प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले आज सोमबार प्रतिनिधि सभामा विश्वासको मत लिँदै छन्। सत्तारूढ दलको गठबन्धन राष्ट्रपति तथा उपराष्ट्रपति चुनावबाट विभाजित भएसँगै नियुक्त भएको अढाई महिनामै प्रधानमन्त्री प्रचण्डले दोस्रो पटक विश्वासको मत लिन लागेका हुन् ।
गठबन्धन टुटेपछि नेकपा (एमाले) र राष्ट्रिय प्रजातन्त्र पार्टीले सरकारलाई दिएको समर्थन फिर्ता लिँदै सरकारबाट बाहिरिएको थियो। प्रधानमन्त्रीलाई चैत १२ गतेसम्ममा विश्वासको मत लिनुपर्ने संवैधानिक बाध्यता छ । सरकारमा सहभागी दलले समर्थन फिर्ता लिएमा ३० दिनभित्र विश्वासको मत लिनुपर्ने संवैधानिक व्यवस्था छ।
प्रधानमन्त्रीलाई आफ्नो दल नेकपा (माओवादी केन्द्र)सँगै यो पटक नेपाली कांग्रेस, राष्ट्रिय स्वतन्त्र पार्टी, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी, जनमत पार्टी, लोकतान्त्रिक समाजवादी पार्टी (लोसपा), नागरिक उन्मुक्ति पार्टी, राष्ट्रिय जनमोर्चालगायतको समर्थन छ। कुल २७५ सदस्यीय प्रतिनिधि सभाको बहुमतसहित प्रधानमन्त्री प्रचण्डले विश्वासको मत पाउनुहुने छ। विश्वासको मतका लागि प्रधानमन्त्रीलाई १३८ सांसद आवश्यक पर्नेछ।
सरकारको नेतृत्व गरिरहेको माओवादी केन्द्रको प्रतिनिधि सभामा ३२ सिट छ। यस्तै कांग्रेसको ८९ सिट भए पनि एक जनाको मताधिकार छैन। राष्ट्रिय स्वतन्त्र पार्टीको २०, जसपा १२, एकीकृत समाजवादी १०, जनमत पार्टी छ, लोसपा चार, नागरिक उन्मुक्तिको तीन सिट छ। यस्तै जनमोर्चाको एक सिट प्रतिनिधि सभामा छ। वर्तमान गठबन्धनको मतअनुसार प्रधानमन्त्री प्रचण्डलाई बहुमतका लागि सहज अवस्था छ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस