Like us!
Follow us!
Connect us!
Watch us!

सबस्टेसनको उद्घाटन गर्दै कुलमानले भने- ‘दुई वर्षभित्र सबै नेपालीको घरमा बिजुली पुग्छ’

अर्थ संसार

मंगलबार, ०७ चैत्र २०७९, ११ : ३५ मा प्रकाशित

सबस्टेसनको उद्घाटन गर्दै कुलमानले भने- ‘दुई वर्षभित्र सबै नेपालीको घरमा बिजुली पुग्छ’

नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले करिब दुई वर्षभित्र सबै नेपालीको घरघरमा राष्ट्रिय प्रसारण लाइनको विद्युत् पहुँच पुर्‍याउने बताएका छन् ।  तनहुँको बन्दिपुर गाउँपालिका–६ स्थित ३३/११ केभीको सराङघाट सबस्टेसनको आज (सोमबार) उद्घाटन गर्दै उनले नेपाललाई उज्यालो बनाउने हिसावमा काम भइरहेको बताएका हुन् ।  कार्यकारी निर्देशक कुलमान घिसिङ र एसियाली विकास बैंक (एडिबी) नेपाल आवासीय  नियोगका प्रमुख आर्नो कुश्वाले संयुक्त रुपमा सोमबार सबस्टेसनको उद्घाटन गरेका हुन् ।

उद्घाटन गर्दै उनले भने, ‘सबै नेपालीको घरमा विद्युत् पुर्‍याउने सरकारको लक्ष्यलाई पूरा गर्न विद्युतीकरणको अन्तिम माइलको यात्रामा छौं, यसका लागि अधिकांश ठेक्का सम्झौता सम्पन्न भइसकेका छन्। योसँगै विद्युत् पुगेका ठाउँमा आपूर्तिलाई भरपर्दो र गुणस्तरीय बनाउन प्रणाली सुधारमा व्यापक काम गरिरहेका छौं ।’

एसियाली विकास बैंक (एडीबी) नेपाल आवासीय नियोगका प्रमुख आर्नो कुश्वाले नेपालले पछिल्लो एक दशकमा विद्युतीकरणमा उल्लेख्य प्रगति हासिल गरेको बताए । उनले भने, ‘विश्वको विद्युत् पहुँचको वार्षिक वृद्धिदर औसतमा ०.८ प्रतिशत रहेकोमा यसको तुलनामा नेपालको धेरै तीव्रदर अर्थात ४.३ प्रतिशत रहेको छ, विद्युत् प्राधिकरणको नेतृत्वमा भइरहेको यो कामको हामी प्रशंसा गर्दछौं ।’ 

उनले नेपालको पूर्वाधार क्षेत्रमा एडीबीको लगानी निरन्तर रहने समेत जानकारी गराए । नेपाल विद्युत् प्राधिकरणको सहायक कम्पनी तनहुँ हाइड्रोपावरले निर्माण गरिरहेको १४० मेगावाटको तनहुँ जलविद्युत आयोजनाको सामाजिक विकास कार्यक्रमअन्तर्गत सराङघाट सबस्टेसन निर्माण गरिएको तनहुँ जलविद्युत् आयोजनाका प्रमुख राजाभाइ सिल्पकारले बताए । 

प्राधिकरणको आयोजना व्यवस्थापन निर्देशनालयमार्फत कार्यान्वयन भएको ‘तनहुँ ग्रामीण विद्युतीकरण तथा वितरण सञ्जाल सुधार आयोजना’ मार्फत निर्माण गरिएको प्रसारण लाइन र सबस्टेसन निर्माण सम्पन्न गरी केही दिन अगाडि सञ्चालनमा ल्याइएको थियो ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको