Like us!
Follow us!
Connect us!
Watch us!

समग्रमा बैंकहरुको नाफा ११.७५% ले बढेर ३० अर्ब २६ करोड रुपैयाँ

अर्थ संसार

आइतबार, ०८ माघ २०७९, २१ : ५१ मा प्रकाशित

आज (माघ ८ गते, आइतबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. हालसम्म २० वटा वाणिज्य बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तीय विवरण सार्वजनिक गरेका छन् । जसमध्ये, ६ वटा बैंककाे नाफा घटेकाे छ । दाेश्राे त्रैमाससम्म आइपुग्दा सबैभन्दा धेरै नाफा कमाउनेमा नबिल बैंक अग्र स्थानमा रहेकाे छ । बैंककाे नाफा ३ अर्ब ४१ करोड नाघेकाे छ । त्यसपश्चात् धेरै नाफा कमाउने दाेश्राे र तेश्राेमा क्रमस : एनआइसी एशिया बैंक र ग्लाेबल आइएमइ बैंक रहेका छन् ।  समग्रमा बैंकहरुको नाफा ११.७५% ले बढेर ३० अर्ब २६ करोड रुपैयाँ पुगेको छ ।

२. कृति भेञ्चर फण्डले प्रिमियममा आईपीओ निष्कासन गर्ने भएकाे छ । कम्पनीले साेही प्रयाेजनका लागि विशेष साधारण सभा डाकेकाे छ । कम्पनीकाे माघ ४ गते, बसेकाे सञ्चालक समितिकाे बैठकले गरेकाे निर्णय अनुसार कम्पनीकाे विशेष साधारण सभा माघ २२ गते, आइतबार माछापुच्छ्रे क्यापिटल लिमिटेडकाे कार्यालय काठमाडाैँमा, दिउँसाे १ बजेदेखि सुरू हुनेछ ।

३. गोर्खाज फाइनान्स लिमिटेडले चालु आर्थिक वर्षको दोस्रो त्रैमासको वित्तिय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्म आइपुग्दा फाइनान्सकाे नाफा ४६.९६ प्रतिशतले बढेर ६ करोड ७१ लाख ५७ हजार रुपैयाँ पुगेकाे छ । फाइनान्सको सञ्चालन मुनाफा पनि २८२.७० प्रतिशत र खुद व्याज आम्दानी १८०.३१ प्रतिशतले बढेको छ । फाइनान्सकाे प्रतिसेयर आम्दानी १५ रुपैयाँ ४७ पैसा र प्रतिसेयर नेटवर्थ १८९ रुपैयाँ ८९ पैसा रहेको छ ।

४. तारागाँउ रिजेन्सी होटल कम्पनी लिमिटेडले वार्षिक साधारण सभा आह्वान गरेकाे छ । कम्पनीकाे २६औँ वार्षिक साधारण सभा फागुन ३ गते, बुधबार, नेपाल पर्यटन बाेर्ड, भृकुटीमण्डप, काठमाडाैँमा बिहान ११ बजेदेखि सुरू हुनेछ । सभामा कम्पनीकाे सञ्चालक समतिको बैठकले गरेकाे निर्णय अनुसार गत आर्थिक वर्ष २०७८/७९ काे मुनाफाबाट सेयरधनीहरुलाई ८.४२ प्रतिशत नगद लाभांश दिने प्रस्ताव पारित गरिनेछ । कम्पनीले साधारण सभा तथा लाभांश वितरण प्रयाेजनका लागि माघ १८ गतेदेखि बुकक्लाेज गर्ने निर्णय गरेकाे छ । त्यसैले, माघ १७ गतेसम्म नेप्सेमा काराेबार भई कायम हुने सेयरधनीहरूले मात्रै साधारण सभामा भाग लिन सक्नेछन् ।

५. पछिल्लो समय विश्व बजारमा क्रिप्टोकरेन्सीमा एकाएक उछाल आएको छ । नयाँ वर्षको जनवरी २ मा १६ हजार ५ सय ९४ अमेरिकी डलरमा कारोबार भएको बिट्क्वाइनको मूल्य २२ जनवरीसम्म आउँदा २३ हजार डलरमा पुगेको छ । बिट्क्वाइन बढेसँगै अन्य क्रिप्टोकरेन्सीमा पनि आकर्षक वृद्धि देखिएकाे छ।

६. नेपाल राष्ट्र बैंकले १० अर्ब ६० कराेड रूपैयाँ बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले भाेलि सोमबार सरकारलाई आवश्यक अल्पकालीन ऋण उठाउन बोलकबोल प्रक्रियामार्फत ९१ र ३६४ दिनकाे अवधिका लागि १० अर्ब ६० कराेड रूपैयाँ बराबरकाे ट्रेजरी बिक्री गर्न लागेको हो ।

७. नेपाल राष्ट्र बैङ्कका गभर्नर महाप्रसाद अधिकारीले बैङ्कबाट कर्जा लिएर कर्जा वा ब्याज तिर्नुको सट्टा सडक आन्दोलन गर्नु अराजकता भएको बताएका छन् । शनिबार कृषि विकास बैङ्कको साधारण सभामा बोल्दै गभर्नर अधिकारीले यस्तो बताएका हुन्।  बैङ्कबाट कर्जा लिने र कर्जा तिर्नुको सट्टा सडकमा उफ्रिएर नतिर्ने गरेको भन्दै सङ्गठित रूपमा बैङ्कबाट लिएको कर्जा तिर्नुपर्दैन भन्नु अराजकताको माथिल्लो रूप भएको उनको भनाइ छ।

८. अर्थमन्त्री विष्णुप्रसाद पौडेलले रेमिट्यान्सलाई व्यवस्थित गर्न नीतिगत तथा कानुनी सुधारका लागि सरकार तयार रहेको बताएका छन्। प्रवासी नेपाली मञ्ज अमेरिकाले आयोजना गरेको रेमिट्यान्स एण्ड इन्भेष्टमेन्ट इन नेपाल विषयक कार्यक्रमलाई भर्चुवल माध्यमबाट सम्बोधन अर्थमन्त्री पौडेलले रेमिट्यान्सलाई वैधानिक च्यानलबाट भित्राउन र उत्पादनमुलक क्षेत्रमा लगानी गर्ने अनुकुल वातावरण तयार पार्न आवश्यक सहयोगका लागि सरकार तत्पर रहेको बताएका हुन् ।

९. टेक्नोलोजीमा आधारित कम्पनीहरुले आर्थिक मन्दीका कारण खर्च घटाउन धमाधम कर्मचारी कटाैती गर्न थालेका छन् । यसै क्रममा गुगलको माउ कम्पनी अल्फाबेटले पनि १२ हजार कर्मचारी कटौती गर्ने भएको छ। केही समययता विश्वभर मेटा, अमेजन, माइक्रोसफ्ट लगायतका टेक जायन्टहरूले निरन्तर खर्च कटौती गर्न कर्मचारी घटाउँदै आएका छन्।

१०.  आइतबार सुनकाे भाउ तोलामा २ सय रुपैयाँले घटेर प्रतिताेला १ लाख ५ हजार रुपैयाँ कायम भएको छ । आज चाँदीको भाउ भने स्थिर रही प्रतितोला १३ सय ७५ रुपैयाँ नै कायम छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको