Like us!
Follow us!
Connect us!
Watch us!

नेपाललाई बीआरआईको ऋण बोकाउन चीनको निरन्तर दबाब, यथाशिघ्र कार्यान्वयन प्रक्रिया बढाउन छलफल

अर्थ संसार

मंगलबार, ०९ साउन २०८०, १४ : ४५ मा प्रकाशित

नेपाललाई बीआरआईको ऋण बोकाउन चीनको निरन्तर दबाब, यथाशिघ्र कार्यान्वयन प्रक्रिया बढाउन छलफल

चीनको ड्रिम प्रोजेक्ट बेल्ट एण्ड रोड इनिसिएटिभ (बिआरआई) नेपालमा लागू गर्न चीनले निरन्तर दबाब बढाएको छ । नेपाल भ्रमणमा रहेका चिनियाँ कम्युनिष्ट पार्टीका पोलिटब्युरो सदस्य युआन च्या च्युनले प्रमुख नेताहरुसँगको भेटमा बीआरआई कार्यान्वयनलाई तीव्रता दिन चासो देखाएका छन् ।

युआनले सन् २०१७ मा बीआरआई सम्झौता भए पनि कार्यान्वयनको घोषणा नभएकोमा प्रश्न उठाएका छन् । मंगलबार नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीसँगको भेटमा उनले सो कुरा गरेका हुन् ।

ओली प्रधानमन्त्री हुँदा बीआरआई सम्झौता भएको थियो । तर, २०२२ मा शेरबहादुर देउवा प्रधानमन्त्री भएलगत्तै नेपाल सरकारले चीनले अनुदान दिए मात्रै सो प्रोजेक्ट स्वीकार गर्न सकिने जवाफ दिएको थियो । चीनले बीआरआई अन्तर्गत पोखरा अन्तर्राष्ट्रिय विमानस्थल निर्माण भएको भनेको छ, जसलाई नेपालले मानेको छैन । तर, यो विमानस्थल चीनको ऋणमा निर्माण भएको हो ।

चिनियाँ नेता युआनले नेपालका नेताहरुसँगको भेटमा पोखरा अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको विषयमा पनि कुराकानी गरे । जनवरी १, २०२३ मा यसको उद्घाटन भएको थियो । तर यस विमानस्थलबाट व्यावसायिक अन्तर्राष्ट्रिय उडानहरू अझै सञ्चालन हुन सकेको छैन। युआनले सेप्टेम्बरमा हुने प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डको चीन भ्रमणबारे पनि छलफल गरेका छन् ।

प्रचण्डलाई चीन भ्रमणका बेलामा बीआरआई कार्यान्वयनको सम्झौता गराउने गरी दबाब बढाउन खोजिएको छ । यही उद्देश्यका साथ २६ सदस्यीय टोलीसहित चिनियाँ कम्युनिस्ट पार्टीका पोलिटब्यूरो सदस्य युआन च्या च्युन नेपाल आएको खुलेको छ ।

बीआरआई कार्यान्वयनको घोषणा गराउन चीनले राजनीतिक दबाब बढाइरहेको छ । नेपालले बीआरआई अनुदानमा लिने ऋणमा नलिने स्पष्ट पारेपनि चीन दबाब बनाइरहेको छ । उसले प्रधानमन्त्री प्रचण्डको भदौमा हुने भनिएको चीन भ्रमणमा यसको घोषणा गराउन चाहिरहेको छ ।

चिनियाँ नेता युआनले नेपालका राष्ट्रपति रामचन्द्र पौडेल, सभामुख देवराज घिमिरे, नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवा, नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओली उपसभापति र रक्षामन्त्री पूर्णबहादुर खड्कासँग भेटवार्ता गरेका छन् । तीनदिने भ्रमणका क्रममा आइतबार श्रीलंका हुँदै नेपाल आएका युआनले नेकपा (माओवादी केन्द्र)का उपाध्यक्ष नारायणकाजी श्रेष्ठ, महासचिव देव गुरुङलगायत नेताहरूसँग पनि भेट गरेका छन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको