Like us!
Follow us!
Connect us!
Watch us!

कांग्रेस केन्द्रीय समितिको बैठकमा डा. शेखर कोइरालाले के भने? (पूर्णपाठसहित)

अर्थ संसार

आइतबार, ०७ साउन २०८०, १३ : २४ मा प्रकाशित

कांग्रेस केन्द्रीय समितिको बैठकमा डा. शेखर कोइरालाले के भने? (पूर्णपाठसहित)

नेपाली कांग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रीय समितिको बैठकमा आफ्नो धारणा राखेका छन् । पार्टीको ५ दिनदेखि जारी केन्द्रीय समितिको बैठकमा विभिन्न विषयबारे डा. कोइरालाले आफ्ना धारणा राखेका हुन् ।

यस्तो छ नेपाली काँग्रेसका केन्द्रीय सदस्य डा. शेखर कोइरालाले केन्द्रीय कार्यसमिति बैठकमा राखको धारणा 

आदरणीय सभापतिज्यू,

पदाधिकारीज्यूहरु र उपस्थित केन्द्रिय सदस्यहरु,

आज हामी झण्डै एकवर्षको अन्तराल पछि यहाँ भेला भएका छौँ । कैयन साथीहरुलाई विधान विपरित यसरी एकवर्ष पछि भेला हुने अवस्था किन र कसरी उत्पन्न भयो होला भन्ने जिज्ञाशा हुनसक्छ । यसको जवाफ सभापति र पदाधिकारी साथीहरुबाट आउने नै छ भन्ने विश्वास गरौँ ।

१. बैठक लाईभ सम्बन्धि-

अहिलेको बिश्व लोकरिझ्याईमा चलेको छ । सायद त्यसैको सिको हामी पनि गर्दैछौँ । केन्द्रिय समितिको बैठक लाईभ गर्नु त राम्रै हो र हाम्रा लागी नयाँ प्रयोग पनी हो । यसले पारदर्शितालाई प्रवर्धन त गरेको छ तर यो सुरु गर्दा कार्यविधी तय गरेर गरेको भए राम्रो हुने थियो जस्तो लाग्छ । कुन बिषय बन्द कोठामा गर्ने र कुन बिषय खुल्ला गर्ने भन्ने कुराको परिधी तय गरिनुपथ्र्यो । मलाई लाग्छ परराष्ट्र, समसामयिक बिषयहरु, अन्तरदलिय बिषय, निर्वाचन रणनीति आदी कुराको स्पष्ट गाईडलाईन बनाऔँ ।

२. महामन्त्रीको सांगठानिक कार्यतालिका-

महामन्त्रीले प्रस्तुत गर्नु भएको पार्टीको सांगठानिक कार्यतालिका समग्रमा राम्रै छ । कांग्रेस मासबेस पार्टी भनिन्छ तर सांगठानिक कार्यक्रम क्याडरबेसमा आधारित देखिन्छ । केन्द्रले जिल्ला लगायत तल्लो तहमा कार्यक्रम गर्दा प्रदेश समितिसँग समन्वय र जानकारी गराउँनुपर्ने प्रावधान थपिनुपर्छ । किनकी यसले संघियताप्रती हामी प्रतिबद्ध छौँ भन्ने कुरा उजागर गर्छ । अर्कोतर्फ अन्य महत्वपूणर् नेताहरुको स्मृति दिवस छुटेको छ, ती पनि समावेश गरिनुपर्छ ।

३ गठबन्धनबारे-

कांग्रेसले गठबन्धन गरेर ठिक वा बेठिक गर्यो भनी अब बस्ने समय छैन, आगामी निर्वाचनहरु कांग्रेसले एक्लै लड्ने तयारी आजवाटै गर्नेछौँ भनी शपथ खानु पर्नेछ । किनकी गत निर्वाचनबाट हामीले प्राप्त गरेको पपुलर मत बिभाजित कम्युनिष्ट पार्टीभन्दा पनि कम छ ।

गएको आम निर्वाचनमा गठबन्धन गरेर कांग्रेस संसद भित्र ठुलो दल भएको छ । ठुलो दलको हैसियतले सरकारको नेतृत्व गर्न हामीलाई प्राविधिक कारणले सम्भव भएन तर पनि अहिले हाम्रो समर्थनको संघिय सरकार छ र प्रदेश सरकारमा पनी हामी छौँ । संसदमा कांग्रेस पार्टीभित्र अपेक्षित उर्जा प्रस्फुटन हुन किन नसकिरहेको होला भन्ने प्रश्न हाम्रो सामु छ । मलाई यो भनिरहँदा कुनै संकोच छैन की हाम्रो पार्टी यतिखेर चौतर्फी विरोधी विचारहरुवाट मात्र आक्रमणमा परिरहेको छैन, राष्ट्रिय र क्षेत्रीय रुपमा उदाएका नयाँ पार्टीहरुवाट पनि चुनौतिको घेरामा छ ।

४. सरकारको कामकाज-

सरकारको कामकाज समिक्षा र प्रभावकारितावारे अहिले भनिहाल्नुपर्ने समय भएको छैन तर गठबन्धनको मर्म अनुसार सरकार सञ्चालन भएको छ कि छैन वा मन्त्रीहरुले स्वत स्फुर्त काम गर्न पाएका छन् कि छैनन् भन्ने बिषयमा भने सोच्नु पर्ने समय आएको छ ।

स्थानीय सरकार देखि प्रदेश हुँदै केन्द्र सरकारसम्म सहभागी कांग्रेस प्रतिनिधिहरुवाट जन अपेक्षा अत्यन्त बढी छ र त्यस अनुरुप हामीले जनतालाई चित्त बुझाएर काम गर्न नसक्दा हाम्रो पार्टीको भविष्य मात्र अन्धकार हुने होइन नेपालको लोकतन्त्र पनि कमजोर र दिशाहिन हुन जाने तर्फ साथीहरु सचेत हुनुहुनेछ । महङ्गी र कालाबजारीले जनता आक्रान्त छन । जनजीविकाको सवालमा जनताले सरकार भएको अनुभूती गर्न सकेका छैनन । यसप्रति हामी र पार्टीबाट मन्त्री बनेकाहरुले गम्भिर हुनै पर्छ । कांग्रेस सरकारमा छ भन्ने अनुभूति जनतालाई दिलाउने तर्फ साथीहरु सचेत हुनुहोला ।

५. दण्डहिनता-

राज्यका जिम्मेवार निकायहरुकै कारण देशमा पछिल्ला दिनहरुमा दण्डहिनता बढेर गएको छ । नीतिगतरुपमै कानुन बनाएर दण्डहिनतालाई प्रश्रय दिने काम भईरहेको छ । हाल संसदमा रहेको “मुलुकी संहिता सम्बन्धि केही नेपाल ऐनलाई संशोधन गर्न बनेको बिधेयक-२०८०” तत्काल खारेज गरिनुपर्छ । यदि यो बिधेयक संसदबाट पारित भए देशमा दण्डहिनताले सँस्थागत रुप लिन्छ । जनता दण्डहिनताको अन्त्य गर्न कांग्रेसले नेतृत्वदायी भूमिका खेलोस भन्ने चाहना राख्छन ।

६. अन्य राजनीतिक दल सम्बन्धि-

समाजबादी मोर्चा किन बनेको हो रु गठबन्धन भित्रैबाट बनेको यसको औचित्य के हो रु

७. भ्रष्टाचार र सुशासन-

भ्रष्टाचार र सुशासन दुई विपरित दिशामा हिड्छन । कांग्रेसले सुशासनको नारा दिने मात्र होइन, भ्रष्टाचार र भ्रष्टाचारीलाई संरक्षण किमार्थ गर्दैन भन्ने बिश्वासको वातावरण निर्माण नगरी जनताको घरदैलोमा भोट माग्न जान अब सम्भव छैन ।

८. भुटानी शरणार्थी प्रकरण-

भुटानी शरणार्थी प्रकरण अत्यन्तै संवेदनशिल र पेचिलो बिषय हो । यस बिषयमा केबल भावनामा बगेर र हलुका टिप्पणी गरेर पन्छन सक्ने अवस्था छैन । यो प्रकरणले अन्तराष्ट्रिय तहमै नेपालको छबि धमिलिएको छ । यसमा हामी सचेत र गम्भिर बन्नुपर्ने आवश्यकता छ । यस बिषयमा यो केन्द्रिय समितिले पारदर्शिता र सुशासनका पक्षमा उभिन सक्ने नैतिक बल दिनेछ भन्ने बिश्वास लिएको छु ।

९. निर्वाचन प्रणाली-

प्रत्यक्ष निर्वाचन प्रणाली भित्रबाटै समानुपातिक र समावेशीको सुनिश्चितता गरिनुपर्छ र त्यसको पहल नेपाली कांग्रेसले गर्नुपर्छ ।

१०. बिदेशमा बस्ने नेपालीहरुको मताधिकार-

बिदेशमा बस्ने नेपालीहरुलाई समानुपातिक प्रणालीमा मताधिकार दिने भनेर निर्वाचन आयोगले भनेको छ । यस सम्बन्धी कानुन बनाएर कार्यान्वयनका लागी कांग्रेस पार्टीले जोड दिनुपर्ने आवश्यकता छ ।

११. बदलिदो भुराजनीति-

बदलिदो भुराजनीतिलाई मध्यनजर गर्दै नेपालको अन्तराष्ट्रिय कुटनीतिमा देखिएको असंगती र अस्थिरतालाई देशको जिम्मेवार र ठुलो पार्टीको नाताले एकपटक गम्भिरतापूर्वक सोचौँ, हामी अन्तराष्ट्रिय राजनीतिको क्रिडास्थल नबनौँ ।

१२. पार्टीमा एकताबद्ध हुन आह्वान-

विभिन्न कारणले कांग्रेसको मूलधारवाट अलग्गिएका र छेउ किनारामा पुगेका कांग्रेसजनलाई सम्मानजनकरुपमा घर फर्कने बाटो खोलिनुपर्छ । कांग्रेस पार्टीले व्यक्तिको राजनीतिक सुरक्षा र राष्ट्र निर्माणमा समान अवसर सवैलाई दिन्छ भन्ने सन्देश प्रवाह गर्नसके हामीसँग अनेकन् कारणले असन्तुष्ट भएकालाई फेरी मुलधारमा ल्याउन सकिन्छ । तसर्थ यस अघि जुनसुकै कारणले कांग्रेसवाट अलग्गिएका साथीहरुलाई पार्टीमा पुनः एकताबद्ध हुन आहन गरौँ ।

सभापतिज्यू,

१३. जनतासँग जोडौँ-

सत्तालाई मात्र अन्तिम सत्य मान्दा राजनीतिक मुल्य, मान्यता, सिद्धान्त र आदर्श कमजोर बन्दै गएको छ । हामी जनतासँग टाढिएका छौँ । जनता र हामी बिचको खाडल पुर्नुपर्ने अहिलेको पहिलो आवश्यकता हो । लोककल्याणकारी राज्य निर्माणमा हामी चुकेका छौँ । जसका कारण पार्टीमा नैतिक र सांस्कृतिक विचलन आएको छ । यसलाई क्रमशः न्यून गर्दै पार्टीको नैतिक पक्षलाई पूर्नस्थापित गरेर विपी कोइराला लगायत हाम्रा अग्रजहरुको सोचको कांग्रेस फेरी निर्माण गर्नुछ । जनताले पत्याउने र भरोसा गर्ने कांग्रेस निर्माण गर्ने कार्य अब पनि ढिलो गर्दा हामी असान्दर्भिक हुने खतरा बढ्दो छ ।

तसर्थ नेपाली समाजको बदलिदो आर्थिक, सामाजिक र सांस्कृतिक आलोकमा पार्टीभित्र अनेकन् पेशा, व्यवसाय, वर्ग र समुदायको सहभागिता अनिवार्य नै भएको छ । पार्टीलाई देशभित्र र बाहिरका श्रमिक,विज्ञ, विशेषज्ञ, पुर्व प्रशासक र समाजका प्रतिष्ठित व्यक्तिहरुसंग नजोडी पुरानो शैलीमा मात्र पार्टी सञ्चालन गर्ने समय अब रहेन । त्यसकारण पार्टीका बिभिन्न तहमा निश्चित प्रतिशत तय गरी यस्ता व्यक्तिवाट पार्टीले लाभ लिने व्यवस्था गरौँ । 

सभापतिज्यू,

१४. बिधान अनुसार चलौँ-

हाम्रो राजनीतिक भविष्य मात्र होइन देशको लोकतन्त्रको भविष्य पनि हाम्रो चरित्र र कार्यशैलीद्धारा निर्देशित हुन्छ । हामी सवै एउटा खेलको नियममा वाँधिएका छौँ र बाधिनु पर्छ । जसरी देश संविधानवाट चल्छ त्यसैगरी कांग्रेस पनि पार्टी विधानवाट अगाडि बढाउने परम्परा बसालौँ । हाम्रा भातृ र शुभेच्छुक संस्थाहरुलाई पनि बिधान अनुरुप अगाडि बढाउने काम गरौँ । बिधानले सवैले गर्ने काम तोकेको छ । हामी कतिले के(के गर्यौ, मनन गरौँ । लामो समयपछि बसेको केन्द्रिय समितिको बैठक आरोप प्रत्यारोप र कुण्ठा पोख्ने थलो मात्र बनेको देखियो । यो राम्रो लक्षण हैन । यसले हामी हाम्रो लक्ष्य र गन्तव्यमा पुग्न सक्दैनौँ ।

१५. महासमिति बैठक-

१४औँ महाधिबेशनले नेतृत्व चयन मात्र गर्यो । कुनै पनि पार्टी उसको नीति, सिद्धान्त र कार्ययोजनाले मात्रै जिवन्त रहन्छ । नेपाली कांग्रेस बिचारले भरिएको पार्टी हो तर १४औँ महाधिबेशन पछाडी यसले आफ्नो राजनीति दस्तावेज ल्याएको छैन । अहिले पार्टीमा बिचारको खडेरी छ । त्यसकारण बिधान अनुसार अबिलम्ब महासमितिको बैठक बोलाई नीति तथा कार्यक्रम ल्याउनेतर्फ जानु पर्छ ।

अन्तमा,

पार्टी सुधारको कुरा कसैलाई सुनाउँन वा देखाउँनलाई होईन । पार्टीलाई जीवन्त र समय सापेक्ष राख्न हो ।सस्तो लोकप्रियता र लहडले संगठन चल्दैन । परिपक्व र जिम्मेवार बनौँ । दुरदराजका जनताको आवाज सुनौँ । केवल शब्द रटानमा मात्रै होइन, व्यवहारिकरुपमै आफूलाई परिवर्तन गरौँ । विधानले व्यवस्था गरे अनुसार बसौँ र छलफल गरौँ । कांग्रेसलाई बहस, चिन्तन र विचारको नयाँ युगमा प्रवेश गराऔँ । कांग्रेस रुपान्तरण भनेकै यही हो । जय नेपाल । 

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको