प्रधानमन्त्री तथा नेकपा (माओवादी केन्द्र) का अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड निर्वाचनअघिको गठबन्धनलाई सक्रिय बनाउन लागेका छन्। राष्ट्रपतिको निर्वाचन नजिकिएसँगै दाहाल पूरानै गठबन्धन लाई सक्रिय बनाउन लागेका हुन् । त्यसको लागि उनले आजै साँझ कांग्रेस सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव र नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालसँग भेटवार्ता गर्ने तयारी गरेका छन् ।
हिजोमात्रै दाहालले शेरबहादुर देउवा, माधव कुमार नेपाल र उपेन्द्र यादवसँग छुट्टाछुट्टै भेटवार्ता गरिसकेका छन् । साँझ कांग्रेस सभापति देउवासहित नेताहरु गगन कुमार थापा, रामचन्द्र पौडेल, कृष्णप्रसाद सिटौला र पूर्णबहादुर खड्कासँग पनि प्रचण्डले सामूहिक भेटवार्ता गरेका थिए । उक्त भेटवार्तामा राष्ट्रपतिको निर्वाचनबारे छलफल भएको थियो ।
कांग्रेस नेताहरुले राष्ट्रपतिमा आफूहरुले उठाउने उम्मेदवारलाई समर्थन गर्न आग्रह गरेका थिए । प्रधानमन्त्री दाहालले कांग्रेसको प्रस्तावलाई सकारात्मक रुपमा लिएको भन्दै आज पदाधिकारी बैठकमार्फत छलफल चलाउने वचन दिएका छन् । पुष १० गते सरकारको नेतृत्वको लागि दाबी गर्न शितलनिवास जानुअघि एमाले अध्यक्ष केपी शर्मा ओलीको निवासमा भएको सहमतिअनुसार राष्ट्रपति एमालेले पाउने भनिएको छ ।
तर, माओवादी केन्द्रका नेताहरुले भने त्यस्तो सहमति नभएको दाबी गर्दै आएका छन् । सभामुख भने एमालेबाट देवराज घिमिरे निर्वाचित भैसकेका छन् । अढाई वर्षपछि ओली प्रधानमन्त्री बन्ने सहमति छ । अहिले राष्ट्रपतिपनि एमालेले पाउँदा शक्ति सन्तुलनमा एमाले हाबी हुने भय दाहालमा छ । प्रचण्ड कुनैपनि हालतमा एमालेलाई राष्ट्रपति दिने पक्षमा छैनन् । उनले आजै साँझबाट पूरानो गठबन्धन ब्युँताउने तयारी गरेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस