Like us!
Follow us!
Connect us!
Watch us!

चौतर्फी विरोधपछि म्युचुअल फण्डलाई आईपीओमा कोटा हटाउने तयारी गर्दै सेबोन

अर्थ संसार

शुक्रबार, २६ साउन २०८०, १५ : ५२ मा प्रकाशित

चौतर्फी विरोधपछि म्युचुअल फण्डलाई आईपीओमा कोटा हटाउने तयारी गर्दै सेबोन

सामान्य भाषामा बुझ्नु पर्दा साना र कम जोखिम मोल्ने लगानीकर्ताहरूलाई  ठूलो पोर्टफोलियोमा समावेश गरी विविध क्षेत्र र कम्पनीमा लगानी गर्ने कम्पनीलाई म्युचुअल फण्ड भनिन्छ ।

म्युचुअल फन्ड एक सामूहिक लगानी कोष हो । यँहा लगानी गर्ने हरेक लगानीकर्ता कम्पनीको समूहको सदस्य बन्दछन् । म्युचुअल फन्ड २ प्रकारका हुन्छन् खुलामुखी फन्ड र बन्दमुखी फन्ड ।  खुलामुखी फन्डले कुनै बखतमा पनि लगानीकर्तालार्इ सेयर बिक्री गर्ने गर्दछ र लगानीकर्ताले बिक्री गर्न आएमा पुनः खरिद गर्दछ । यता बन्दमुखी फन्डले एकचोटी सेयर जारी गरिसकेपछि निश्चित समय अविधिभर सो योजना अन्तर्गत अर्को सेयर जारी गर्दैन। यस प्रकारको फन्ड नेप्सेमा सुचिकृत गरिएको हुन्छ र यो ब्रोकरमार्फत खरीदबिक्री गर्न सकिन्छ ।

म्युचुअल फन्डको कुरा त हामीले बुझिहाल्यौँ । अब कुरा गरौँ म्युचुअल फण्डले पाउने आईपीओ कोटाको बारेमा । नेपालमा कुनै पनि कम्पनीले सर्वसाधारणहरूका लागि साधारण सेयर आईपीओ निष्कासन गर्दा ५ प्रतिशत सामूहिक लगानी कोष अर्थात् म्युचुअल फण्डहरूलाई छुट्याउनु पर्ने प्रावधान रहेको छ ।  जस अनुसार हरेक कम्पनीले आईपीओ निष्कासन गर्दा उक्त कम्पनीको कुल आईपीओको ५ प्रतिशत म्युचुअल फण्डहरूले आरक्षण बापत पाउने गर्दछन् ।

सामान्यत म्युचुअल फण्डहरुलाई बजार निर्माताका रुपमा व्याख्या गर्ने गरिन्छ । समग्र बजार र लगानीकर्ताहरु प्यानिक भएको अवस्थामा बजारलाई सम्हाल्ने भुमिका संस्थागत लगानीकर्ताहरुबाट अपेक्षा गरिएको हुन्छ । 

नेपालीमा एउटा प्रसिद्ध उखान छ सर्पलाई दुध पिलाउनु अर्थात् सर्पलाई जति नै दुध पिलाए पनि त्यसले विष नै ओकल्छ । यही उखानसँग मिल्दोजुल्दो छ नेपालमा म्युचुअल फण्डलाई दिइने आईपीओ आरक्षण । तर पछिल्लो समय म्युचुअल फण्डहरूले गरेको देख्दा भने म्युचुअल फण्डहरूलाई आईपीओमा कोटा दिनु भनेको सर्पलाई दुध पिलाउनु जस्तै भएको भन्दै लगानीकर्ताहरूले लामो समयदेखि म्युचुअल फण्डलाई आईपीओमा कोटा खारेज गर्नुपर्ने माग राख्दै आएका थिए ।  

पछिल्लो समय नयाँ कम्पनीहरूको बजारमा कारोबार सुरू भएको दिन नै आईपीओ बेच्न म्युचुअल फण्डहरूले तछाड मछाड गर्ने गर्दछन् ।  कोटामा पाएको आईपीओ पनि एक दिन त के एक घण्टा पनि टिकाउन सक्दैनन् म्युचुअल फण्डहरूले । म्युचुअल फण्डको यस्तो हर्कतको लगानीकर्ताहरूले विरोध गरेका हुन् । बजार सम्हाल्ने भूमीका दिइएको म्युचुअल फण्डहरूले ठीक विपरित कार्य गर्न थालेपछि म्युचुअल फण्डहरूले अराजकताको पराकाष्ठा नाघे भन्दै लगानीकर्ताहरूले सेबोनसँग म्युचुअल फण्डलाई आईपीओमा आरक्षण दिने प्रणाली खारेज गर्नुपर्ने माग राख्दै आएका थिए । 

सोही अनुरूप अब भने नेपाल धितोपत्र बोर्ड (सेबोन) पनि म्युचुअल फण्डलाई आईपीओमा  कोटा हटाउने तयारीमा लागेको छ । 

म्युचुअल फण्डलाई आईपीओमा कोटा हटाउने विषयमा धितोपत्र बोर्ड छलफलको क्रममा रहेको सेबोनका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले अर्थसंसारलाई जानकारी दिए । छलफल पछाडी सबै कुरा क्रमिक रूपमा अगाडि बढ्ने उनले बताए ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

Garima Capital

धेरै पढिएको