Like us!
Follow us!
Connect us!
Watch us!

बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध विभिन्न ३५ संघ/संस्थाद्धारा फागुन ५ गतेदेखि संयुक्त आन्दोलनको घोषणा

अर्थ संसार

आइतबार, २९ माघ २०७९, १४ : ०८ मा प्रकाशित

बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध विभिन्न ३५ संघ/संस्थाद्धारा फागुन ५ गतेदेखि संयुक्त आन्दोलनको घोषणा

नेपाल राष्ट्रिय व्यवसायीलगायत विभिन्न ३५ संघ/संस्थाहरुले बैंक तथा वित्तीय संस्थाहरुको ज्यादतीविरूद्ध संयुक्त आन्दोलनको घोषणा गरेका छन् ।  आज (आइतबार) रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलन गरी उनीहरुले आन्दोलनको घोषणा गरेका हुन् ।

‘अर्थतन्त्रको मुख्य मेरुदण्डको रूपमा रहेका व्यसायीहरु आफ्नो पेसाबाट पलायन हुने अवस्था आउनुमा बैंक तथा वित्तीय क्षेत्रको अव्यवहारिक गलत नीति, नीजि स्वार्थ, सरकारले दीर्घकालीन उत्पादनमुखी अर्थतन्त्रमा प्राथमिकता नदिनुमा राजनीतिक र गैरजिम्मेवार शैली मुख्य हो । व्यवसायी आत्महत्याको बाटो रोज्न बाध्य भएका छन् । यसतर्फ सम्बन्धित निकायको ध्यान जाओस्,’ पत्रकार सम्मेलनका सार्वजनिक गरिएको संयुक्त विज्ञप्तिमा भनिएको छ । 

बैंकिङ व्याजदर एक प्रतिशत कार्यम गराउनु पर्ने, व्यवसायीलाई आर्थिक राहतको व्यवस्थापन गर्नुपर्ने, सेवा शुल्क घटाउनु पर्ने लगायतका माग महासंघले राखेको छ । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठले भूकम्प, कोरोना महामारीलगायतका प्राकृतिक विपत्तिका कारण देशको अर्थतन्त्र धरासायी बनेको बेला त्यसको प्रत्यक्ष मारमा साना व्यवसायी परेको बताए । बैंक तथा वित्तीय संस्थाको गलत नीतिका कारण व्यवसायीहरुले आत्महत्याको बाटो अवलम्बन गर्ने अवस्था आएको उनको भनाई छ । 

नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौलाले पछिल्लो अवस्थामा बैकहरु फाइदामा लगानीकर्ता घाटामा भएको बताए । कोभिडदेखि यातायात व्यवसाय अस्तव्यस्त भएको उनको भनाइ छ । अहिले सबैको पेशा व्यवसाय बामे सरिरहेको अवस्थामा बैंक तथा वित्तीय संस्थाको मारमा पारेको उनको आरोप छ ।

 ‘सुरुवातमा बैक तथा वित्तीय संस्थाबाट हामीले जतिमा बैंक ऋणीको सहमतिमा हामीले लोन लिएका हुन्छौं । सो लोन आज ऋणीलाई पनि नसोधी बैंक तथा वित्तीय संस्थाले १८ प्रतिशतदेखि २२ प्रतिशतसम्म पुर्याएका छन् । यो कहाँको दादागिरी हो ? यसैका लागि सरकारलाई हामीले बुलन्द ढंगबाट अनुरोध गरिरहेका छौं । हामी अन्यायमा परेका छौं,’ उनले भने । 

यातायात क्षेत्रले प्रत्यक्ष रूपमा ११ लाख जनशक्तिलाई रोजगार दिइरहेको स्मरण गर्दै उनले अहिले उक्त व्यवसाय धरापमा रहेको बताए । भारतबाट नेपाल छिरेका मालवाहक सवारीसाधन ओभरलोड बोकेर काठमाडौंदेखि पूर्व पश्चिम गइरहेको बेलामा नेपालका नेपालका यातायात व्यवसायी चाहीँ काम नगरी बस्ने दिन आएको उनको भनाई छ । यातायात क्षेत्रका व्यवसायी लिलामको लाइनमा रहेको उनको भनाइ छ । गरिखान देऊ भन्दा पनि व्यवसायीको गुनासो सरकारले नसुनेको उनको आरोप छ । नेपालका घाटा नभएको व्यवसायमा बैंक र इन्सुरेन्स रहेको र केही व्यक्तिले देशको सिंगो अर्थतन्त्रलाई मुठ्ठीमा राखेको उनको आरोप छ । 

नेपाल कपडा तथा सिलाई व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष रामकृष्ण श्रेष्ठले सरकारले अहिले हरेक क्षेत्रका व्यवसायीमाथि परेको पीडालाई बुझ्नुपर्ने बताए । सझौंला र साना व्यवसायी कोरोना महामारीको मारबाट माथि उठ्न नसकिरहेको बेलामा बैक तथा वित्तीय संस्थाले एकतर्फीरुपमा व्याजदर बढाएको उनको आरोप छ । 

‘मझौला र साना खाल्का उद्यमी व्यवसायीहरु जसले बैंकको सर्पोटबाट आफ्नो उद्यम सञ्चालन गरिरहनु भएको छ । कोभिड–१९ पछाडि देशको अर्थतन्त्र धराशायी भएको छ । अर्थतन्त्र धराशयी भएको सन्दर्भमा व्यवसायीले आफ्नो व्यवसायलाई पुनर्जीवन दिन नसकिरहेको अवस्थामा बैकले एकतर्फी रुपमा विना छलफल, आवश्यकता पनि नभएको बेलामा व्याजदर बढाएको छ । जसको मारका लाखौं लाख व्यवसायी परेका छन,’उनले भने । व्यवसायीलाई धरासायी बनाएको अवस्थामा देशका जनशक्ति विदेशिने अवस्था आएको उनको भनाई छ । 

ग्रिल तथा स्टिल व्यवसायी महासंघ नेपालका अध्यक्ष मोहन कटुवालले देशमा रोजगारी सिर्जना गर्ने र राज्यलाई राजस्व बुझाउने श्रेत्र साना व्यवसायी भएको उनको दाबी छ । कोभिडको महामारीबाट तङ्ग्रिन नपाउँदै सरकारको अदूरदर्शी नीतिका कारण व्यवसायी मारमा परेको उनले बताए । आफूहरुले आठ प्रतिशतमा लिएको ऋण बैंक तथा वित्तीय संस्थाले दोब्बर बनाउँदा पनि सरकार मौन बसेको उनको आरोप छ । बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण कयौं उद्योग बन्द हुने अवस्थामा रहेको भन्दै उनले बैंक तथा वित्तीय संस्थाबीच सहज वातावरण बनाइदिन सरकारसँग आग्रह गरे ।

‘कसैले नियतवश बैंकलाई व्याज नतिर्ने, बैकलाई धरासायी बनाउने नियत राखे कारबाही गर्नुस् । एउटा ठूलो उद्योगले लिएको ऋणले सय वटा उद्योगलाई दिन पुग्छ । साना उद्योगलाई प्रवद्र्धन गर्न सरकारले कदम चाल्नैपर्छ । यस्तो कठिन अवस्थामा पनि बैंक तथा वित्तीय संस्थाको नाफा कयौं गुणा छ । यस्तो अवस्थामा बैंक तथा वित्तीय संस्थाको समाजिक उत्तरदायित्व पनि हुन्छ । हामीलाई सडकमा आउने वातावरण नबनाइयोस्,’–उनले भने । 

नेपाल मोबाईल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई अहिलेका युवा पुस्तालाई यो देशमा गरिखाने वातावरण नभएको बताए । आफूहरुले अहिले कमाउनका लागि भन्दापनि बाँच्नका लागि संघर्ष गरिरहेको उनको भनाई छ । आफूहरु नयाँ प्रविधि भित्र्याउन लागिपरेपनि सरकारले यसतर्फ ध्यान दिन नचाहेकोे भन्दै युवालाई गरिखाने वातावरण बनाइदिन उनले सरकारसँग आग्रह गरे । 
नेपाल निर्माण व्यवसायी महासंघ काठमाडौंका अध्यक्ष अच्युतम् कटुवालले बैंक तथा वित्तीय संस्थाको चर्को व्याजदरका कारण सम्पूर्ण व्यवसायीहरु प्रेम आचार्य हुने अवस्था आएको बताएका छन् । 

‘अहिले व्यपार व्यवसायहरु बन्द गर्नुपर्ने स्थिति छ । हामी सबै व्यवसायी साथीहरुलाई प्रेम आचार्य हुनलाई त्यति गार्हो नहोला भन्न सकिन्न । हामी सम्पूर्ण प्रेम आचार्य हुनसक्छौं । त्यो कारण बैंकको चर्को व्याज हो,’ उनले भने । बैंकको चर्को व्याजको ज्यादती विरुद्ध आन्दोलनमा उत्रनुको कुनै विकल्प नभएको उनको भनाइ छ । व्यसायी पीडामा छटपटाइरहेको बेला सरकार कानमा तेल हालेर बसेको उनको आरोप छ । व्यापारीलाई सडकमा आउने स्थितिको निर्माण सरकार स्वयंले गरेको उनको दाबी छ । सरकार व्यवसायीको सम्बन्ध नङ र मासुको जस्तो भएको बताउँदै उनले सरकारले व्यसायीका लागि सहज वातावरण बनाउन पर्ने उनको भनाइ छ । 

नेपाल राष्ट्रिय व्यवसायी महासंघका केन्द्रीय अध्यक्ष कुमार कार्कीले कोभिड–१९ को मारमा परेका व्यसायीको संरक्षण गर्नुको सट्टा बैंक तथा वित्तीय संस्थाले चर्को रुपामा व्याजदर बढाउँदा र लिलामी निकाल्दा पनि सरकार मौन बसेको आरोप लगाए । बैंक तथा वित्तीय संस्थाबाट व्यसायीलाई अत्याउने र धम्क्याउने काम भएको उनले बताए । 

‘हामीलाई अत्याउने, धम्क्याउने काम भएको छ । पत्रिकामा फोटो निकालिदिउँ भनेर बैंक तथा वित्तीय संस्थाबाट धम्की आउने गरेको छ । दुई लाख लोन लिएका व्यवसायीले दश लाखको जग्गा जमिन छोड्ने अवस्था आएको छ । सुकुम्बासी समस्या समाधानका लागि सरकारले करोडौं खर्च गरिरहेको छ । तर, बैंक तथा वित्तीय संस्थाले आज व्यसायीलाई सुकुम्बासी बनाउँदै छन् । यो कहाँको न्याय हो,’ उनले प्रश्न गरे । व्यवसायीहरुको माग सम्बोधन गरेको खण्डमा सरकारले ठूलो मूल्य चुकाउनु पर्ने उनको दाबी छ । बैंक तथा वित्तीय संस्था नव सामन्त भएर उदाएको उनको आरोप छ । 

संयुक्त पत्रकार सम्मेलनका संयोजक नरेश कटुवालले मुलुकको अर्थतन्त्र जोगाउनका लागि देशभरबाट नयाँ आन्दोलनको जमर्को सुरु भएको बताए । उद्योग र व्यसायभित्र सिण्डिकेट रहेको उनको आरोप छ । मुलुकको अर्थतन्त्रमा प्रभाव पार्नसक्ने नेपालको थोरै व्यक्ति रहेको र तिनीहरु पनि नेपाली मूलको नभएको बताए । 

बैंक तथा वित्तीय संस्थाको चर्को व्याजका विरुद्धमा आगामी फागुन पाँच गते माइतीघर मण्डलामा विरोध प्रदर्शनको कार्यक्रम रहेको पनि उनले बताए । फागुन पाँच गतेसम्म पनि सरकारले आफ्ना माग सम्बोधन नगरे व्यसायीले बैंकिङ कारोबार बन्द गर्ने उनको चेतावनी छ । साथै, व्यवसायीले सरकारलाई आफ्ना अद्योगका ताला चाबी सरकारलाई जिम्मा लगाउने उनको भनाई छ । सरकारको व्यवहारले व्यवसायीलाई कही प्रेम आचार्य त बनाउन लागेको होइन भन्ने आशंका उब्जाएको उनको भनाइ छ ।

‘हामी (फागुन ५ गते) शान्तिपूर्ण ढंगले बानेश्वरमा गएर आन्दोलन गर्छौं । यसमा देशभरका संगठनको सहभागिता हुन्छ । त्यो दिनसम्म सरकार तथा सरोकारवाला निकायले हाम्रो माग सम्बोधन नगरे हामी बैंक तथा वित्तीय संस्थासँगको कारोबार बन्द गर्छौं  । नेपाल राष्ट्र बैंकले यसको ग्यारेन्टी लिनपर्छ । हामी आन्तरिक रुपमा काम गरेर बैंकहरुसँगको कारोबार बन्द गरिदिन्छौं । हाम्रो उद्योग, व्यपार व्यवसाय स्थलमा रहेको सम्पूर्ण चाबी र ताला नेपाल सरकारलाई लगेर हामी बुझाउँछौं । कही प्रेम आचार्य त बनाउन लागिएको हैन हामीलाई ?,’उनले प्रश्न गरे । 

व्यवसायीहरुको पीडालाई संसद्मा बहस चलाउन पनि उनले सांसदहरुसँग आग्रह गरे । अहिलेकै अवस्था कायमै रहे हजारौं व्यवसायीले आत्महत्या गरेको हेर्न तयार हुन पनि उनले सरोकारवाला निकायलाई चेतावनी दिएका छन् । हजारौं समयस्याका बीचमा संघर्ष गरिरहेको व्यसायीलाई काम गर्ने सहज वातावरण बनाइदिन आग्रह गरेका छन् । 

कार्यक्रममा नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघका केन्द्रीय वरिष्ठ उपाध्यक्ष सरोज सिटौला, सार्वजनिक यातायात केन्द्रीय महासंघ नेपालका कोषाध्यक्ष धर्मराज रिमाल, नेपाल मोबाइल व्यवसायी महासंघका अध्यक्ष भरत भट्टराई, नेपाल राष्ट्रिय व्यवसायी महासंघका वरिष्ठ उपाध्यक्ष मनोजबाबु श्रेष्ठलगायतको उपस्थिति रहेको थियो । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको