आर्थिक वर्ष २०८०/८१ को प्रथम चौमासिकसम्म व्यापार घाटा करिब चार खर्ब ६२ अर्ब रुपैयाँ पुगेको छ ।
यस अवधिमा कुल वस्तु निर्यात ७.७ प्रतिशतले कमी आई रु.५० अर्ब ५७ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निर्यातमा ३३.३ प्रतिशतले कमी आएको थियो । गन्तव्यका आधारमा भारततर्फ भएको निर्यात १४.५ प्रतिशतले कमी आएको छ भने चीन र अन्य मुलुकतर्फको निर्यात क्रमशः ३०७.९ प्रतिशत र ४.७ प्रतिशतले वृद्धि भएको छ । वस्तुगत आधारमा जिंक शिट, पार्टिकल बोर्ड, जुस, तयारी पोसाक, पोलिस्टर धागो लगायतका वस्तुको निर्यात बढेको छ भने पाम तेल, सोयाविन तेल, चिया, ऊनी गलैचा, रोजिनलगायतका वस्तुको निर्यात घटेको छ ।
आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु आयात ३.८ प्रतिशतले कमी आई रु.५ खर्ब १२ अर्ब ५० करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयातमा १८.१ प्रतिशतले कमी आएको थियो । वस्तु आयात गरिने मुलुकका आधारमा भारत र अन्य मुलकबाट भएको आयात क्रमशः २.५ प्रतिशत र २७.७ प्रतिशतले घटेको छ भने चीनबाट भएको आयात ३४.४ प्रतिशतले बढेको छ । वस्तुगत आधारमा तयारी पोशाक, एम.एस. तार, छड, बार तथा क्वाइल, विद्युतीय उपकरण, लत्ताकपडा, हवाईजहाजका स्पेयर पार्टपुर्जा लगायतका वस्तुको आयात बढेको छ भने कच्चा सोयाविन तेल, सुन, पेट्रोलियम पदार्थ, कच्चा पाम तेल, एम.एस.विलेट लगायतका वस्तुको आयात घटेको छ ।
निर्याततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, मेची, रसुवा, तातोपानी तथा त्रिभुवन विमानस्थल भन्सार कार्यालय बाहेकका प्रमुख नाकाबाट गरिएको निर्यात घटेको छ । आयाततर्फ भैरहवा, सुख्खा बन्दरगाह, जलेश्वर, कञ्चनपुर, कृष्णनगर, नेपालगञ्ज, रसुवा तथा तातोपानी भन्सार कार्यालय बाहेकका सम्पूर्ण प्रमुख नाकाबाट भएको आयातमा कमी आएको छ ।
आर्थिक वर्ष २०८०/८१ को चार महिनामा कुल वस्तु व्यापार घाटा ३.३ प्रतिशतले कमी आई रु.४ खर्ब ६१ अर्ब ९४ करोड कायम भएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो घाटा १५.९ प्रतिशतले घटेको थियो । समीक्षा अवधिमा निर्यात–आयात अनुपात ९.९ प्रतिशत रहेकोछ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो अनुपात १०.३ प्रतिशत रहेको थियो ।
समीक्षा अवधिमा भारतबाट परिवर्त्य विदेशी मुद्रा भुक्तानी गरी रु.५३ अर्ब ८४ करोड बराबरको वस्तु आयात भएको
छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आयात रु.४२ अर्ब ६९ करोड बराबरको भएको थियो । समीक्षा अवधिमा खुद सेवा आय रु.२८ अर्ब २० करोडले घाटामा रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा खुद सेवा आय रु.२६ अर्ब ७८ करोडले घाटामा रहेको थियो ।
सेवा खाताअन्तर्गत समीक्षा अवधिमा भ्रमण आय ४७.२ प्रतिशतले वृद्धि भई रु.२५ अर्ब ७४ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय रु.१७ अर्ब ४९ करोड रहेको थियो । समीक्षा अवधिमा सेवा खाता अन्तर्गत भ्रमण व्यय ६५.० प्रतिशतले वृद्धि भई रु.६१ अर्ब ९२ करोड पुगेको छ । यसमध्ये शिक्षातर्फको व्यय रु.३८ अर्ब ४४ करोड रहेको छ । अघिल्लो वर्षको सोही अवधिमा भ्रमण व्यय रु.३७ अर्ब ५४ करोड रहेकोमा शिक्षातर्फको व्यय रु. २२ अर्ब ६१ करोड रहेको थियो ।
अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुक र ट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।
प्रतिक्रिया दिनुहोस