Like us!
Follow us!
Connect us!
Watch us!

अब उडानमै इन्टरनेट चलाउन पाइने

पत्रपत्रिका

विहीबार, २६ माघ २०७९, ०७ : १७ मा प्रकाशित

अब उडानमै इन्टरनेट चलाउन पाइने

नेपालको आकाशमा उडान गर्ने हवाई सेवाप्रदायकले उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन पाउने बाटो खुलेको छ । नेपाल दूरसञ्चार प्राधिकरणले उडानका क्रममा हुने सञ्चारसम्बन्धी अन्तरिम निर्देशिका जारी गर्दै यस्तो बाटो खुला गरेको हो । यससँगै उडानकै क्रममा यात्रुले मोबाइल तथा इन्टरनेट सेवा उपयोग गर्न पाउनेछन् । 

निर्देशिकाले उडानका क्रममा यस्तो सेवा प्रदान गर्न चाहनेलाई सेवाप्रदायकको अनुमति दिने व्यवस्था गरेको हो । यो व्यवस्थाअनुसार अनुमति प्राप्त सेवाप्रदायकले नेपालको आकाशमा उडानका क्रममा सञ्चार सेवा उपलब्ध गराउन चाहने स्वदेशी तथा विदेशी हवाई सेवाप्रदायकलाई त्यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् । 

अनुमति प्राप्त सेवा प्रदायकले त्यस्तो सुविधा नेपाली आकाशमा उडान भरिरहेको अवस्थामा मात्र उपलब्ध गराउन सक्ने निर्देशिकाले प्रस्ट पारेको छ । अन्य देशको हकमा भने सम्बन्धित देशको नियमानुसार नै गर्नुपर्ने निर्देशिकामा उल्लेख छ । 

निर्देशिकाअनुसार १० हजार फिटमाथि उडान गरिरहेको र अवरोध नहुने अवस्थामा मात्र त्यस्तो सञ्चार सेवा उपलब्ध गराउन पाइनेछ । त्यसभन्दा कम उचाइको उडानमा भने यात्रुका लागि यस्तो सेवा प्रतिबन्ध गरिएको छ । 

निर्देशिकाअनुसार कानुनी रूपमा दर्ता भएका स्वदेशी अथवा विदेशी दुवै किसिमका सेवाप्रदायकले यस्तो सेवा उपलब्ध गराउन सक्नेछन् । निर्देशिकाले यस किसिमको सेवा उपलब्ध गराउन आवश्यक प्रक्रियाको पनि स्पष्ट व्यवस्था गरेको छ । आफ्नो उडानमा सञ्चार सेवा उपलब्ध गराउन चाहने हवाई सेवाप्रदायकले सेवाको किसिम, प्रयोग हुने फ्रिक्वेन्सी, स्याटेलाइट र अर्थ स्याटेलाइटको विवरण, प्रयोग हुने प्रविधि, सञ्चार सेवा उपलब्ध गराउने सेवाप्रदायकको विवरण पेस गर्नुपर्नेछ । गोरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको