भनिन्छ, यूनिटी इज स्ट्रेन्थ अर्थात् एकता नै शक्ति हो । यदि केही प्राप्त गर्नु छ भने त्यहाँ एकता हुनु आवश्यक छ । एकताबिना हामी गन्तव्यमा पुग्न सक्दैनौँ । एकता कै कुरा गर्नुपर्दा नेपाली सेयर लगानीकर्ताहरुबीच हामी कहिल्यै एकता पाउँदैनौँ । जुनसुकै विकासका कार्यक्रमहरू होस् या विरोधका कार्यक्रम लगानीकर्ताहरूको समूह सधैँ विभाजित भएको पाइन्छ ।
सीडीएसको तथ्याङ्क हेर्दा नेपालमा कुल ५६ लाख भन्दा बढी सेयर लगानीकर्ताहरू छन् । तर यी सबै लगानीकर्ताहरु एकजुट भएको हेर्न हामीले कहिल्यै पाएका छैनौँ । लगानीकर्ताहरुको स्वार्थ बाजिने हो वा उदेश्य लगानीकर्ताहरु सधैँ छुट्टिन्छन् ।
लगानीकर्ताहरुको हक हितका लागि आवाज उठाउने र पूँजी बजारको विकास गर्ने भनेर नेपालमा केही लगानीकर्ताहरुको संगठन पनि खुलेका छन् । मुख्यतः ३ वटा संगठन छन् । ती हुन् नेपाल इन्भेष्टर्स फोरम, नेपाल पूँजीबजार लगानीकर्ता संघ र शेयर लगानीकर्ता संघ नेपाल । यी बाहेक केही अन्य संगठनहरु पनि खुलेका थिए । तर आजकाल अरु संगठनहरु चाहीँ गुमनाम जस्तै छन् ।
हामीले उल्लेख गरेका ३ वटा संगठनबीच चाहिँ राम्रो समन्वय छ । उनीहरुबीच एकता भएर नै होला संयुक्त प्रेस विज्ञप्तिहरु बारम्बार आइरहन्छन् । अनि सरोकारवालाहरुसँग हुने अनेकौँ छलफल र विभिन्न ज्ञापनपत्र बुझाउने क्रममा पनि यी ३ वटा संगठनका प्रतिनिधीहरु सँगै देखिन्छन् । यद्यपी आम लगानीकर्ताहरुले भने उनीहरुलाई सधैँ झोले संगठनको संज्ञा दिएर उनीहरुको विरोधमा चर्काे आवाज उठाइरहेका हुन्छन् ।
आ–आफ्ना ठाउँबाट बजारमैत्री गतिविधीहरु दुवै पक्षले गर्छन् आम लगानीकर्ताहरुले पनि अनि संगठनवालाहरुले पनि तर साथमा यी दुई पक्ष प्राय देखिँदैनन् । सायद आम लगानीकर्ताहरुको चित्त बुझाउन चुकेका छन् संगठनवालाहरु । त्यसैले त बजारको हक र हितका लागि दौडिरहँदा पनि लगानीकर्ताहरुको विक्षमा परिरहन्छन् उनीहरु । लगानीकर्ताहरुबीच राम्रो छाप छोड्न उनीहरु असमर्थ भएका छन् । लगानीकर्ताहरुले संगठनहरुलाई प्रभावकारी मान्दैनन् । कतिपय लगानीकर्ताहरुले त लगानीकर्ताका नाममा खुलेका संगठनहरु लगानीकर्ताहरुको हकहितको लागि भन्दा पनि आफ्नो सीमित स्वार्थपूर्तिको लागि लाग्ने गरेको आरोप नै लगाउँछन् । सबै संगठन मिलेर एउटा महासंघ बन्नुपर्ने वर्षाैँ अघिदेखि आम लगानीकर्ताहरुको माग छ ।
विगतदेखिकै गतिविधीहरु र्हेने हो भने पनि नेपाली पूँजी बजारमा हालसम्म धेरै वटा ठूला–साना आन्दोलनहरु भए । अनसन र सडक र्याली हामीले धेरै चोटी देख्यौँ र अझै पनि देख्दै आइरहेका छौँ । हरेकपल्ट हुने आन्दोलनमा लगानीकर्ताहरु एकजुट हुन भने सकेका छैनन् । कोही लगानीकर्ता आन्दोलनको समर्थन नै नगरी फेसबूक लगायत सामाजिक सञ्जालहरुमा विरोध गरेर बस्छन् कोही समर्थन छ भनेर पनि आन्दोलनभरी कहीँ कतै देखा पर्दैनन् । एकजुट भएर सडकमा उत्रिएका लगानीकर्ताहरुको पनि स्वार्थ फरक हुन्छ । कोही साँच्चिकै बजारका लागि लड्छन्, कोही पीडामा चिच्याउछन् अनि कोही चर्चित बन्ने होडमा बजार सुधारको नकाब ओड्छन् । एकै ठाउँमा हुन्छन् तर पनि स्वार्थ आआफ्नै हुन्छ ।
उदाहरणका लागि हिजोको एउटा घटना लिऔँ : बजेट आएपछि नै पूँजी बजार मारा कर नीतिको विरुद्धमा विभिन्न विरोधका कार्याक्रमहरु भईरहेका छन् । सोही अनुरुप हिजो पनि अग्रवाल भवन कमलपोखरीमा जम्मा भएर आम लगानीकर्ताहरुले टिएमएस बन्द गराउने लगायतका कृयाकलापहरु गरे । तर त्यहाँ लगानीकर्ता संगठनका प्रतिनीधीहरु कोही पनि उपस्थित नभएपछि प्रश्नहरु खडा भए । अर्थसंसारले ३ वटै लगानीकर्ता संगठनका प्रतिनिधीहरुसँग प्रतिक्रिया लियो । उनीहरुले आन्दोलनमा पूर्ण सहमती भएको अभिव्यक्ती दिए र आफूहरु वार्तामा व्यस्त भएको बताए । साँझमा उनीहरुले आन्तरिक राजश्व विभागका अधिकृतहरुसँग छलफल गरेका समाचारहरु बाहिर आए । लगानीकर्ताहरुको नेतृत्व गर्दै वार्तामा गएका उनीहरुको वार्ताबाट पनि लगानीकर्ताहरु भने खुसी हुन सकेनन् । कारण थियो उनीहरुबीच राम्रो समन्वय नहुनु ।
लगानीकर्ताहरु गुठ गुठ बनेर आ–आफ्नै अनुकुलमा संघ संगठन बनाउन छाडेर एकिकृत हुने हो भने धेरै उपलब्धी हासिल गर्न सकिन्छ । हाम्रा हातका ५ वटा औँलाहरु एउटै छैनन्, ५ वटै औँलाको आफ्नै विशेषता छ तर पनि यी ५ वटा औँला मिलेर बल्ल हात बनेको छ अनि यो हातले धेरै कुरा गर्न सक्छ । त्यसैगरी, जो जस्तो भए पनि लगानीकर्ताहरु सबै एउटै बन्ने हो भने नसोचेका सफलताहरु चुम्न सकिन्छ । फूलको थुङ्गा थुङ्गा मिलेर माला बन्छ, पानीको थोपा थोपा मिसिएर समुन्द्र बन्छ त्यसरी नै एक–एक गरी हरेक लगानीकर्ता एक हुने हो भने एउटा महासागर बन्छ अनि त्यो महासागरले सिङ्गो राज्य हल्लाउन सक्ने हैसियत राख्छ ।
कसैको राजनैतिक स्वार्थ, कसैको संस्थागत स्वार्थ अनि कसैको व्यक्तिगत स्वार्थ सबैको स्वार्थै स्वार्थले गर्दा कहिले काहीँ बन्न आटिसकेको काम पनि नबनेको धेरै उदाहरणहरु छन् । लगानीकर्ताहरुले जेजस्तो भएपनि आ–आफ्ना स्वार्थलाई साइड लगाएर सबै लगानीकर्ता एकजुट हुने हो भने बल्ल केही प्राप्ती हुन्छ ।
त्यसै त राज्यले पूँजी बजारलाई कहिल्यै प्राथमिकतामा राख्दैन । लयमा हिँडेको बजारमाथि सधैँ राज्यको गिद्धे नजर पर्छ । यस्तो अवस्थामा सबै लगानीकर्ताहरु एकजुट भएर सरकार र सरोकारवालाहरुलाई दवाव दिनुपर्नेमा लगानीकर्ताहरु नै एक आपसमा लडेर एकजुट नहुने हो भने बजारको विकास कसरी होला र ?
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस