Like us!
Follow us!
Connect us!
Watch us!

४० अर्ब बढ्यो विनोद चौधरीको सम्पत्ति

पत्रपत्रिका

विहीबार, २३ चैत्र २०७९, ०७ : २१ मा प्रकाशित

४० अर्ब बढ्यो विनोद चौधरीको सम्पत्ति

विश्वका अर्बपतिहरूको सम्पत्ति घटिरहेका बेला नेपालका एक मात्र खर्बपति विनोद चौधरीको भने सम्पत्ति बढेको छ । फोब्र्सले सार्वजनिक गरेको सन् २०२३ का विश्वका अर्बपतिहरूको समग्र सम्पत्ति मूल्य ५ खर्ब डलर (५ सय बिलियन) घटेको छ भने चौधरीको सम्पत्ति बढेको छ ।

फोब्र्सका अनुसार अर्बपतिहरूको सम्पत्ति अहिले १ सय २२ खर्ब डलर (१२ दशमलव २ ट्रिलियन) भएको छ । सन् २०२२ मार्चको तुलनामा अहिले यी अर्बपतिहरूको समग्र सम्पत्ति ५ खर्ब डलरले घटेको छ ।

अर्बपतिको सूचीमा पहिलो नम्बरमा फ्रान्सका बेर्नार्ड अर्नोल्ट परेका छन् । लुइस भ्यूटन तथा सेफोसहित विभिन्न ७५ कस्मेटिक ब्रान्डका ७४ वर्षे मालिक बेर्नार्डको समग्र सम्पत्ति भने बढेको छ ।

विश्वका दोस्रो धनी व्यक्तिका रूपमा रहेका टेस्ला कम्पनी र ट्वीटरका मालिक एलन मस्कसहित आधा संख्याका अर्बपतिको सम्पत्ति पहिलेको तुलनामा घटेको छ । गत वर्ष पहिलो नम्बरमा रहेका मस्कको सम्पत्ति अहिले घटेर १ खर्ब ८० अर्ब डलर हाराहारीमा झरेको छ ।

त्यस्तै जेफ बेजोस, लरी इलिसन, वारेन बफेट, बिल गेट्स, माइकल ब्लुमबर्ग, कार्लोस स्लिम हेलू, मुकेस अम्बानी, स्टेभ बल्मेर अर्बपतिको सूचीमा शीर्ष १० नम्बरमा छन् । यीमध्ये मस्क, बेजोस, बफेट, गेट्स, अम्बानी र बल्मेरको सम्पत्ति मूल्य गत वर्षको तुलनामा घटेको छ

नेपालका विनोद चौधरी पनि अर्बपतिको १६४७औं स्थानमा परेका छन् । यसअघि गत वर्षको अप्रिल महिनासम्म उनी १९ सय ६५औं स्थानमा थिए । चौधरीको सम्पत्ति १ अर्ब ८० करोड डलरबराबर रहेको फोब्र्सको सूचीमा उल्लेख छ ।

सम्पत्तिको स्रोतमा विविध क्षेत्रहरूको आर्जनलाई उल्लेख गरेका चौधरी वाइवाइ चाउचाउको उत्पादक कम्पनीका मालिकका रूपमा पनि विश्वभर चिनिएका छन् । उनको कम्पनी सीजी कर्प ग्लोबलले विश्वभर हस्पिटालिटी तथा अन्य क्षेत्रमा आफ्नो लगानी विस्तार गरेको छ ।

६७ वर्षीय चौधरी सन् २०१३ मा पहिलोपटक फोब्र्सको डलर अर्बपतिको सूचीमा प्रवेश गरेका थिए । त्यसको ठीक १० वर्षपछि सन् २०२३ को सूचीमा अर्बपति विनोद चौधरी विश्वका अर्बपतिहरूको सूचीमा २८२औं स्थान माथि उक्लिएका छन् । चौधरी नेपालका एक मात्र डलर अर्बपति हुन् ।

यस वर्ष चौधरीको सम्पत्ति गत वर्षको तुलनामा ३० करोड अमेरिकी डलरले बढेको फोब्र्सले जनाएको छ । गत वर्ष उनको कुल सम्पत्ति १ दशमलव ५ अर्ब डलर थियो । सीजी ग्रुप ग्लोबल, नबिल बैंक, सीजी फुड्सलगायत विभिन्न कम्पनीसँग आबद्ध चौधरीको व्यापार नेपालसँगै भारत, बंगलादेश, पाकिस्तानलगायत देशमा फैलिएको छ । राजधानी दैनिकमा समाचार छ । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको