Like us!
Follow us!
Connect us!
Watch us!

चालक अनुमतिपत्रमा नयाँ प्रणाली लागूः प्रयोगात्मक परीक्षामा ७० प्रतिशत भए पुग्ने

पत्रपत्रिका

बुधबार, ०३ फागुन २०७९, ०६ : ५१ मा प्रकाशित

चालक अनुमतिपत्रमा नयाँ प्रणाली लागूः प्रयोगात्मक परीक्षामा ७० प्रतिशत भए पुग्ने

बागमती प्रदेशमा सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ अङ्क भार प्रणाली कार्यान्वयनमा आएको छ। प्रदेशको श्रम, रोजगार तथा यातायात मन्त्रालय र  मुख्यमन्त्री कार्यालयबीच लामो समयदेखिको विवादका कारण रोकिएको सवारीचालक अनुमतिपत्र (लाइसेन्स)को प्रयोगात्मक परीक्षा (ट्रायल) ७० प्रतिशत अङ्क ल्याए पुग्ने प्रणाली मङ्गलबारबाट कार्यान्वयनमा आएको हो।

यसअघि मन्त्रालयले गत असोज, मङ्सिर र पछिल्लो पटक गत पुस २० गतेबाट गरी तीन पटकसम्म लाइसेन्सको ट्रायलमा नयाँ अङ्क भार प्रणाली अर्थात् ७० प्रतिशत अङ्क भारको नयाँ नियम लागू गर्न निर्णय गरी कार्यान्वयन गर्ने अन्तिम चरणमा पुगेको अवस्थामा मुख्यमन्त्री कार्यालयको निर्देशनमा रोकिँदै आएको थियो।

पछिल्लो पटक मुख्यमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयले उक्त प्रणालीको उपयोगिता र कसरी लागू गर्ने सुझावसहित प्रतिवेदन पेस गर्न मन्त्रालयका सचिवको संयोजकत्वमा चार सदस्यीय समिति गठन गर्न निर्देशन दिएपछि समितिको सुझावअनुसार नयाँ प्रणाली कार्यान्वयनमा ल्याइएको मन्त्रालयले जनाएको छ। मन्त्रालयका प्रवक्ता हरिहर पोख्रेलले समितिले नयाँ प्रणाली फागुन १ गतेबाटै लागू गर्ने निर्णय भएकोमा सार्वजनिक बिदाका कारण मङ्गलबारबाट कार्यान्वयनमा आएको जानकारी दिए । 

उहाँले भन्नुभयो, “सवारीचालक अनुमतिपत्र प्राप्त गर्नका लागि प्रयोगात्मक परीक्षामा ७० प्रतिशत ल्याए उत्तीर्ण हुने व्यवस्था लागू गर्न मन्त्री र मुख्यमन्त्री दुवै सकारात्मक भएपछि कार्यान्वयन सम्भव भएको हो।” लाइसेन्सको प्रयोगात्मक परीक्षामा नयाँ प्रणाली कार्यान्वयन पटक–पटक रोकिएपछि प्रदेशका तत्कालीन श्रम, रोजगार तथा यातायातमन्त्री घनश्याम दाहालले मुख्यमन्त्री कार्यालयको निर्णयप्रति असन्तुष्टि जनाएका थिए । 

सवारीचालक अनुमतिपत्रको प्रयोगात्मक परीक्षामा नयाँ प्रणाली लागू गर्ने विषयमा तत्कालीन श्रम, रोजगार तथा यातायातमन्त्री दाहाल र मुख्यमन्त्री राजेन्द्रप्रसाद पाण्डेबीच विवादसमेत देखिएको थियो। प्रवक्ता पोख्रेलले मन्त्रालयले मोटरसाइकल, स्कुटर र कारमा प्रयोगात्मक परीक्षा (ट्रायल)मा नयाँ अङ्क भार प्रणाली लागू गर्ने र अन्य सवारीसाधनका हकमा पुरानै प्रणाली लागू हुने बताए । गाेरखापत्र दैनिकमा समाचार छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको