Like us!
Follow us!
Connect us!
Watch us!

जनमत पार्टी प्रवेश गरेका नेता कुशवाहाले भने, ‘बारा–२ मा उपेन्द्रलाई हराएरै छाड्छु’

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, १३ : २६ मा प्रकाशित

जनमत पार्टी प्रवेश गरेका नेता कुशवाहाले भने, ‘बारा–२ मा उपेन्द्रलाई हराएरै छाड्छु’

नेकपा (माओवादी केन्द्र) का नेता शिवचन्द्र कुशवाहा जनमत पार्टीमा प्रवेश गरेका छन् । आज (बुधबार) रिपोर्टर्स क्लब नेपालमा आयोजित पत्रकार सम्मेलनमार्फत कुशवाहालाई जनमत पार्टीका अध्यक्ष डा. सिके राउतले पार्टीमा स्वागत गरेका हुन् । माओवादी केन्द्रभित्र भएको अन्तरघातको कारणले आफूले थोरै मतले गत मंसिर ४ गते सम्पन्न निर्वाचनमा हार व्यहोरेको उनको भनाई थियो ।

आगामी बैशाख १० गते हुने उपनिर्वाचनमा बारा–२ मा माओवादीले आफ्नो पार्टीबाट उम्मेदवार नउठाएर जनता समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवलाई समर्थन गर्ने निर्णय गरेपछि आफू पार्टी परित्याग गर्न बाध्य भएको उनको स्पष्टोक्ति छ । ‘पार्टीभित्र जनतलाई अधिकार र जनवाद दिने कुरा जति भयो, त्यत्तिनै गुट र अन्तरघात भयो । त्यो अन्तरघातकै कारण मैले त्यहाँ चुनाव जित्न सकिनँ,’– उनले भने ।

जनमत पार्टीका अध्यक्ष चन्द्रकान्त राउत मधेशी जनताको मुक्तिका लागि नयाँ विचारसहित उदाएको उनको भनाई छ । सिके राउतको सम्मानस्वरुप उनलाई सप्तरीका जनताले विजयी गराएको उनले बताए । जनताले सप्तरीबाट हराएर पठाएका उपेन्द्रलाई बारा–२ बाट हराउनका लागि आफू जनमत पार्टीमा प्रवेश गरेको उनले बताए ।

 ‘सिके राउतजी मधेशको मुक्तिका लागि नयाँ विचारसहित आइसकेपछि सप्तरीका जनताले उहाँलाई सम्मान गर्नुभयो र उपेन्द्र यादव पराजित हुनुभयो । अहिले फेरि बारा–२ मा उपनिर्वाचन हुँदैछ । त्यहाँका जनताको भावनाविपरित सत्ताबिना बाँच्नै नसक्ने उहाँको व्यवहार हामीले देखेका छौं । त्यसको सामनामात्रै होइन, त्यहाँबाट हराएर पठाउनका लागि म जनमत पार्टीमा प्रवेश गरेको छु,’– उनले भने । माओवादीमा आफूमाथि षड्यन्त्र भएको उनले बताए । जनताको भावनाविपरित आफूलाई निर्वाचनमा सहभागी हुनबाट बञ्चित गराउन खोजिएको उनले बताए । उनले आफू स्वतन्त्र उम्मेदवारी दिने निर्णयमा पुगेपनि जनताको चाहना र आग्रहअनुसार जनमत पार्टीमा प्रवेश गरेको स्पष्ट पारे । 

‘पार्टीभित्र ममाथि षड्यन्त्र र जालझेल भयो । हामीजस्तो क्षमतावानको कदर नगरेर हाम्रो पार्टीले अहिले उपेन्द्र यादवजीलाई नै समर्थन गरेर मलाई चुनावबाट बञ्चित गर्न खोजेको थियो, जनताको भावनापनि बञ्चित गरिएको छ । मैले स्वतन्त्रबाट लड्न खोजेको थिएँ तर, सो क्षेत्रका जनताले स्वतन्त्रबाट नलड्नु, कुनै पार्टी समात्नुस भनेपछि मैले जनताको भावनाअनुरुप जनमत पार्टी रोजें,’– उनले भने । 

साथै, अहिलेको लडाई कुनै क्षेत्रको नभएर विचारको भएको उनको दाबी छ । उनले सबै सञ्चारकर्मीलाई यस लडाईमा साथ र सहयोग गर्नका लागि अपिलसमेत गरेका छन् । ‘यो लडाई कुनै क्षेत्रको होइन, विचारको लडाई हो । उपेन्द्रजी जुन विचार लिएर बारा–२ का जनताको भावनाविपरित आउनुभएको छ । जनताले उहाँलाई हराएर पठाउँछन् । हामी हराउँछौं,’–उनले भने । 
 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको