फेरी तरलताकै कुरा: वास्तविकता भन्दा हल्ला बढी, देखिँदैछ सुखद् भविष्य !
तरलताका सम्वन्धमा केही मिडियाहरुले र जानकारहरुले नै बैंकहरुमा तरलताको समस्या छ भनेर एकोहोरो रुपमा भनेर सर्वसाधारणमा ग़लत सूचना प्रवाह गरिएको छ। बैंकहरुमा कर्जा योग्य तरलताको समस्या थियो तर राष्ट्र बैकको ताज़ा तथ्यांकहरुले त्यस्तो तरलताको समस्या नभएको देखाँउछ।
२०७९ मंसिर २२ को राष्ट्र बैकको तथ्याँक अनुसार बैंक तथा वित्तीय संस्थाहरुको (यस पछि “बैकहरु” भनिएको) कर्जा निक्षेप अनुपात ८६.४१% छ। यस्का आधारमा र बैकहरुले ९०% को कर्जा निक्षेप अनुपात सम्म कर्जा दिन सक्ने भयकोले बैकहरुले थप क़रीब रु १९८ अर्ब कर्जा दिन सक्ने देखिन्छ। गत आवको पछिल्लो ६ महिनामा बैकहरुको कर्जा वृद्धि रु ३३ अर्बले मात्र बढेको र चालू आवको मंसिर २२ सम्म रू ४६ अर्ब (झण्डै ११ महिनामा कर्जा वृद्धि: रु ७९ अर्ब) मात्र भयको सन्दर्भमा माथि उल्लेख भएको बैकहरुको थप कर्जा दिन सकिने क्षमता रकम रू १९८ अर्ब उल्लेखनीय हो।
अहिले राष्ट्र बैकले पुरानो पुनर्कर्जा भुक्तानी अवधी पछि नयाँ पुनर्कर्जा प्रदान गरेको छैन। २०७९ कार्तिकमा पुनर्कर्जा वक्यौता करिव रु १०५ अर्ब भएकोमा अहिले रु ८० अर्बको हाराहारीमा वक्यौता रहेको देखिन्छ यस मध्ये करीब ७०%-७५% पुनर्कर्जाको म्याद आगामी पौष ५ र ६ गते सकिेने बुझिएको छ।
२०७९ पौष मसान्त पछि स्थानीय निकायहरुको रकम ८०% को सट्टा ५०% मात्र बैकहरुको निक्षेपमा गणना गर्न पाउने भएकाले यसको असर रु ३१-३२ अर्बको पर्नेछ। हालको पुनर्कर्जा वक्यौता र स्थानीय निकायहरुको निक्षेपको असर समावेश नगर्दा पनि बैकहरुको थप कर्जा दिने क्षमता रु ८६ अर्ब हुने देखिन्छ।
२०७९ साउनमा बैकहरुको निक्षेप रू १२३ अर्बले घटेको थियो भने कर्जा रु ९ अर्बले बढेको थियो। त्यस पछि हरेक महिनामा कर्जा भन्दा बढी निक्षेप बढेको छ। चालू महिनामा पनि मंसिर २२ गते सम्म निक्षेप रु ३० अर्बले बढ्दा कर्जा रु २ अर्बले मात्र बढेको छ। चालू आवको झण्डै ५ महिनामा-मंसिर २२ गते सम्म कर्जा रु ४६ अर्बले बढेको छ भने निक्षेप रु ५५ अर्बले बढेको छ। अहिले बैकहरुसंग रहेको कर्जा योग्य तरलता र विगत ४ महिनामा कर्जाको तुलनामा निक्षेप उल्लेख्य रुपमा बढेको (निक्षेप वृद्धि : रु ७८ अर्ब र कर्जा वृद्धि : रु ३७ अर्ब) परिदृश्यमा बैंकहरुको कर्जा योग्य तरलता सुविधाजनक रहने देखिन्छ। माथिका तथ्यहरुले अहिले बैकहरुमा कर्जा योग्य तरलता अभावको समस्या भन्दा पनि उच्च ब्याजदरको समस्या रहेको देखिन्छ।
बैकहरुले आफुसंग रहेको सरकारी सुरक्षणपत्र धितो राखि राष्ट्र बैकबाट लिने रिपो+एसएलएफ रक़मको वक्यौता रकम क्रमश घट्दै २०७९ मंसिर २५ मा रु २६.०१ अर्बमा घटेको छ। यस मध्ये बैकहरुले २०७९ मंसिर १५ गते लिएको रिपो रु २० अर्व मंसिर २९ गते चुक्ता भुक्तानी हुनेछ। बैकहरुले २०७९ असार ९ गते राष्ट्र बैकबाट लियको रिपो +एसएलएफको वक्यौता रक़म रु २४७.१८ अर्ब थियो। यो रकम अहिले सम्मकै उच्च वक्यौता रकम हो।
चालू आवको सुरु देखि नै अन्तरबैक ब्याजदर वार्षिक ८.५% को हाराहारीमा भएकोमा केही दिन देखि मुद्रा बजारमा ब्याजदर घट्दै गएको छ। आज २०७९ मंसिर २५ गते अन्तरबैक कारोबार वार्षिक ६.५% को हाराहारीमा भएको बुझिएको छ। अहिले क़रीब १२-१३ वाणिज्य बैकहरु अन्तरबैक बजारमा सापटी दिन सक्ने अवस्थामा रहेको वुझियको छ। यस्तो परिस्थितिले आगामी दिनमा (२०७९ मंसिर २६ कै ट्रेजरी विल्सको वोलकवोलमा समेत) सरकारी सुरक्षणपत्रमा समेत ब्याजदरमा कमी आउन सक्ने संभावनालाई नकार्न सकिदैन।
बैकहरुको थप कर्जा दिन सक्ने सुविधाजनक अवस्था, उच्च ब्याजदर आदिका कारणले कर्जाको मागमा कमि, बैकहरुले राष्ट्र बैकबाट लिने रिपो+एसएलएफमा उल्लेख्य गिरावट, अन्तरबैक ब्याजदरमा उल्लेख्य गिरावट आदिका कारणले आगामी २०७९ पौष १ गतेबाट लागू हुने गरी निक्षेपको ब्याजदर राम्रै घट्ने देखिन्छ। वार्षिक १२.१३३% मा निक्षेप लिएर अन्तरबैक बजारमा वार्षिक ६.५% को हाराहारीमा सापटी दिनुको कुनै अर्थ राख्दैन।
(पूर्व बैंकर परशुराम कुँवर क्षेत्रीको फेसबुक वालबाट साभार गरिएको )
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस