Like us!
Follow us!
Connect us!
Watch us!

अहिले सेयर बेच्ने बेला होईन होल्ड गर्ने बेला हो, पूँजी बजारमा छिट्टै रौनकता आउँछ : रमेश हमाल

अर्थ संसार

बुधबार, १५ चैत्र २०७९, २० : ३१ मा प्रकाशित

नेपाल धितोपत्र बोर्डका अध्यक्ष रमेश कुमार हमालले अहिलेको समय आत्तिएर सेयर बेच्ने नभएको बताएका छन्। अर्थतन्त्र सुधारको बाटोमा गईरहेकाले पूँजी बजारमा छिट्टै रौनकता आउने भन्दै अहिलेको अवस्थामा सेयर होल्ड गर्नु नै सबैभन्दा उत्तम विकल्प भएकाले आत्तिएर सेयर नबेच्न उनले सुझाएका हुन्। लगानीकर्ताका संगठनहरुले संयुक्त रुपमा आयोजना गरेको अन्तर्कृया कार्यक्रममा बोल्दै हमालले धेरै आत्तिएको बेला र धेरै खुसी भएको बेला लिईने निर्णयहरु प्राय: गलत हुने हुँदा धेरै सोच विचार गरेर मात्रै सेयर खरिद बिक्रिको निर्णय लिनुपर्ने बताएका हुन्।  

लगानीकर्ता संगठनका नेताहरुले उठाएका विभिन्न प्रश्नहरुको जवाफ दिँदै हमालले पूँजीबजारको विस्तार र सुधारका लागि आफू लागिपरेको बताए। ब्रोकर कमिसनले ढाड सेकाएको भन्दै ब्रोकर कमिसन घटाउनुपर्ने कुरामा लगानीकर्ताहरुले जोड दिएका थिए। सो विषयमा आवश्यकता अनुसार उचित समयमा उचित निर्णय लिईने जवाफ हमालले दिए। त्यस्तै नयाँ स्टक एक्सचेन्ज र ब्रोकर लाइसेन्सका विरुद्ध परेको मुद्धामा पनि छिट्टै फैसला हुने र फैसला आफ्नो पक्षमा हुने विश्वाश उनले व्यक्त गरे। पहिले बजार उचाईमा हुँदा लगानीका लागि जोखिमयुक्त भन्दै धितोपत्र बोर्डले ५१ वटा कम्पनीहरुको सूची नै सार्वजनिक गर्नु हुने, अहिले बजार घटेर पिँधमा आईपुग्दा चाहिँ लगानीकर्ताको मनोबल उकास्ने खालको एउटा विज्ञप्ति समेत निकाल्न किन कन्जुस्याई भन्ने प्रश्नको जवाफमा उतिबेला जे भयो त्यो गलत भएको र धितोपत्र बोर्डको काम लगानीकर्ताहरुलाई अब खरिद गर्ने बेला भयो वा अब जोखिम बढ्यो बिक्रि गर भन्ने भन्दा पनि बजारमा फेयर हिसाबमा कारोबार हुने वातावरण मिलाउने र फेयर प्ले भएको छ कि छैन हेर्ने /नियमन गर्ने भएकाले अब बजार तल्लो बिन्दुमा आईसक्यो किन्न सुरु गर्नु जस्ता आशयका कुराहरु बोर्डबाट नआउने समेत बताए।  

नेपालको पूँजीबजारमा गर्नुपर्ने थुप्रै कामहरु रहेको र त्यसका लागि नेपाल स्टक एक्सचेन्ज असक्षम रहेको उनले बताए। 'शर्ट सेलिङ्ग, इन्ट्रा डे सुरु गरिहाल्नुपर्छ भन्ने मलाइ पनि थाहा छ, त्यस्तो लाग्छ र त्यसका लागि प्रयास पनि गरेको हो तर के गर्नु हामीसंग गतिलो एक्सचेन्ज नै भएन' भन्दै त्यसैले निजि क्षेत्रको स्टक एक्सचेन्जको आवश्यकता महसुस भएको उनले बताए। सरकारी काम नेपालमा मात्र होइन विश्वमै राम्ररी नहुने झन् नेपालको अवस्था त दयनिय भएकाले निजि क्षेत्रबाट एउटा स्टक एक्सचेन्ज आयो भने नेप्सेलाई पनि आफूलाई अपग्रेड गर्नुपर्ने बाध्यता हुने उनी बताउँछन्। 

लगानीकर्ताहरुलाई जति बजारको सुधार प्रति हुटहुटि छ त्यो भन्दा बढी आफूलाई भएको बताउँदै अब आफ्नो कार्यकाल ११ महिना मात्रै बाँकी रहेकाले आफ्नो कार्यकाललाई स्मरणीय बनाउन कुनै कसर बाँकी नराख्ने हमालले बताए। 'म पहिला पनि दिनमा १५/१६ घण्टा काम गर्थे, अहिले पनि १३/१४ घण्टा गर्छु। ११ महिनाको अवधि मेरा लागि धेरै हो। मैले गर्नुपर्ने धेरै देखेको छु र म गरेरै छाड्छु' भन्दै हमालले धितोपत्र बोर्ड सँधै लगानीकर्ताको हकहितको पक्षमा उभिने भन्दै लगानीकर्ताहरुलाई विश्वस्त हुन समेत आह्वान गरे।  

हमालको भनाई भिडियोमा 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp hamropatro

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको