Like us!
Follow us!
Connect us!
Watch us!

इप्पानकाे संशोधित विधान प्रमाणीकरण : वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हट्यो

अर्थ संसार

सोमबार, ०४ साउन २०८३, १६ : ०९ मा प्रकाशित

इप्पानकाे संशोधित विधान प्रमाणीकरण : वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने व्यवस्था हट्यो

स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था, नेपाल (इप्पान) मा अब देखि अध्यक्षमा चुनाव हुने भएको छ । संशोधित विधान जिल्ला प्रशासनबाट प्रमाणीकरण भएसँगै वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष बन्ने व्यवस्था हटेको हो । 

इप्पानको २४ औं साधारणसभा तथा ८ औँ अधिवेशनबाट वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने सहितको प्रावधान संशोधन गरिएको थियो । संशोधित विधान जिल्ला प्रशासन कार्यालयबाट प्रमाणीकरण भएसँगै अब वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुन नपाउने भएका हुन् । विधान संशोधनसँगै संस्थाको कार्यसमितिको संरचना, पदाधिकारीको योग्यता तथा संस्थागत व्यवस्थामा परिवर्तन गरिएको छ । संशोधित विधानअनुसार अब इप्पानको कार्यसमिति ३७ सदस्यीय हुने भएको छ । यसअघि कार्यसमिति २५ सदस्यीय थियो ।

संशोधित विधान अनुसार कार्यसमितिमा अध्यक्ष, निवर्तमान अध्यक्ष, वरिष्ठ उपाध्यक्ष, उपाध्यक्ष ७ जना (एक जना महिलासहित), महासचिव, उपमहासचिव, सचिव ७ जना (एक जना महिलासहित), कोषाध्यक्ष तथा ११ जना खुला सदस्य रहनेछन् । खुला सदस्यमध्ये कम्तीमा ४ जना महिला हुनुपर्ने व्यवस्था गरिएको छ । साथै १/१ जना एसोसिएट र युवा उद्यमीबाट प्रतिनिधित्व सुनिश्चित गरिएको छ । जुन अध्यक्षले नियुक्ति गरेर कार्यसमिति बैठकमा जानकारी दिनुपर्नेछ ।

यसअघि कार्यसमितिको पहिलो बैठकबाट चयन हुने एसोसिएट सदस्यको व्यवस्थालाई संशोधन गरी एसोसिएट तथा युवा उद्यमीको प्रतिनिधित्वलाई विधानमै समेटिएको छ । हालसम्म पदाधिकारी हुन कार्य समितिको सदस्य भई कम्तीमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने व्यवस्था थियो । अब अध्यक्षको उम्मेदवार हुन कार्यसमितिमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने व्यवस्था गरिएको छ । त्यस्तै वरिष्ठ उपाध्यक्षको उम्मेदवारका लागि पनि कार्यसमितिमा एक कार्यकाल पूरा गरेको हुनुपर्ने प्रावधान राखिएको छ । हालसम्म वरिष्ठ उपाध्यक्ष स्वतः अध्यक्ष हुने प्रावधान थियो ।

यससँगै अध्यक्ष र वरिष्ठ उपाध्यक्ष पदका उम्मेदवार कुनै राजनीतिक दलमा आबद्ध हुन नहुने व्यवस्था पनि गरिएको छ । यदि कुनै राजनीतिक दलसँग आबद्ध रहेको भए दल त्यागेको स्वघोषणा गर्नुपर्ने र त्यस्तो प्रमाण पेश नगरे उम्मेदवारी अयोग्य हुने व्यवस्था विधानमा समावेश गरिएको छ ।
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

Api Spring Viber

सम्बन्धित खबर

धेरै पढिएको