Like us!
Follow us!
Connect us!
Watch us!

नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, अबदेखि सहकारी बैंकका सबै शाखामार्फत सहजै रेमिट्यान्स् प्राप्त गर्न सकिने

अर्थ संसार

मंगलबार, ०२ साउन २०८०, १३ : ०७ मा प्रकाशित

नेपाल रेमिट र राष्ट्रिय सहकारी बैंकबीच रेमिट्यान्स् भुक्तानी सम्झौता, अबदेखि सहकारी बैंकका सबै शाखामार्फत सहजै रेमिट्यान्स् प्राप्त गर्न सकिने

विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. र राष्ट्रिय सहकारी बैंक लिमिटेडबीच रेमिट्यान्स् भुक्तानी सम्झौता भएको छ । यस सम्झौतासँगै राष्ट्रिय सहकारी बैंकमा आवद्ध हजारौँ सहकारीका सदस्यहरूले बिभिन्न सहकारी मार्फत नेपाल रेमिट मार्फत पठाएको रेमिट्यान्स् सहजै भुक्तानी पाउन सकिन्छ । रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा नेपाल रेमिटका तर्फबाट प्रमुख कार्यकारी अधिकृत सागर खनाल र राष्ट्रिय सहकारी बैंकका तर्फबाट प्रमुख कार्यकारी अधिकृत बद्री कुमार गुरागाईँले हस्ताक्षर गरे । 

रेमिट्यान्स् भुक्तानी सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षरपछि नेपाल रेमिटका प्रमुख कार्यकारी अधिकृत सागर खनालले भने, ‘ रेमिट्यान्स् बजारमा राष्ट्रिय सहकारी बैंकसँग हाम्रो आबद्धता हुनु हाम्रा लागि अझ बढि गौरवको विषय हो । यसबाट विभिन्न सहकारीमा आवद्ध सदस्यहरूले आफु आवद्ध सहकारी मार्फत नै रेमिट्यान्स् भुक्तानी प्राप्त गर्न सक्नुहुनेछ ।’

यस्तै राष्ट्रिय सहकारी बैंकका प्रमुख कार्यकारी अधिकृत बद्री गुरागाईँले भने, ‘ नेपाल रेमिटजस्तो लामो इतिहाँस भएको रेमिट्यान्स् कम्पनीसँग हाम्रो आबद्धता हुनु भनेको हाम्रा लागि पनि खुशीको कुरा हो । अबदेखि राष्ट्रिय सहकारी बैंकका कुनै पनि शाखाबाट नेपाल रेमिट मार्फत पठाएको रकम प्राप्त गर्न सक्नुहुनेछ ।’ 

नेपालको पुरानो र विश्वसनिय रेमिटले विगत १७ वर्ष देखि विश्वका विभिन्न मुलुकबाट रेमिट्यान्स् भित्र्याउँदै आएको छ । डिजिटल रेमिट्यान्स्लाई प्राथमिकता दिँदै आएको नेपाल रेमिटले नेपालमा रहेका थुप्रै बैँक तथा बित्तीय संस्थाहरुबाट ग्राहकका खातामा रियल टाइम नै रेमिट्यान्स् भित्र्याउँदै आएको छ । रेमिट्यान्स् सेवा सहकारीहरूमा समेत विस्तार हुँदा नेपालमा रेमिट्यान्स मार्फत देशको अर्थतन्त्र सुदृढिकरणमा थप टेवा पुग्ने नेपाल रेमिट इन्टरनेशनल प्रा.लि. का नायव महाप्रबन्धक देव वहादुर थापाले जानकारी दिए ।

नेपालमा सहकारीको शुरुवात भएको ६ वर्षपछि अर्थात वि. स. २०२० सालमा सहकारी बैंकको स्थापना भएको थियो । २०१९ सालमा सहकारी ऐन आएपछि सोही ऐनको आधारमा सहकारी बैंक स्थापना भएको हो । तर सहकारी सम्बन्धी ठोस नीतिको अभावमा २०२४ सालमा सहकारी वैंक, कृषि विकास बैंकमा परिणत हुन पुग्यो । २०४८ सालमा सहकारी ऐन र ०४९ सालमा सहकारी नियमावली आउनुका साथै राष्ट्रिय सहकारी संघ र सहकारीका अगुवाहरुको चाहना र पहलवाट २०५७ सालमा सहकारी ऐन २०४८ लाई संशोधन गरी सहकारी बैंक स्थापना सम्बन्धि व्यवस्था गरियो । 

नेपाल सरकारको १ करोड सेयर रकम र सहकारी संघ संस्थाहरुको सहभागितामा २०६० असार २५ गते राष्ट्रिय सहकारी बैंक लिमिटेड विधिवत रुपमा दर्ता भएको थियो । बैंकले आफ्ना सदस्य सहकारी संंघ संंस्थाहरू बीच २०६१ श्रावण १९ गते देखि कारोवार शुरु गरेको हो । सहकारी विभागको मातहतमा सञ्चालन हुदै आएको बैकले २०६७ साउन १० गते नेपाल राष्ट्र बैंकबाट सीमित बैंकिङ्ग कारोवार गर्न स्वीकृति प्राप्त गरी आफ्नो कारोबार गर्दै आएको छ । यो बैकमा नेपाल सरकार, राष्ट्रिय सहकारी विकास बोर्ड, राष्ट्रिय सहकारी संघ लिमिटेड, केन्द्रीय सहकारी संघहरू, जिल्ला सहकारी संघहरू, बिषयगत सहकारी संघहरू, विभिन्न प्रकृतिका प्रारम्भिक सहकारी संस्थाहरू आबद्ध छन् ।

राष्ट्रिय सहकारी बैंक लि.मा हाल ७५ जिल्लाका करिब ७ हजार ३ सय सहकारी संघ संस्था शेयर सदस्य छन् । ३३ शाखा र १ केन्द्रीय कार्यालय गरी ३४ स्थानबाट ६६ करोड भन्दा बढी शेयर पूँजि संकलन, ८ अर्ब निक्षेप संकलन, करिब ५ अर्व कर्जा लगानी र करिव १० अर्बको कारोबार भैरहेको छ । बैंकले पछिल्लो समय कृषि र विपन्न वर्ग कर्जामा विशेष प्राथमिकता दिदै आएको छ । यो क्षेत्रमा करिब २ अर्ब लगानी रहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको