देशमा ब्याजदर उच्च रहँदा लगानी विस्तार हुनुको साटो बैंकमै निक्षेप थुप्रिएको छ । राष्ट्रबैंकको पछिल्लो तथ्यांकले देशको कुल ग्राहस्थ उत्पादन भन्दा बैंक तथा वित्तीय संस्थामा रहेको कुल निक्षेप बढी रहेको देखाएको हो ।
तथ्यांकअनुसार भदौ मसान्तसम्म कुल निक्षेप र कुल ग्राहस्थ उत्पादनबीचको अनुपात १.०६ रहेको छ । छिमेकी मुलुक भारतमा यस्तो अनुपात ०.६८ मात्र रहेको छ । उत्पादनशील क्षेत्रमा लगानी बढाउनु भन्दा निक्षेपमै जोखिमरहित र आकर्षक ब्याजदर पाइने हुँदा नेपालमा कुल ग्राहस्थ उत्पादनभन्दा कुल निक्षेप उच्च भएको जानकारहरु बताउँछन् । राष्ट्रबैंककै तथ्यांकले पनि भदौ मसान्तसम्म निक्षेपको भारित औसत ब्याजदर ८.०६ रहेको देखाएको छ जसमध्ये बचत खातामा ५.७ प्रतिशत, मुद्दतिमा १० प्रतिशत र कल डिपोजिटमा २.३४ प्रतिशत ब्याजदर रहेको छ ।
यसैगरी राष्ट्रबैंकको तथ्यांक अनुसार कुल ग्राहस्थ उत्पादनको ९१.२८ प्रतिशत कर्जा लगानी भएको छ । यस अवधिमा कर्जाको भारित औसत ब्याजदर १२.२३ प्रतिशत रहेको छ । त्यस्तै कुल निक्षेपको ८५.५२ प्रतिशत कर्जा लगानी भएको छ । बैंक तथा वित्तीय संस्थामा कुल निक्षेप मध्ये मुद्दती निक्षेप अत्यधिक रहेको छ । मुद्दती निक्षेप ६०.७ प्रतिशत रहँदा बचत खाताको हिस्सा २५.६७ प्रतिशत, चालू निक्षेप ६.३५ र कल डिपोजिट ६.४५ प्रतिशत रहेको छ ।
कुल निक्षेप खाता ५ करोड २१ लाख ८३ हजार पाँच ९७ वटा रहँदा कर्जा खाता भने १८ लाख ४९ हजार ७० वटा मात्रै रहेका छन् ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस