Like us!
Follow us!
Connect us!
Watch us!

दुई कम्पनीका लाभांस घोषणा, तपाईले लगानी गरेका त परेनन् ?

अर्थ संसार

विहीबार, १२ माघ २०७९, २३ : ०६ मा प्रकाशित

 आज (माघ १२ गते, बिहीबार) दिनभरका प्रमुख आर्थिक समाचारहरू तल उल्लेख गरिएकाे छ :

१. नेपाल इन्भेष्टमेन्ट बैंक र मेगा बैंकको मर्जरपछि बनेको नेपाल इन्भेष्टमेन्ट मेगा बैंकले चालु आर्थिक वर्षको दोस्रो त्रैमाससम्मको वित्तीय विवरण सार्वजनिक गरेको छ । समिक्षा अवधिसम्ममा बैंकको खुद नाफा २८.४४% ले बढेर २ अर्ब ८ करोड ६३ लाख ७ हजार रुपैयाँ पुगेको छ । बैंककाे खुद ब्याज आम्दानी ७३.९३% र सञ्चालन नाफा २३.८९% ले बढेको छ ।  बैंककाे ईपीएस १५ रुपैयाँ ६१ पैसा र प्रतिसेयर नेटवर्थ १६४ रुपैयाँ ९१ पैसा रहेकाे छ ।

२. सबैको लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको १८ प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि ०.९५ प्रतिशत नगद लाभांश गरी कुल १८.९५ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

३. स्वाभिमान लघुवित्त वित्तीय संस्था लिमिटेडले लाभांश घोषणा गरेको छ । संस्थाले आर्थिक वर्ष २०७८/७९ को मुनाफाबाट हाल कायम चुक्ता पुँजीको २० प्रतिशत बोनस सेयर र कर प्रयोजनको लागि १.०५२६ प्रतिशत नगद लाभांश गरी कुल २१.०५२६ प्रतिशत लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो। उक्त लाभांश नेपाल राष्ट्र बैंकले स्वीकृति दिएपछि र कम्पनीको आगामी साधारण सभाले पारित गरेपछि लगानीकर्तामा वितरण हुनेछ । 

४. कालिञ्चोक दर्शन लिमिटेडले सर्वसाधारणका लागि निष्कासन गरेकाे आईपीओकाे बाँडफाँड अर्काे साता हुने भएकाे छ । कम्पनीकाे आईपीओमा अन्तिम दिनसम्ममा १४ लाख ३२ हजार ८ सय ८१ जना लगानीकर्ताहरूले १ करोड ६६ लाख ८ हजार कित्ताका लागि आवेदन दिएका छन् । मागभन्दा धेरै आवेदन परेकाे हुनाले कम्पनीकाे आईपीओ गाेलाप्रथाबाट बाँडफाँड गरिनेछ । गाेलाप्रथाबाट बाँडफाँड गर्दा भाग्यमानी ८९ हजार ६ सय ४० जनाले मात्रै सेयर हात पार्नेछन् ।

५. साताकाे अन्तिम काराेबार दिन बिहीबार सेयर बजार स्थिर देखिएकाे छ । बजारमा अहिले लगानीकर्ताहरू 'पर्ख र हेर' काे अवस्थामा देखिन्छन् । लगानीकर्ता माैद्रिक नीतिकाे समिक्षाकाे पर्खाइमा छन् । नेपाल स्टक एक्सचेञ्जका अनुसार आज (बिहीबार) सेयर कारोबार मापक नेप्से परिसूचक ०.३५ अंकले घटेर २१८३.२७ विन्दुमा छ । नेप्से ०.०२ प्रतिशतले घटेकाे हो । यता, सेन्सेटिभ परिसूचक पनि १.११ अंकले घटेर ४१३.१३ विन्दुमा पुगेकाे छ । कूल २५४ वटा कम्पनीकाे ७७ लाख ६४ हजार एक सय ५३ कित्ता सेयर खरिदबिक्री हुँदा २ अर्ब ८६ करोड ८२ हजार ८ सय ३९ रूपैयाँ बराबरको कारोबार भएकाे नेप्सेले जनाएकाे छ ।

६. मन्दाकिनी हाईड्रोपावर कम्पनी लिमिटेडले आफ्ना सेयरधनीहरूको बैंक खातामा नगद लाभांश पठाएको छ । हितग्राही खातामा बैंक खाता अद्यावधिक गराएका सेयरधनीहरुको सम्बन्धित बैंक खातामा एजीएमबाट पारित भएकाे ५ प्रतिशत लाभांश जम्मा गरिएको कम्पनीले जनाएको छ । कम्पनीले हालसम्म पनि आफ्नो सेयर प्रमाणपत्रहरु अभौतिकीकरण नगराउने सेयरधनीहरुलाई यथाशीघ्र आफ्नो सेयर प्रमाणपत्र अभौतिकीकरण गराई हितग्राही खातामा आफ्नो बैंक खाता अद्यावधिक गराएर नगद लाभांश लिन अनुरोध गरेको छ । 

७. पछिल्लाे समय तरलतामा तीव्र सुधार देखिएकाे छ । बैंकिङ प्रणालीमा अधिक तरलता भएपछि त्यसको व्यवस्थापनका लागि राष्ट्र बैंकले रिभर्स रिपो जारी गरेकाे छ । राष्ट्र बैंकले आज ५ अर्ब रुपैयाँको रिभर्स रिपो जारी गरेकाे छ ।  बैंकले ७ दिने अवधिको रिभर्स रिपो जारी गरेकाे हो।

८. १०० मेगावाटको तामाकोसी-५ जलविद्युत निर्माणको लागि दुई चिनियाँ कम्पनी सर्टलिस्टमा परेका छन् । प्राविधिक प्रस्तावमा सिनो हाइड्रो कर्पोरेसन लिमिटेड र चाइना गेजुवा ग्रुप कम्पनी लिमिटेड पास भएर सर्टलिस्टमा परेका हुन्।

९. सर्वोच्च अदालतले होटल, रेस्टुरेन्ट तथा अन्य सेवा प्रदायकले लिने गरेको सेवा शुल्क (सर्भिस चार्ज) लाई अमान्य भन्दै खारेज गरेको छ । बुधबार सर्वोच्चको संवैधानिक इजलासले सर्भिस चार्ज लिने गरी बनेको श्रम ऐनलाई संविधान बमोजिम अमान्य र बदर घोषित गरेको हो ।

१०. बिहीबार नेपाली बजारमा सुनकाे मूल्यले नयाँ इतिहास बनाएकाे छ । बिहीबार सुनकाे भाउ तोलामा ७ सय रुपैयाँले बढेर प्रतिताेला १ लाख ६ हजार ३ सय रूपैयाँ पुगेकाे नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ । उक्त मूल्य नेपाली बजारमा अहिलेसम्मकै उच्च मूल्य हाे । बिहीबार चाँदीकाे मूल्य पनि ताेलामा १५ रूपैयाँले बढेर प्रतिताेला १ हजार ३ सय ८० रुपैयाँ कायम रहेको महासंघले बताएकाे छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको