Like us!
Follow us!
Connect us!
Watch us!

रोशीका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित

अर्थ संसार

शुक्रबार, ०५ जेठ २०८०, १२ : ०४ मा प्रकाशित

रोशीका नागरिक स्वास्थ्य बीमाप्रति आकर्षित

रोशी गाउँपालिकाले ज्येष्ठ नागरिको निःशुल्क स्वास्थ्य बीमा अभियान सञ्चालन गरेपछि त्यहाँका नागरिकको स्वास्थ्य बीमातर्फ आकर्षण बढेको छ । उक्त गाउँपालिकाले यसै आर्थिक वर्षमा ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकसँगै परिवारका अन्य चार  सदस्यको शुल्क बेहोर्ने व्यवस्था गरेकाले स्वास्थ्य बीमा गर्नेको सङ्ख्या वृद्धि भएको हो ।

गाउँपालिकाका स्वास्थ्य शाखा प्रमुख गङ्गालाल श्रेष्ठका अनुसार २०७९ साउन महिनायता एक हजार चार सय ४० जनाले बीमा गरिसकेका छन् । “पालिकाले सञ्चालन गरेको स्वास्थ्य बीमा कार्यक्रमअन्तर्गत पहिलो चरणमा एक सय ९८, दोस्रो चरणमा चार सय ३६ र तेस्रो चरणमा आठ सय छ जना स्वास्थ्य बीमा कार्यक्रममा आबद्ध भइसकेका छन्”, उनले भने, “हामीले पालिकाको कार्यक्रम भएकाले समन्वय गर्दै आएका छौँ, बाँकी काम बीमा समिति र बीमा अभिकर्ताबाट नै हुँदै आएको छ । अब चौथो चरणमा अझ बढी वृद्धि हुने अनुमान छ । ”

यसअघि स्वास्थ्य बीमामा खासै चासो नदेखाएका नागरिकले निःशुल्करुपमा बीमा गर्न पाउने र अभियानकै रुपमा कार्यक्रम सञ्चालन गर्न थालिएकाले सङ्ख्या उल्लेख्य वृद्धि हुँदै गएको गाउँपालिकाले जनाएको छ । गाउँपालिकाले यस आर्थिक वर्षमा निःशुल्क स्वास्थ्य बीमाका लागि रु ८० लाख बजेट विनियोजन गरेको छ । यसअन्तर्गत विसं २०७९ चैतसम्ममा आबद्ध भएका सङ्ख्याका आधारमा रु ५० लाख ४० हजार खर्च भइसकेको छ ।

गाउँपालिका अध्यक्ष दिनेश लामाले आफू पालिकाको अध्यक्षमा निर्वाचित भएपछि पहिलो निर्णयमै ६० वर्षभन्दा माथिका ज्येष्ठ नागरिकको निःशुल्क स्वास्थ्य बीमा गर्ने निर्णय गरिएकामा त्यसको प्रभावकारिता पनि बढ्दै गएको बताए। ज्येष्ठ नागरिकको स्वास्थ्यका बारेमा गाउँपालिका संवेदनशील हुन आवश्यक रहेकाले निःशुल्क स्वास्थ्य बीमा अभियान कार्यक्रम अगाडि सारिएको उनको भनाइ थियो । पालिकाभित्रमा तीन हजार दुईभन्दा बढी ज्येष्ठ नागरिक छन् ।-रासस/File Photo

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको