Like us!
Follow us!
Connect us!
Watch us!

प्रथम त्रैमासिक रिपोर्ट अनुसार विकास बैंकमा कुन अब्बल ? भ्यालु इन्भेस्टरलाई सुहाउँदो कुन? हेर्नुहोस् तुलनात्मक विश्लेषण

अर्थ संसार

विहीबार, ३० कार्तिक २०८०, १० : २९ मा प्रकाशित

प्रथम त्रैमासिक रिपोर्ट अनुसार विकास बैंकमा कुन अब्बल ? भ्यालु इन्भेस्टरलाई सुहाउँदो कुन? हेर्नुहोस् तुलनात्मक विश्लेषण

सञ्चालनमा रहेका १७ मध्ये १६ विकास बैंकले आर्थिक वर्ष २०८०/८१ को प्रथम त्रैमासिक रिपोर्ट प्रकाशित गरिसकेका छन् । कर्णाली विकास बैंकबाहेकका विकास बैंकहरुले निकालेको रिपोर्ट अनुसार विभिन्न सुचकाङ्कले  कुन विकास बैंकलाई अब्बल देखाएको छ त हेर्नुहोस् तुलनात्मक विश्लेषण :

इपिएस : प्रति सेयर आम्दानीका हिसाबले हेर्दा लुम्बिनी विकास बैंक अग्र स्थानमा रहेको छ । उक्त बैंकको इपिएस २०.४९ रुपैयाँ रहेको छ । यसगरी दोस्रो स्थानमा साइन रेसुङ्गा, तेस्रोमा गरिमा विकास, चौथोमा कामना सेवा र पाँचौमा मुक्तिनाथ विकास बैंक रहेका छन् । ती विकास बैंकहरुको इपिएस क्रमश: १७.९, १५.५, १४.५ र १४.२ रुपैयाँ रहेको छ । सबैभन्दा खराब इपिएस रहेका विकास बैंकमा सप्तकोसी विकास बैंक र एक्सेल विकास बैंक रहेका छन् । यी कम्पनीको प्रति सेयर आम्दानी ५७.१७ रुपैयाँ र ४४.५ रुपैयाँले ऋणात्मक रहेको छ ।

प्रति सेयर नेटवर्थ : नेटवर्थ भनेको कुनै पनि कम्पनीको कुल सम्पत्तिबाट कुल दायित्व घटाएर बाकिँ रहेको सम्पत्तिलाई प्रति सेयर बाँडफाँड गर्दा हुन आउने रकम हो । नेटवर्थका हिसाबले हेर्दा पनि लुम्बिनी विकास बैंक नै अग्र स्थानमा रहेको छ । उक्त बैंकको नेटवर्थ १८१.०७ रुपैयाँ रहेको छ । यसगरी दोस्रो स्थानमा महालक्ष्मी विकास बैंक, तेस्रोमा गरिमा विकास, चौथोमा मुक्तिनाथ र पाँचौमा साइन रेसुङ्गा रहेका छन् । ती विकास बैंकहरुको नेटवर्थ क्रमश: १५७.३, १५२.७, १४९.९ र १४८.१ रुपैयाँ रहेको छ । सबैभन्दा खराब नेटवर्थ रहेका विकास बैंकमा नारायणी विकास बैंक, सप्तकोसी विकास बैंक र सिन्धु विकास बैंक रहेका छन् । यी कम्पनीको प्रति सेयर नेटवर्थ २९.४९, ५४.९९ र १११.३ रुपैयाँ रहेको छ ।

पिई रेसियो : प्रति सेयर आम्दानीसँगै भ्यालु इन्भेस्टरले सबैभन्दा धेरै ध्यान दिने पिई रेसियो भनेको कुनै पनि सेयरको मूल्य र त्यसले दिनसक्ने आम्दानीको अनुपात हो । जति कम मूल्य आम्दानी अनुपात रहन्छ उति नै लगानीकर्ताले थोरै खर्चमा धेरै आम्दानी गर्नसक्छन् । यहाँ तिहार बिदा अगाडिको अन्तिम मूल्य हेरेर अद्यावधिक पिई रेसियो निर्धारण गरिएको छ । पिई रेसियोका हिसाबले हेर्दा पनि लुम्बिनी विकास बैंकको सेयर नै सबैभन्दा डिस्काउन्टेड मूल्यमा बिक्री भईरहेको छ । उक्त बैंकको मूल्य आम्दानी अनुपात १८.२५ गुणा रहेको छ । यसगरी दोस्रो स्थानमा कामना सेवा विकास बैंक, तेस्रोमा साइन रेसुङ्गा, चौथोमा गरिमा र पाँचौमा मुक्तिनाथ विकास बैंक रहेका छन् । ती विकास बैंकहरुको मूल्य आम्दानी अनुपात क्रमश: १९.९३, २०.२९, २३ र २६.४६ रुपैयाँ रहेको छ ।

एनपिएल : राष्ट्र बैंकको कडा नियमनका कारण विकास बैंकहरुको आम्दानीको ठूला हिस्सा नन पर्फमिङ एसेटको प्रोभिजनिङमा खर्च भएको छ । यस कारण एनपिएल बढेका विकास बैंकहरुको समग्र रिपोर्ट निकै कमजोर देखिएको छ । सबैभन्दा उच्च एनपिएल भएको विकास बैंकमा सप्तकोसी विकास बैंक रहेको छ । उक्त बैंकको कुल कर्जा लगानीको १८.५ प्रतिशत एनपिएल रहेको छ । यसैगरी उच्च एनपिएल हुने बैंकहरुमा नारायणी विकास बैंक, एक्सेल विकास बैंक, कर्पोरेट विकास बैंक, ग्रीन डेभलपमेन्ट बैंक रहेका छन् । ती बैंकहरुको एनपिएल क्रमश: १७.८, ७.५७, ४.८७ र ४.५५ रहेको छ । सबैभन्दा कम एनपिएल रहेको विकास बैंकमा मुक्तिनाथ विकास बैंक रहेको छ । उक्त बैंकले एनपिएल १.४९ प्रतिशतमा सीमित राखेको छ ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको