अर्थ संसार, तेह्रथुम– जिल्लाका विभिन्न नदी तथा खोलामा खेर गइरहेको पानी प्रयोग गरेर बनाइएका लघु जलविद्युत आयोजनाहरु धमाधम बन्द हुन थालेका छन् । निर्माण भएपछि निरन्तर गर्नुपर्ने मर्मत सम्भार र रेखदेखमा ध्यान नपुग्दा लघु जलविद्युत आयोजनाहरु बन्द हुन थालेका हुन् ।
जिल्लाका आधा दर्जन बढी खोलाहरुमा लघु जलविद्युत आयोजनाहरु निर्माण भएका छन् । ती मध्ये अधिकांश मर्मत सम्भार गर्न नसकेकै कारण बन्द भएका छन् । जिल्लाका सबै गाउँसम्म केन्द्रिय प्रशारण लाइनको विद्युतीकरण अझैपनि भइसकेको छैन । विद्युतीकरण नभएका गाउँका बासिन्दाले लघु जलविद्युत आयोजना सन्चालन गर्न माग गरेर आयोजना सन्चालन गरेका छन् ।
तर त्यस्ता आयोजनाहरु निर्माण गर्दा सुरुमा केही सरकारी अनुदान पाउने भएपनि निर्माण भइसकेपछि मर्मत सम्भारका लागि कतैबाट श्रोत नजुट्दा आयोजना नै बन्द हुने गरेको पाइएको छ । जिल्लाकै एक मात्र पुर्ण सरकारी लगानीको खोरुंगा खोला लघुजलविद्युत आयोजना समेत पाँच वर्षदेखि ठप्प छ ।
मेन्छ्यायेम गाउँपालिका–५ स्थित एक सय किलोवाट क्षमताको सो आयोजना मर्मतका लागि सम्बन्धित निकायले ध्यान नपु¥याउँदा करोडौँ मुल्यका उपकरण कवाडीमा परिणत भएका छन् । एक सय किलोवाट क्षमताको यो आयोजना सामान्य गेटबल मर्मत गर्न नसक्दा बन्द भएको एक कर्मचारीले बताए । आयोजना बन्द भएपछि आयोजनाका लागि निर्माण गरिएको भौतिक संरचना र उपकरणहरु लभालिङ्ग बनेको नयाँ पत्रिकामा समाचार छ ।
यहाँ पानी ल्याउने कुलोको अवशेष मात्र बाँकी छ । पोखरी बालुवाले पुरिन लागेको छ । विद्युत उत्पादन गृहमित्र रहेका टर्वाइन, टान्सफर्मर लगायत विद्युतीय उपकरणहरु राम्रो हुँदा–हुँदै पनि एउटा गेटबल समेत मर्मत गर्न नसक्दा अहिले प्रयोगविहीन बनेको छ । नेपाल विद्युत प्राधिकरणले निर्माण गरेको यो आयोजना स्थानीय सिंहवाहिनी विद्युत प्रालिले लिजमा सन्चालन गरेको थियो ।
तर सो कम्पनीले प्राधिकरणसँगको सम्झौता तोडेपनि आयोजना नै बन्द भएको हो । उतिवेला सडक सुविधा राम्रो नभएकै कारण हेलिकप्टरबाट सामान ढुवानी गरेर निर्माण गरिएको यो आयोजनाको मर्मत सम्भारमा कसैले पनि चासो दिएको छैन ।
यो बाहेक अन्य आयोजनाहरु समुदायकै मातहतमा निर्माण भएका छन् । जिल्लामा अहिलेसम्म १६ वटा साना तथा लघु जलविद्युत आयोजनाहरु निर्माण भएका जिल्ला समन्वय समिति अन्तर्गतको बातावरण, ऊर्जा तथा जलवायु परिवर्तन शाखाका इन्जिनियर मनोजकुमार चौधरीले बताए ।
ती आयोजनाहरु निर्माणकालागि उपभोक्तालाई वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्र र अन्य दातृ संस्थाहरु तथा तत्कालिन जिविस, गाविसले लगानी गरेका छन् । समुदायमा आधारित साना तथा लघु जलविद्युत आयोजनाहरु निर्माण गर्दा वैकल्पिक ऊर्जा प्रवद्र्धन केन्द्रले ५० प्रतिशत सम्म अनुदान उपलब्ध गराएको इन्जिनियर चौधरीले बताए ।
त्यसबाहेक ५० प्रतिशत लागत जिविस, गाविस र उपभोक्ताले नगद तथा श्रमदानमार्फत लगाएका छन् । तर निर्माण सम्पन्न भएर प्रयोगमा आएपछि आउने समस्या निराकरण गर्न भने कसैले नसघाएको उपभोक्ताले गुनासो गरेका छन् । जिल्लामा हालसम्म मर्मत सम्भारका लागि बजेट नभएकै कारण पाँच वटा साना तथा दुई वटा लघु जलविद्युत आयोजनाहरु बन्द भएका छन् ।
समुदायमा आधारित जलविद्युत आयोजनाहरु मर्मत सम्भारमा बजेट अभाव हुनु, सधै समुदायको मिलेमतो नहुनु, दक्ष जनशक्ति अभाव हुनु लगायत कारणहरुले बन्द भएका बातावरण, ऊर्जा तथा जलवायु परिवर्तन शाखाका प्रमुख इन्जिनियर चौधरीले बताए ।
उनका अनुसार, सक्रान्तिबजारसहित ५ सय बढी घरधुरीले प्रयोग गर्दै आएको ६३ किलोवाट क्षमताको कोयाखोला लघुविद्युत आयोजना निर्माण भएको एक वर्षपनि प्रयोग नगर्दै बन्द भएको छ । यो नै जिल्लामा निर्माण भएकामध्येको सबैभन्दा ठुलो क्षमताको आयोजना हो । आयोजना मर्मत गर्न बजेट अभाव र समुदायको मिलेमतो नहुँदा आयोजना बन्द भएको आयोजनाका अध्यक्ष भोला काफ्लेले बताए ।
‘निर्माणमा सबैतिर बाट सहयोग भयो, तर एक वर्ष नबित्दै बिग्रिएपछि मर्मत सम्भारमा कसैले हेरेनँ, मर्मत गर्न नसकेपछि त्यतिकै बिग्रियो,’ आयोजनाका अध्यक्ष काफ्लेले भने । अहिले सो क्षेत्रका उपभोक्ताले सोलार बत्ती र केन्द्रिय प्रशारण लाइनको विद्युत उपभोग गर्दै आएका छन् ।
यस्तै ३ किलोवाट क्षमता रहेको ह्वाकुको कुरुम्बा खोला साना जलविद्युत आयोजना र ओयाक्जुङको ५ किलोवाट क्षमताको पिथुङ्गा खोला साना जलविद्युत आयोजना पनि बन्द भएका छन् । यस्तै ३–३ किलोवाट क्षमताका नायक्मा, गुराँसे र सदुवा खोला जलविद्युत आयोजना पनि बन्द भएका छन् ।
ती आयोजनाबाट श्रीजुङ र पौठाकका करिब एक सय घरधुरीले उपभोग गर्दै आएका थिए । उता लालीगुराँस नगरपालिकास्थित दाँगपामा निर्माण भएको १८ किलोवाट क्षमताको अपर परेवा खोला लघुजलविद्युत आयोजना पनि बन्द भएको छ । सो आयोजनाबाट यहाँका १ सय ६३ घरधुरीले लाभान्वित थिए ।
मुलुकको ऊर्जा संकट र लोडसेडिङको समस्या कम गर्ने माध्यम लघु जलविद्युत आयोजना पनि हुन सक्छन् । तर सरकारले यस्ता आयोजनाहरुको प्रवद्र्धन र व्यवस्थापनमा ध्यान दिन नसक्दा उपभोक्ताको लाखौँ रुपयाँ नोक्सान भइरहेको छ । बन्द भएका आयोजनाका उपकरणहरु बिग्रिएर त्यतिकै नष्ट भएका छन् ।
‘बिग्रिएका पुराना उपकरण कसैले खरिद पनि गरेनन्, हामीले विद्युत प्राधिकरणलाई नै कवाडीकै भाउमा दिऔँ,’ कोयाखोला लघुजलविद्युत आयोजनाका अध्यक्ष काफ्लेले भने । आयोजना निर्माण गर्दा उपभोक्ताले लगाएको मेहिनेत र नगद व्यर्थमा खेर गएको पुर्वजिविस सभापति किशोरचन्द्र दुलाल बताउँछन् । उनले यस्ता आयोजनामा भइरहेको राज्यको लगानीलाई व्यवस्थित गर्नुपर्ने सुझाए ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै
गुनासो,
सूचना तथा सुझाव
भए हामीलाई
[email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत
पनि
हामीसँग
जोडिन सकिनेछ । हाम्रो *युटुब
च्यानल पनि
हेर्नु होला।
प्रतिक्रिया दिनुहोस