नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हकप्रद दर्ता गर्न छाडेको छ ।
धितोपत्र बोर्डले केही समयका लागि नयाँ हकप्रद सेयर दर्ता गर्ने प्रक्रिया रोकेको बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठले अर्थ संसारलाई जानकारी दिए ।
उनका अनुसार हकप्रद दर्ताको प्रक्रिया नै नयाँ हिसाबले गर्ने की के गर्ने भनेर केही समयका लागि हकप्रद सेयर दर्ता गर्ने प्रक्रिया रोकिएको हो । अहिलेका लागि क्यापिटलहरूलाई पनि आफूहरूले फाइल रोक्न लगाएको उनले बताए । धितोपत्र बोर्डले छिट्टै नै यस विषयमा निर्देशिका जारी गर्न लागेको पनि उनले जानकारी दिएका छन् ।
यतिबेला धिताेपत्र बाेर्डकाे पाइपलाइनमा ६ वटा कम्पनी हकप्रद निष्कासनकाे अनुमति कुरेर बसेका छन् । जसमध्ये ५ वटा हाइड्राेपावर रहेका छन् । अहिले छ्याङ्दी हाइड्राे (१००%), घलेम्दी हाइड्राेपावर (२००%), सींगटी हाइड्राेपावर (१००%), हिमालयन उर्जा (१००%) र अरूण भ्याली हाइड्राेपावर (१००%) हकप्रद निष्कासन गर्न सेबाेनकाे पाइपलाइनमा बसेका हाइड्राे कम्पनीहरू हुन् । हाइड्राेकाे अलावा नारायणी डेभलपमेन्ट बैंक पनि हकप्रद निष्कासन गर्न धिताेपत्र बाेर्डकाे पाइपलाइनमा रहेकाे छ । बैंकले पनि १:१ काे अनुपातमा १००% हकप्रद निष्कासन गर्न लागेकाे हाे ।
त्यसैगरी, नेपाल बीमा प्राधिकरणको बुधबार बसेको बैठकले पनि पहिलो चरणमा मर्ज गरेर पनि पुँजी नपुगेका ३(३ वटा जीवन बीमा र निर्जीवन बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिने निर्णय गरेको छ । जस अनुसार अब जीवन बीमा कम्पनीहरु प्रभु महालक्ष्मी लाईफ, सूर्यज्योति, सानिमा रिलाइन्स र निर्जीवन बीमा कम्पनीहरु हिमालयन एभरेष्ट,अजोड युनाइटेड इन्स्योरेन्स तथा सानिमा जिआईसीलाई हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।
प्राधिकरणले तोकेको पुँजी पुर्याउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २१.९५ प्रतिशत,सूर्यज्योतिले १० प्रतिशत,सानिमा रिलायन्सले १९.५० प्रतिशत, हिमालयन एभरेष्टले ११.६१ प्रतिशत युनाइटेड अजोडले २३.२६ प्रतिशत र सानिमा जीआईसी इन्स्योरेन्सले २५ प्रतिशतको हकप्रद ल्याउनुपर्ने देखिन्छ।
यी कम्पनीहरूले हकप्रद निष्कासन गर्नु अगाडि धिताेपत्र बाेर्डबाट अनुमति लिनुपर्छ । अब अहिले सेबाेनले दर्ता प्रक्रिया नै राेकेपछि यी कम्पनीहरूले पनि अहिले नै हकप्रद दर्ता गर्न पाउँदैनन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस