Like us!
Follow us!
Connect us!
Watch us!

१० आर्थिक समाचार एकै पटक

अर्थ संसार

बुधबार, ११ माघ २०७९, ०८ : ४० मा प्रकाशित

१. शुभम पावर कम्पनी लिमिटेडले माघ १८ गतेदेखि सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्ने भएको छ । कम्पनीले प्रतिकित्ता १०० रुपैयाँ अंकित दरका  ४ लाख ८१ हजार ८ सय २२ कित्ता सेयर सर्वसाधारणहरुमा निष्कासन गर्न लागेको हो। यस आईपीओमा लगानीकर्ताले न्यूनतम १० कित्तादेखि अधिकतम ५ हजार कित्तासम्मका लागि आवेदन दिन सक्नेछन् । लगानीकर्ताले छिटोमा माघ २२ गतेसम्म र ढीलोमा फागुन ३ गतेसम्म आवेदन दिन सक्नेछन् । 

२. मोलुङ्ग हाइड्रोपावर कम्पनी लिमिटेडले स्थानियका लागि निष्कासन गरेकाे आईपीओ भर्ने म्याद थपेकाे छ । माग बमोजिम आवेदन प्राप्त नपरेपछि ५ दिन म्याद थपेर माघ १५ गतेसम्म भर्न मिल्ने भएकाे । कम्पनीले स्थानियका लागि ८ लाख २ हजार ५ सय कित्ता सेयर निष्कासन गरेकाे हाे । यस आईपीओमा  ओखलढुङ्गा जिल्लाका बासिन्दाले न्यूनतम १० कित्तादेखि अधिकतममा ८ हजार कित्ताका लागि आवेदन दिन सक्नेछन् ।

३. सनराइज क्यापिटल लिमिटेडले आजदेखि 'सनराइज फोकस्ड इक्विटी फण्ड' नामक नयाँ म्युचुअल फण्ड निष्कासन गरेको छ । क्यापिटलले सनराइज म्युचुअल फण्ड अन्तर्गत सञ्चालन हुने गरी प्रतिइकाई १० रुपैयाँ अंकित दरमा १२ करोड इकाईहरु निष्कासन गरेको हो । लगानीकर्ताले न्यूनतम १०० इकाईदेखि अधिकतम एक कराेड २० लाख इकाईसम्म आवेदन दिन सक्नेछन् । याे फण्डमा लगानीकर्ताले छिटोमा माघ १३ गतेसम्म र ढिलोमा माघ २४ गतेसम्म आवेदन दिन सक्नेछन् ।

४. आज (मंगलबार) सेयर बजार बढेकाे छ । बढेकाे बजारमा फाइनान्स कम्पनीमा लगानीकर्ताकाे आकर्षण देखिएकाे छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (मंगलबार) सेयर कारोबार मापक नेप्से परिसूचक ८.१४ अंकले बढेर २१७३.२४ विन्दुमा पुगेकाे छ । नेप्से ०.३८ प्रतिशतले घटेकाे हो । सेन्सेटिभ परिसूचक पनि २.५३ अंकले बढेर ४१५.५४ विन्दुमा पुगेको छ । कूल २४८ वटा कम्पनीकाे ८३ लाख एक सय ८७ कित्ता सेयर खरिदबिक्री हुँदा ३ अर्ब ३२ लाख ३० हजार ३९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

५. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा मंगलबार सूर्यज्योति लाईफ इन्स्योरेन्सको सेयर सूचिकृत भएकाे छ । साविकको सूर्य लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड र ज्योति लाइफ इन्स्योरेन्स कम्पनी लिमिटेड एकआपसमा मर्जर गर्दा १:०.८२४५ को अनुपातमा कायम हुन आएको एक सय रूपैयाँ अंकित दरको कुल ४ कराेड ५४ लाख ५५ हजार ७ सय २१ कित्ता सेयर धितोपत्र सूचीकरण विनियमावली, २०७५ बमोजिम सूचिकृत गरिएकाे हाे । मर्जर प्रयोजनको लागि रोक्का रहेको उक्त कम्पनीको सेयर कारोबार फुकुवा गरिएको छ । कम्पनीकाे पहिलो कारोबार लागि ओपनिङ रेञ्ज ३ सय ७१ रूपैयाँ ५९ पैसा तोकिएको छ । 

६. नेपाल स्टक एक्सचेञ्ज (नेप्से) ले नेशनल माइक्राेफाइनान्स लघुवित्तलाई सचेत गराउँदै काराेबार फुकुवा गरेकाे छ । संस्थाले लाभांश सम्बन्धी सूचना काराेबार समयमा दिएका हुनाले हिजाे नेप्सेले ३ दिने स्पष्टिकरण माग्दै संस्थाकाे कारोबार रोक्का गरेको थियाे । संस्थाले शर्त नियमको पूर्णपालना गर्ने क्षमायाचना सहितको प्रतिवद्धता व्यक्त गरेका हुनाले आगामी दिनमा यस्ता प्रकारका त्रुटी नगर्न सचेत गराउँदै संस्थाकाे धितोपत्रको कारोबार फुकुवा गरिएको नेप्सेले जनाएकाे छ ।

७. सीडीएससीको प्रणालीमा समस्या आउँदा लगानीकर्ताले सास्ती भाेग्नु परेकाे छ । सीडीएससीको एप्लिकेसनमा प्राविधिक समस्या आएपछि गत माघ ५ गतेको सेयर सेटलमेन्ट प्रभावित भएर आज मात्रै भयाे ।  लगानीकर्ताहरुले ईडीआईएस गर्न बिर्सँदा वा विभिन्न समस्यामा परी ईडीआईएस गर्न नसक्दा क्लोज आउटमा पर्ने र २० प्रतिशत जरिवाना तिर्नुपर्ने नियम छ । लगानीकर्ताहरुले बेचेको सेयर समयमा नपठाउँदा २०% जरिवाना लगाउने नियम बनाउने नियामकहरुले लगानीकर्ताहरुले किनेको सेयर समयमा पठाउन नसक्दा लगानीकर्ताहरुलाई २०% हर्जना तिर्न भने किन केही गर्न नसेका हुन् वा नगरेका हुन् याे प्रश्न सँधै अनुत्तरित रहन्छ ।

८. नबिल बैंककाे स्वामित्वमा रहेकाे स्वावलम्बन लघुवित्तकाे एक लाख ५९ हजार कित्ता संस्थापक समूहकाे सेयर आजबाट लिलाम बढाबढ गरी बिक्री खुल्ला गरिएकाे छ । उक्त सेयरको न्यूनतम मूल्य प्रतिकित्ता ५ सय ५५ रूपैयाँ तोकिएको छ । लगानीकर्ताले न्युनतम एक हजार कित्तादेखि अधिकतममा सबै कित्ताका लागि माघ १८ गतेसम्म आवेदन दिन सक्नेछन् ।

९.  उपप्रधानमन्त्री तथा अर्थमन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च बढाउन र चालु खर्च घटाउन मन्त्रालयका सचिवहरुलाई निर्देशन दिएका छन् । अर्थमन्त्रालयमा आयोजित देशको समग्र आर्थिक अवस्था र बजेट कार्यान्वयनका सम्बन्धमा छलफल कार्यक्रममा मन्त्री विष्णुप्रसाद पौडेलले पूँजीगत खर्च र राजस्व परिचालनको अवस्था चिन्ताजनक रहेको बताउँदै राजस्व परिचानलमा कडाइका साथ प्रस्तुत हुन र पुँजीगत खर्चलाई विशेष प्राथमिकता दिएर काम गर्न निर्देशन दिएका हुन् ।

१०. मंगलबार सुनकाे भाउले नयाँ रेकर्ड कायम गरेको छ । मंगलबार सुनकाे भाउ ताेलामा १ हजार रुपैयाँले बढेर प्रतिताेला १ लाख ६ हजार ३ सय रुपैयाँ कायम भएको छ । यो हालसम्मकै उच्च मूल्य हो । यसअघि गत फागुन २५ गते अहिलेसम्मकै उच्च १ लाख ५ हजार ५०० रुपैयाँ कायम भएको थियो ।   मंगलबार चाँदीको भाउ भने तोलामा १५ रुपैयाँले घटेर १३ सय ६५ रुपैयाँ कायम भएको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको