरुले गरेको सम्झौतापछि अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्यमा उछाल आएकाे हाे । अन्तर्राष्ट्रिय बजारमा बिक्री हुने ब्रेन्ट क्रुडको मूल्य एसियाली कारोबारमा करिब १ प्रतिशतले बढेको छ।

८. राधी विद्युत कम्पनी लिमिटेडले लिलामी मार्फत बिक्री गरेकाे सेयर भर्दा नपरेको पैसा मंगलबारदेखि फिर्ता गर्ने भएकाे छ ।  कम्पनीले लिलामी बाँडफाँडमा नपरेको सेयर बापतको पैसा भाेलि मंगलबारदेखि आवेदकहरुले आफ्नो आवेदन फारममा उल्लेख गरेका बैंक वित्तीय संस्थाको खातामा जम्मा गरिदिने भएकाे हाे ।

९. एशियन लाईफ इन्स्योरेन्स कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको डिम्याट खातामा बोनस सेयर जम्मा गरिदिएको छ । कम्पनीले १४ औं वार्षिक साधारण सभाबाट पारित भएको १४ दशमलव ५० प्रतिशत बोनस सेयर सम्बन्धित सेयरधनीको डिम्याट खातामा जम्मा गरिदिएको हाे । हालसम्म पनि डिम्याट नगरेकाहरुले खातामा बोनस सेयर पाउनका लागि पहिला आफूसँग भएको भौतिक प्रमाणपत्र डिम्याट गर्नुपर्ने कम्पनीले जनाएकाे छ । 

१०.  साेमबार सुनकाे मूल्य तोलामा ४ सय रुपैयाँले बढेर प्रतिताेला ९९ हजार ९ सय रूपैयाँमा काराेबार भएकाे छ । चाँदीकाे मूल्य  पनि तोलामा १५ रुपैयाँले बढेर प्रतितताेला १३ सय ८५ रुपैयाँमा काराेबार भएकाे महासंघले जनाएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको