Like us!
Follow us!
Connect us!
Watch us!

पोखरामा ५ तारे होटल बनाईरहेको बाराही सेदीले आईपीओ ल्याउने, बिक्री प्रबन्धक नियुक्त

अर्थ संसार

सोमबार, ११ भदौ २०८०, १७ : ३४ मा प्रकाशित

पोखरामा ५ तारे होटल बनाईरहेको बाराही सेदीले आईपीओ ल्याउने, बिक्री प्रबन्धक नियुक्त

पोखराको लेकसाईडमा पाँच तारे होटल बनाईरहेको बाराही सेदी लिमिटेड र एनएमबी क्यापिटल लिमिटेडबीच निष्कासन तथा बिक्री प्रबन्धक सम्बन्धी सम्झाैता सम्पन्न भएको छ । बाराही सेदी लिमिटेडले सर्वसाधारणका लागि आईपीओ निष्कासन गर्नका लागि यी दुई कम्पनीबीच सम्झौता भएको हो । 

कम्पनीले जारी पूँजी रु. १ अर्ब १६ करोडको १० प्रतिशत अर्थात रु. ११ करोड ६० लाख बराबरको ११ लाख ६० हजार कित्ता आईपीओ निष्कासन गर्ने जनाएको छ । 

निष्कासन तथा बिक्री प्रबन्धक नियुक्त गर्ने सम्बन्धी सम्झौतापत्रमा बाराही सेदी होटल लिमिटेडका तर्फबाट कार्यकारी सञ्चालक बिप्लब पौडेल तथा एनएमबि क्यापिटल लिमिटेडको तर्फबाट प्रमुख कार्यकारी अधिकृत दीपेश कुमार वैद्यले हस्ताक्षर गरेका छन् । उक्त कार्यक्रममा बाराही ग्रुपका अध्यक्ष हरि प्रसाद पौडेल, बोर्ड सदस्य बसन्ती पौडेल, बैभव पौडेल सहितका सञ्चालक तथा कर्मचारीहरु तथा एनएमबि क्यापिटल लिमिटेडका कमल प्रसाद नेपाल तथा आशिष राज पाण्डेको समेत उपस्थिति रहेको थियो ।

नियामक निकायबाट तोेकिएका सम्पूर्ण प्रक्रिया तथा आवश्यकताहरु पुरा गरी यथासम्भव छिटो निष्कासनको प्रक्रिया अगाडी बढाईने कार्यकारी सञ्चालक विप्लव पौडेलले बताएका छन् । हाल करिब ५१ प्रतिशत निर्माण कार्य सम्पन्न भै सकेको उक्त होटल सन् २०२५ सालदेखि सञ्चालनमा ल्याउने योजनाका साथ तिव्र गतिमा निर्माण कार्य भैरहेको छ । होटलमा १० वटा प्रिसिडेन्सियल स्विट सहित १५० कोठा र ११ वटा सर्भिस हाउस रहनेछन् । पोखराको लेकसाइड मै पाँच तारे होटलको माग बढ्दै गएकाले क्यासिनोसहितको सुविधा सम्पन्न होटल बनाउन लागिएको छ । एक हजार २ सय क्षमताको हल समेत रहने यो होटलमा इन्फिनिटी स्विमिङ पुल, हेल्थ क्लब, टावर लिफ्ट लगायतका आकर्षण हुनेछन् ।

विगत ३० वर्षदेखि पर्यटन व्यवसायमा संलग्न बाराही गु्रपले यस बाराही सेदीको अलावा पोखराकै लेकसाईड होटल बाराही, काठमाण्डौंको ठमेलमा होटल बाराही काठमाण्डौ, चितवनको मेघौलीमा बाराही जंगल लज सञ्चालन गरिरहेको छ । बाराही ग्रुपले होटल आबास पोखरा, सराङकोट माउन्टेन लजका अलावा लेकसाईडमा द ब्यञ्जन रेष्टुरेन्ट र खपौदीमा द बीच रेष्टुरेन्ट पनि सञ्चालन गरिरहेको छ । त्यस्तै पोखरामा आउने पर्यटकहरुलाई पोखरा भ्याली र हिमाली भेगमा हवाई टुर गराउन पोखरा अल्ट्रालाइट पनि बाराही ग्रुपकै नेतृत्वमा सञ्चालन भैरहेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

सम्बन्धित खबर

धेरै पढिएको