Like us!
Follow us!
Connect us!
Watch us!

नयाँ हकप्रद दर्ता बन्द गरेर धिताेपत्र बाेर्ड अझै छलफलमै

अर्थ संसार

बुधबार, १३ भदौ २०८०, १६ : ०४ मा प्रकाशित

नयाँ हकप्रद दर्ता बन्द गरेर धिताेपत्र बाेर्ड अझै छलफलमै

केही समय अघिबाटै नियामक निकाय नेपाल धितोपत्र बोर्ड (सेबोन) ले हकप्रद दर्ता गर्न छाडेको छ । सेबोनले हकप्रद दर्ता गर्न छाडेको  र छिट्टै निर्देशिका ल्याउने तयारी गरेकाे विषयमा हामीले यसअघि नै समाचार सम्प्रेषण गरेका थियाैँ । 

अहिले उक्त प्रक्रिया कहाँ पुग्याे भनेर बुझ्न फलाेअपका लागि आज हामीले धिताेपत्र बाेर्डसँग कुराकानी गर्याैँ । बोर्डका प्रवक्ता मुक्तिनाथ श्रेष्ठका अनुसार बाेर्ड अहिले पनि यस विषयमा छलफलकै क्रममा छ । 

अर्थ संसारसँग कुराकानी गर्दै उनले भने, "अहिले पनि बाेर्डमा छलफल भइरहेकाे छ । छलफलपछि निष्कर्ष निस्किन्छ । निर्देशिका जारी गर्ने विषय पनि अहिले छलफलकै क्रममा छ । अहिले अध्यक्षज्यू पनि हुनुहुन्न अब अध्यक्षज्यू आउनुभएपछि बाँकी कुरा हाेला ।" 

हकप्रद दर्ताको प्रक्रिया नै नयाँ हिसाबले गर्ने की के गर्ने भनेर केही समयका लागि हकप्रद सेयर दर्ता गर्ने प्रक्रिया रोकिएको हो । अहिलेका लागि क्यापिटलहरूलाई पनि फाइल रोक्न लगाइएको छ । 

 यतिबेला विभिन्न ७ वटा कम्पनी हकप्रद सेयर निष्कासन गर्ने अनुमतिका लागि सेबोनको पाइपलाइनमा रहेका छन् । ७ वटा कम्पनीमध्ये ६ वटा हाइड्राेपावर र एउटा विकास बैंक रहेकाे छ । नारायणी डेभलपमेन्ट बैंक लिमिटेडले १ः१ को अनुपातमा शतप्रतिशत, रिडी पावर कम्पनी लिमिटेडले चुक्ता पुँजीको ५० प्रतिशत, घलेम्दी हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पूँजीकाे २०० प्रतिशत, छ्याङ्दी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत, सिंगटी हाइड्रोपावर कम्पनी लिमिटेडले शतप्रतिशत, अरुण भ्याली हाइड्रोपावर कम्पनी लिमिटेडले चुक्ता पुँजीको ५० प्रतिशत र हिमालयन उर्जा विकास कम्पनी लिमिटेडले शतप्रतिशत हकप्रद सेयर निष्कासन गर्न सेबाेनकाे अनुमति कुरेर पाइपलाइनमा बसेका छन् ।

त्यसैगरी, नेपाल बीमा प्राधिकरणको बैठकले पनि पहिलो चरणमा मर्ज गरेर पनि पुँजी नपुगेका ३-३ वटा जीवन बीमा र निर्जीवन बीमा कम्पनीलाई हकप्रद सेयर जारी गर्ने अनुमति दिने निर्णय गरेको छ । जस अनुसार अब जीवन बीमा कम्पनीहरु प्रभु महालक्ष्मी लाईफ, सूर्यज्योति, सानिमा रिलाइन्स  र निर्जीवन बीमा कम्पनीहरु हिमालयन एभरेष्ट,अजोड युनाइटेड इन्स्योरेन्स  तथा सानिमा जिआईसीलाई हकप्रद सेयर निष्काशन गर्ने प्रक्रिया अघि बढाउने बाटो खुलेको छ ।

प्राधिकरणले तोकेको पुँजी पुर्याउन प्रभु महालक्ष्मी लाइफ इन्स्योरेन्सले २१.९५ प्रतिशत,सूर्यज्योतिले १० प्रतिशत,सानिमा रिलायन्सले १९.५० प्रतिशत, हिमालयन एभरेष्टले ११.६१ प्रतिशत  युनाइटेड अजोडले २३.२६ प्रतिशत र सानिमा जीआईसी इन्स्योरेन्सले २५ प्रतिशतको हकप्रद ल्याउनुपर्ने देखिन्छ।

यी कम्पनीहरूले हकप्रद निष्कासन गर्नु अगाडि धिताेपत्र बाेर्डबाट अनुमति लिनुपर्छ । अब अहिले सेबाेनले दर्ता प्रक्रिया नै राेकेपछि यी कम्पनीहरूले पनि अहिले नै हकप्रद दर्ता गर्न पाउँदैनन् ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको