यो एक्काइसौँ शताब्दी हो । एक्काइसौँ शताब्दीमा काँचुली फेर्दासम्म यहाँ नयाँ नयाँ प्रविधीको आविष्कार भइसकेका छन् । एक्काइसौँ शताब्दीमा पाइला टेक्दासम्म समग्र विश्वले नै विकास र उपलब्धीका नयाँ नयाँ मुहार फेरेको छ । नयाँ नयाँ प्रविधिको आविष्कारसँगै विभिन्न गतिविधीहरू गर्न एकदमै सहज भएको छ । तर प्रविधीका अनगिन्ती सकारात्मक पक्षहरू हुँदाहुँदै पनि यसका केही नकारात्मक पक्षहरू पनि छन् ।
प्रविधीको सदुपयोग त धेरै भएको छ नै, सँगसँगै यसको दुरूपयोग पनि भइरहेको छ । केही हदसम्म प्रविधीको दुरूपयोग गर्नेहरूको थोरै हिस्सा ओगटका छन् पीत पत्रकारिता गर्नेहरूले । हो, प्रविधीको विकाससँगै आजकाल च्याउ उम्रिएसरी छ्याप्छ्याप्ती उम्रिरहेका छन् सञ्चार माध्यमहरू । सबै सञ्चार माध्यमहरू सही हुन्छन् भन्ने छैन । आजकाल त आम सर्वसाधारणलाई एकदमै कठिन हुन्छ कुन सञ्चार माध्यमलाई विश्वास गर्ने कुनलाई नगर्ने । केही पीत पत्रकारिता गर्नेहरूले गर्दा आज यहाँ सर्वसाधारणहरूले आँखा चिम्लिएर कुनै सञ्चार माध्यमलाई विश्वास गर्ने अवस्था नै रहेको छैन ।
एकैछिन कुरा गरौँ पीत पत्रकारिताको । आखिर के हो त पीत पत्रकारिता ?
पीत पत्रकारिता दुई वटा शब्द मिलेर बनेको छ पीत र पत्रकारिता । पीत शब्द संस्कृत भाषाबाट नेपाली भाषामा आएको शब्द हो । पीतको अर्थ हुन्छ– पहेँलो । त्यसैले पीत पत्रकारितालाई नेपालीमा यल्लो जर्नालिजम पनि भनिन्छ । कुनै पनि पत्रकारको पहिलो कर्म र धर्म भनेको सत्थ र तथ्यपरक सूचना खोज्नु, पत्ता लगाउनु र सार्वजनिक गर्नु हो ।
यल्लो जर्नालिजम अर्थात् पीत पत्रकारिता कसरी जन्मियो ?
अंग्रेजीमा स्थापित ‘यलो जर्नालिज्म’ शब्दावली ११८ वर्ष अगाडि अमेरिकामा जन्मिएको हो । न्यूयोर्क जर्नलका प्रकाशक विलियम रान्डोल्फ हर्स्ट र उनका कट्टर प्रतिद्वन्द्वी, न्यूयोर्क वर्ल्डका प्रकाशक जोसेफ पुलिट्जरलाई पीत पत्रकारिताको सिर्जना वा भनौँ स्थापनाको श्रेय दिइएको छ ।
पीत पत्रकारिता गर्नेहरू टिकाउ भन्दा पनि बिकाउको मनस्थितीले सञ्चालित हुन्छन् । जसमा सत्य समाचारलाई बेवास्ता गरी ध्यान खिच्ने हेडलाइनहरू प्रशस्त मात्रामा प्रयोग गरिन्छ । पीत पत्रकारितामा सत्य कम अनि कथ्य भने बढी पाइन्छ । समाचारका शीर्षकहरू पाठक र दशर्कका आँखालाई आकर्षित पार्नेगरी रचिएका हुन्छन् । अनि सस्ता तस्वीरहरू र भ्रामक सूचनाको प्रयोग गरिन्छ ।
आजकाल अनलाइनको जमाना छ । अनलाइन मिडियाहरू अघि भनेझैँ च्याउसरी छन् । अहिले सत्य तथ्यमा आधारित अनलाइन मिडियाहरू एकदमै कम पाइन्छन् । अनलाइन मिडियाहरू आजकाल सत्य तथ्य खोतल्न मेहेनत गर्नुभन्दा पनि जे बढी क्लिक हुन्छ त्यस्ता कुरा हाल्न रूचाउँछन् ।
पीत पत्रकारिताले समग्र विश्वमा नै विकराल रूप लिईसकेको छ । नेपालमा पनि पीत पत्रकारिता चरमचुलीमा पुगिसकेको अवस्था छ । जुन कुरा हामीले यहाँ उल्लेख गर्नुभन्दा पनि तपाईँ तमाम पाठक वर्गहरूलाई यथावतै होला । प्रेस स्वतन्त्रताका नाममा पीत पत्रकारिता गर्नेहरू यहाँ पाइलै पिच्छे भेटिन्छन् भन्दा सायदै फरक नपर्ला । जुनसुकै क्षेत्र र प्रकारका सञ्चार माध्यमहरूले पीत पत्रकारिता गरिरहेको हामीले नदेखेका होइनौँ ।
आजकाल पीत पत्रकारिताले गर्दा समाजमा समग्र पत्रकारितालाई हेर्ने नजर र दृष्टिकोण नै अर्कै भईसकेको छ । पत्रकारहरूको धर्म र कर्मलाई फरक ढङ्गले परिभाषित गर्न थालिसकेका छन् आम सर्वसाधारणले । यसरी पत्रकारितालाई नकारात्मक रूपमा परिभाषित गरिनुको एउटै मात्र कारण हो, पीत पत्रकारिता ।
आज अर्थ संसार डटकम नवौँ वर्ष पुरा गरेर दशौँ वर्षमा प्रवेश गरेको छ । कुसुम मिडिया क्रियसन प्राइभेट लिमिटेडद्वारा सञ्चालित अर्थ संसार डटकमले विशुद्ध आर्थिक समाचार पस्कनुलाई आफ्नो मुलमन्त्र बनाएको छ । पीत पत्रकारितासँग अर्थ संसारको कुनै सम्बन्ध छैन । अर्थ संसारले पत्रकारिताकाे धर्मलाई सदाह सिराेपर गर्दै सत्थ, तथ्य र सन्तुलित समाचारहरूमार्फत् आम सर्वसाधारणलाई सुसूचित गराउँदै आएको छ ।
हामीले यहाँ उल्लेख गर्नुभन्दा पनि तपाईँ लाखौँ दर्शक, श्रोता र पाठकहरूले हामीप्रति गर्नुभएको विश्वासले छर्लङ्ग पार्दछ हामी र पीत पत्रकारीताबीचको भिन्नता । समग्र आर्थिक क्षेत्रको समाचार, सूचना र विचारको सम्पूर्ण प्याकेज हामीले हाम्रा पाठक र दर्शकहरू माझ पस्कने गरेको कुरा तपाईँहरु सबैलाई जगजाहेरै छ । हामीले प्रत्यक्ष अप्रत्यक्ष रूपमा वा भनौँ जानेर वा अनजानमा पनि समाजलाई प्रभाव पार्ने किसिमका कुनै पनि सामाग्रीहरू सम्प्रेषण गर्ने गरेका छैनौँ ।
पत्रकारितालाई राज्यकाे चाैथाे अङ्गकाे रूपमा लिने गरिन्छ । यसलाई स्थायी राख्नु म, तपाईँ अनि हामी सबै पत्रकारहरूको मुख्य दायित्व हो । आज वार्षिकोत्सवको यो विशेष अवसरमा हामी अर्थ संसार परिवार तपाईँ तमाम प्रवुद्ध पाठक र शुभन्तिकहरुमाझ आउँदा दिनमा अर्थसंसारलाई अझै पठनीय, निष्पक्षता र सन्तुलन राख्ने प्रयास हरदम गरिरहने प्रतिवद्धता गर्दछौँ । हामी आवाजविहीनहरुको आवाज बन्न र समग्र अर्थ जगतको प्रतिनिधित्व गर्ने प्रयत्न हरपल गरिरहनेछौँ ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस