Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल–भियतनाम सिधा उडानका लागि पहल गर्ने राजदूत न्गुयेनको प्रतिवद्धता

अर्थ संसार

बुधबार, ३१ साउन २०८०, १८ : २५ मा प्रकाशित

नेपाल–भियतनाम सिधा उडानका लागि पहल गर्ने राजदूत न्गुयेनको प्रतिवद्धता

नेपालका लागि भियतनामी राजदूत न्गुयेन थान हाईले नेपाल र भियतनामबीच सिधा हवाई उडानको सम्भावना रहेको उल्लेख गर्दै यसका निमित्त आफूले पहल गर्ने प्रतिवद्धता जनाएका छन् । राजदूत थान हाईको सम्मानमा बुधबार नेपाल भियतनाम चेम्बर अफ कमर्सले आयोजना गरेको कार्यक्रममा उनले दुई मुलुकबीच व्यापार, पर्यटन र लगानीका क्षेत्रमा सहकार्यको उच्च सम्भावना रहे पनि कनेक्टिभिटीको समस्या रहेको धारणा राखे ।

“हामीले भारतका विभिन्न सहरमा सिधा उडान सञ्चालन गरिरहेका छौं र यो अझै विस्तार हुने क्रममा छ,” नेपालका लागि गैरआवासीय राजदूत न्गुयेन थान हाइले भने, “नेपाली पक्षले पनि सिधा उडानका लागि पहल गर्नुपर्छ र हामी आफ्नो तर्फबाट सिधा उडानका लागि प्रयास गर्नेछौं ।”

राजदूत न्गुयेन थान हाइले नेपालको काठमाडौं र लुम्बिनीमा सिधा उडानको सम्भावना रहेको उल्लेख गर्दै उडानसँगै पर्यटन लगायत अन्य क्षेत्रमा सहकार्य विस्तार हुने धारणा राखे । नेपालबाट अष्ट्रेलिया, युरोपलगायत तेस्रो मुलुक जाने पर्यटकलाई पनि भियतनाम ट्रान्जिट भएर जान सहज हुने उनको भनाइ छ ।

यसअघि भियतनामका लागि अवैतनिक वाणिज्यदूत (कन्सुलर) राजेशकाजी श्रेष्ठले नेपालको पर्यटन प्रवर्द्धका लागि लुम्बिनी–भियतनाम सिधा उडानको लागि पहल गर्न आग्रह गरेका थिए । श्रेष्ठले नेपाली कफी र हस्तकलाको भियतनाम राम्रो बजार बन्नसक्ने भएकाले व्यापारमा सहजीकरणका लागिसमेत राजदूत न्गुयेन थान हाइसँग आग्रह गरे ।

दुबै देशबीच व्यापार, लगानी, कृषि, पर्यटन, सांस्कृतिक सम्बन्धलगायत क्षेत्रमा सहयोग आदानप्रदानका लागि कन्सुलर श्रेष्ठको आग्रह थियो ।

कार्यक्रममा नेपाल–भियतनाम चेम्बर अफ कमर्शका अध्यक्ष दीपक मल्होत्राले पनि भियतनाममा रहेका बुद्धमार्गीहरुलाई लक्षित गर्दै गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थलबाट सिधा उडानका लागि पहल गरिदिन राजदूतसमक्ष आग्रह गरेका थिए । उनले नेपाल र भियतनामका जनता साँष्कृतिक रुपमा नजिक रहेको उल्लेख गर्दै कनेक्टिभिटी बढाएर सम्बन्ध बलियो बनाउनुपर्ने धारणा राखे ।

संघका उपाध्यक्ष सुरेशमान श्रेष्ठले द्विपक्षीय व्यापार, पर्यटन, कृषि, धार्मिक पर्यटनलगायत सम्बन्ध विस्तारले जनता–जनताबीच समेत सम्बन्ध विस्तार हुने धारणा व्यक्त गरे । भियतनामसँग कृषि क्षेत्रमा हातेमालो गरेर र बुद्ध धर्मालम्बीलाई बुद्धको जन्मभूमि भित्र्याएर नेपालले लाभ लिनसक्ने उनको भनाइ छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको