Like us!
Follow us!
Connect us!
Watch us!

लाभांश सिजन : बोनस ठिक कि नगद उत्तम ?

अर्थ संसार

शुक्रबार, २९ भदौ २०८०, १४ : ३० मा प्रकाशित

लाभांश सिजन : बोनस ठिक कि नगद उत्तम ?

लाभांश सिजन सुरू भइसकेको छ । नयाँ आर्थिक वर्ष सुरू भएसँगै नेपाल स्टक एक्सचेञ्ज (नेप्से) मा सूचिकृत कम्पनीहरूले लाभांश घोषणा गर्न थालिसकेका छन् । पछिल्लो केही दिन यता वाणिज्य बैंकहरूले पनि धमाधम लाभांश घोषणा गर्दैछन् ।

लगातार घटेको सेयर बजारमा बिस्तारै सकारात्मक माहोल देखिन थालेको छ । यता दैनिक कारोबार रकममा पनि सुधार हुँदै गएको देखिन्छ । बजारमा बिस्तारै सुधारको संकेत देखिँदै जाँदा लगानीकर्ताहरूको मनोबल पनि बढ्दो क्रममा छ । अब सूचिकृत कम्पनीहरूले लाभांश घोषणा गर्न थालेसँगै बजारमा थप माहोल बन्ने प्रक्षेपण गरिन्छ ।

आज हामी यहाँ बोनस सेयर र नगद लाभांशमध्ये कुन ठिक भन्नेबारे चर्चा गर्नेछौँ । नगद लाभांश र बोनस सेयरमध्ये कुन ठिक भन्ने बुझ्नुभन्दा अघि सुरूमा बोनस र नगद लाभांशको परिभाषा र प्रक्रियाको बारेमा राम्ररी बुझौँ ।

बोनस सेयर र नगद लाभांशको सामान्य परिभाषा

कुनै पनि कम्पनीले आर्जन गरेको अर्थात् कमाएको नाफाबाट आफ्ना सेयरधनीलाई बाँडिने नाफाको अंशलाई लाभांश भनिन्छ । लाभांश दुई किसिमले वितरण गरिन्छ : बाेनस सेयर र नगद लाभांश । यदि लाभांश नगदमा बाँडिन्छ भने त्यसलाई नगद लाभांश भनिन्छ । यदि लाभांशलाई सेयरमा वितरण गरिन्छ भने त्यसलाई बोनस सेयर भनिन्छ ।

कुनै पनि कम्पनीले गर्ने कारोबारको प्रकृति, काम र समय अनुसार कम्पनीलाई कति र कत्रो आकारको चुक्ता पूँजी आवश्यक पर्छ भन्ने निधार्रण हुन्छ । समय अनुसार कुनै कम्पनीलाई पूँजीको आवश्यकता खड्किन्छ । यही पूँजी बढाउने प्रयोजनका लागि कम्पनीहरूले बोनस वितरण गर्ने गर्दछन् । 

यता पूँजी बढाउन आवश्यक नहुने कम्पनीहरूले सेयरधनीहरूलाई नगद लाभांश वितरण गर्दछन् । आफुले गर्ने कामको लागि पूँजी प्रयाप्त भएका कम्पनीहरूले भने लगानीकर्तालाई लाभांशको रूपमा धेरैजसो नगद लाभांश नै वितरण गर्ने गरेका पाइन्छ । 

मूल्य समायोजनको प्रक्रिया

कम्पनीहरुले विशेष गरी कुन मितिसम्म कायम रहेका सेयरधनीहरुलाई साधारण सभामा सहभागी गराउने तथा लाभांशरबोनस जस्ता प्रतिफलहरु प्रदान गर्ने भन्ने निर्क्यौल गर्नका लागि बुकक्लोज गर्छन् । त्यही बुकक्लोजको आधारमा मूल्य समायोजन गरिन्छ । बुकक्लोज गरेकाे दिन कम्पनीकाे बोनस सेयरको बजार भाउ पनि समायोजन गरिन्छ । बोनस दिँदा सेयर संख्या थपिने भएकाले मूल्य समायोजन गरिएको हो । मूल्य समायोजन हुँदा कम्पनीको सेयर भाउ भने घट्छ ।

बोनस सेयरको मूल्य समायोजन गर्ने सुत्र :

                                                    बुकक्लोज भन्दा अघिल्लो दिनको सेयरमूल्य

                                                     ÷

                                                                     १ + बोनस %

नगद लाभांशकाे मामिलामा चाहीँ नगद लाभांश वितरण गर्दा मूल्य समायाेजन हुने सम्भावना एकदमै न्युन हुन्छ । यदि कुनै पनि कम्पनीले दाेश्राे बजारमा चलिरहेको मूल्यको १०% भन्दा बढी नगद लाभांश दियो भने मात्रै सो कम्पनीको मूल्य समायोजन हुने गर्दछ । एक उदाहरण : नेप्सेमा ५०० रुपैयाँ मूल्य रहेको कुनै कम्पनीले मूल्यको १०% अर्थात प्रतिकित्ता ५० रुपैयाँ भन्दा बढी हुने गरी लाभांश दियो भने मात्रै मूल्य समायोजन हुने गर्दछ। यदि सो कम्पनीको अंकित मूल्य १०० रुपैयाँ हो भने ५० रुपैयाँ लाभांश पाउन ५०% नगद लाभांश घोषणा गर्नुपर्ने हुन्छ । नेप्सेमा चलेको भाउको १०% भन्दा कम लाभांश दिएमा मूल्य समायोजन हुँदैन । प्राय: कम्पनीहरुले त्यति धेरै लाभांश नदिने हुँदा नगद लाभांशमा मूल्य समायोजन हुने सम्भावना निकै कम हुने देखिएकाे हाे ।  

नेपाली लगानीकर्ताकाे मनाेविज्ञान र अन्तर्राष्ट्रिय बजारकाे प्रवृत्ति

नेपाली लगानीकर्ताहरूले नगद भन्दा बाेनस धेरै रूचाउँछन् । कुनै कम्पनीले बाेनस थाेरै दिएर नगद धेरै दियाे भने खिस्स पर्छन् तर बाेनस धेरै दिएर कर तिर्नका लागि मात्रै भनेर थाेरै नगद दियाे भने चाहीँ गद्गद् हुन्छन् । भन्नुकाे अर्थ नेपाली लगानीकर्ताहरूले नगद भन्दा बाेनसलाई नै बढी प्राथमिकता दिन्छन् । सञ्चालकहरूले नगद लाभांश वितरणमा बढी जाेड दिने गरेकाे पाइन्छ भने आम लगानीकर्ताहरूले बाेनसमा जाेड दिन्छन् । तर अन्तर्राष्ट्रिय बजारकाे प्रवृत्ति/प्राक्टिस भने ठ्याक्कै विपरित देखिन्छ । अन्तर्राष्ट्रिय बजारमा बोनस सेयर वितरण गर्ने प्रवृत्ति एकदमै कम कम्पनीहरूमा मात्रै हुन्छ । अन्तर्राष्ट्रिय बजारमा सूचिकृत कम्पनीहरूलेले आफूलाई आवश्यक पर्ने चुक्ता पूँजी पहिल्यै जगेडा गरिसक्ने हुनाले ती कम्पनीहरुले नगद लाभांशलाई नै पहिलो प्राथमिकता दिने गर्दछन् । अनि सेयर लगानीकर्ताहरू पनि बाेनस सेयरकाे पछाडि  दाैडिँदैनन् । 

अन्तर्राष्ट्रिय बजारकाे उदाहरणकाे लागि सेयर बजारका बादशाह मानिने वारेन बफेटको कम्पनीले हालसम्म लाभांश नदिँदा पनि लगानीकर्ताहरू उक्त कम्पनीमा झुम्मिएका पाइन्छन् ।

नेपाली बजारकाे भर्खरैकाे उदाहरण हेराैँ : यही साता मात्रै २ दिनकाे अवधिमा ३ वटा वाणिज्य बैंकले लाभांश घाेषणा गरे । आर्थिक वर्ष २०७९/८० को लागि एनआईसी एशिया बैंकले चुक्ता पुँजीको २९ प्रतिशत बोनस र कर प्रयोजनको लागि १.५२६३ प्रतिशत नगद लाभांश, सानिमा बैंकले  ९ प्रतिशत बोनस र कर प्रयोजनका लागि ५.७० प्रतिशत नगद लाभांश र एभरेष्ट बैंकले १० प्रतिशत बोनस सेयर र कर सहित १० दशमलव ५३ प्रतिशत नगद लाभांश वितरण गर्ने घोषणा गरेका हुन् । यी ३ मध्ये पनि एभरेष्ट बैंक र एनआईसी एशिया बैंककाे लाभांशकाे खुबै चर्चा भइरहेकाे छ । एभरेष्ट बैंककाे नकारात्मक रूपमा अनि एनआईसी एशिया बैंककाे सकारात्मक रूपमा किनभने एभरेष्टले बाेनस घटाएर नगद बढायाे अनि एनआईसी एशिया बैंकले बाेनसमा जाेड दियाे । एनआईसी एशिया बैंकलाई नेपाल राष्ट्र बैंककाे नियम अनुसार व्यवसाय गर्नका लागि पूँजीकाे आवश्यकता खड्किएकाे थियाे त्यसैले बैंकले पूँजी वृद्धिका लागि बाेनसमा जाेड दियाे । तर एभरेष्ट बैंकलाई थप पूँजीकाे आवश्यकता थिएन त्यसैले जगेडा कोष तथा पूँजी पनि सन्तुलित हुने गरी नगद लाभांशमा जाेड दियाे । यसरी हेर्दा दुवै बैंकले घाेषणा गरेका लाभांश समय सान्दर्भिक र जायज थियाे । तर सेयरधनीहरूबीच भने अहिले एभरेष्ट बैंककाे लाभांशप्रति नकारात्मक टिप्पडी देखिन्छ । त्यसैले, सेयरधनीहरूले के बुझ्नु जरूरी छ भने यदि कम्पनीलाई पूँजीकाे आवश्यकता नै छैन भने बाेनस धेरै वितरण गरेर पूँजी बढाएर भार मात्रै हुन्छ ।

बजारमा असर : बोनस ठिक कि नगद उत्तम ?

कुनै पनि कम्पनीले आफ्ना सेयरधनीहरूलाई बोनस सेयर वितरण गर्दा कम्पनीको पूँजी बढ्छ । पूँजी बढेपछि कम्पनीहरूले पूँजी बढेको अनुपातमा नाफा पनि बढाउनुपर्ने अनिवार्य जस्तै हुन्छ । यदि कुनै कम्पनीले पूँजी बढेको अनुपातमा नाफा बढाउन सकेन भने कम्पनीको प्रतिसेयर आम्दानीमा असर पर्छ र प्रतिसेयर आम्दानी घट्ने हुन्छ । यति मात्रै हैन एकातिर प्रतिसेयर आम्दानी त घट्छ नै अर्कातिर सेयरधनीहरूसँग सेयरको संख्या बढाउँछ । यसको प्रत्यक्ष असर सेयर बजारमा पर्ने हुन्छ ।

बाेनस वितरण गर्दा सेयर संख्यामा वृद्दि हुने हुनाले कम्पनीकाे सेयरमूल्यमा गिरावट आउँछ भने नगद लाभांश वितरणले सेयरमूल्यमा कुनै प्रभाव पार्दैन । घट्दो बजारमा कुनै कम्पनीले बाेनस दिएर मूल्य समायोजन भैसकेपछि कम्पनीको सेयरमूल्य अझै घट्नसक्ने सम्भावना हुन्छ । लगानीकर्ताहरुले बोनस सेयरलाई सित्तैमा पाएको सम्झिन्छन् र यति कित्ता बोनस आउँछ भन्ने क्यालकुलेसन गरेर बोनस बापत आउने सेयर बिक्री गर्न थाल्दछन। घट्दो बजारमा बजारबाट आम्दानी नहुने हुँदा अधिकांश लगानीकर्ताहरुले आफ्नो पोर्टफोलियोमा रहेका सेयरहरु बेचेर नै आफ्ना आवश्यकताहरु पुरा गर्ने गरेको पाईन्छ। बियरिस बजारमा लगानीकर्ताहरु मूल्य थप घट्न सक्ने त्रासमा रहने हुँदा सेलिङ्ग प्रेसर बढ्न गई सेयर मूल्य निकै घट्न जाने हुन्छ।  नगद लाभांश भने लगानीकर्ताहरुको हातमा नगद पर्ने हुँदा अन्य आवश्यकताहरु पूरा गर्नकै लागि लगानीकर्ताहरुले सेयर बिक्री गर्नुपर्ने बाध्यता कम हुन जान्छ । मूल्य समायोजन नहुँदा सेयरमूल्य पनि माथिल्लै लेभलमा रहन्छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

Whatsapp Prabhu Bank

ताजा समाचार

छुटाउनुभयो कि?

Viber

सम्बन्धित खबर

धेरै पढिएको