प्रभु बैंक लिमिटेडको यही माघ १२ गते बैंकका अध्यक्ष लीलाप्रकाश सिटौलाको अध्यक्षतामा बसेको सञ्चालक समितिको बैठकले बैंककाे प्रमुख कार्यकारी अधिकृत (सीईओ) मा अशोक शेरचनलाई पुनः नियुक्त गरेकाे छ । बैंककाे सञ्चालक समितिकाे बैठकले हिजाे (माघ १५ गते) देखि लागू हुने गरी उनलाई चार वर्षे कार्यकालका लागि पुनः नियुक्त गरेको हो। शेरचन यसअघि पनि प्रभु बैंकको दुई कार्यकालका सीईओ भइसकेका छन् ।
यसैबीच शेरचनकाे नियुक्ती ऐन विपरित रहेकाे भन्दै साे नियुक्ती खारेज गर्न नेपाल राष्ट्र बैंककाे सुपरिवेक्षण विभागमा उजुरी परेकाे छ ।
शेरचनकाे नियुक्ती बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ विपरित रहेको देखिएको भन्दै ऐन विपरित गएर गरिएको नियुक्ती खारेजी गरिपाउँ भन्दै राष्ट्र बैंकमा उजुरी परेकाे हाे । शेरचनले प्रभु बैंकमा सीईओको रुपमा बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ (२) ले गरेको व्यवस्था अनुरुप २ कार्यकाल पुरा गरिसकेको र हाल गरिएको गरिएको नियुक्त तेश्रो पटकको लागि भएको देखिएको हुँदा यो नियुक्ती सरासर बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३ को दफा २९ (२) विपरीत भएर गरिएको उजुरीमा उल्लेख छ ।
यसअघि विभिन्न बैंक वित्तिय संस्थामा एकै व्यक्ति पटक पटक एकै पदमा वा प्रमुख अधिकारीको रुपमा कार्यरत रहँदा सो संस्थाको संस्थागत सुशासन, सञ्चालन, निक्षेप तथा लगानीको क्षेत्रमा अख्तियारी दुरुपयोगका विभिन्न घटनाहरु भई निक्षेप तथा ऋण अपचलन भएका लगायतका विभिन्न उदाहरणहरु समेत पाइएकाे उजुरीमा लेखिएकाे छ ।
उक्त नियुक्तीले नेपाल राष्ट्र बैंककाे उद्देश्यलाई नै अवहेलना गरेको उजुरीकर्ताकाे आरोप छ । उजुरीमा भनिएकाे छ, "नेपाल राष्ट्र बैंकले हाल आफ्नो नियमन अन्तरगत लागू गरेको बैंक तथा वित्तिय संस्था सम्बन्धी ऐन, २०७३को दफा २९(२) को मुख्य उद्देश्य नै बैंक वित्तिय संस्थाको संस्थागत सुशासनलाई नियमित गर्न तथा आन्तरिक सञ्चालन तथा व्यवस्थापनलाई सुदृढ बनाउँदै लैजानेतर्फ रहेकोमा हालको नियुक्तीले सो उद्देश्यलाई अवहेलना गरेको देखिन्छ ।"
बैंक वित्तिय संस्था एक आपसमा गाभ्ने गाभिने (मर्जर) तथा प्राप्ति (एक्विजिसन) सम्बन्धी विनियमावली, २०७३ (पाँचौं संशोधन सहित) ले समेत प्रमुख कार्यकारी अधिकृतको नियुक्ती सम्बन्धमा २ पटक भन्दा बढी पटकको नियुक्तीका लागि कुनै छुट वा विशेष व्यवस्था नगरेकाे निवेदनमा उल्लेख छ । त्यसैले, प्रभु बैंक लिमिटेडको सञ्चालक समितिले तेश्रो कार्यकालका लागि पुनः प्रमुख कार्यकारी अधिकृतको रुपमा नियुक्त गरेका अशोक शेरचनको नियुक्त ऐनको मर्म विपरित रहेको हुँदा सो नियुक्तको खारेजीका लागि अनुराेध गरिएकाे छ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस