Like us!
Follow us!
Connect us!
Watch us!

सेयर बजारप्रति गभर्नर भन्दा निर्मम थिए अर्थमन्त्री महत, रिक्स वेटेज घट्न नदिनेमा समेत बनेका थिए बाधक

लोकेन्द्र ढकाल

मंगलबार, २२ फागुन २०८०, ०७ : ५८ मा प्रकाशित

सेयर बजारप्रति गभर्नर भन्दा निर्मम थिए अर्थमन्त्री महत, रिक्स वेटेज घट्न नदिनेमा समेत बनेका थिए बाधक

उदारवादी आर्थिक नीति लिएको कांग्रेसका अर्थमन्त्री भएको बेला नबढेको बजार कम्युनिस्ट पार्टी एमाले सरकारमा जाने भएपछि अचानक सकारात्मक सर्किट ब्रेक  नै लाग्यो । आईतबार २१ अंकले घटेको सेयर बजार सोमबार एकाएक ११७.७ अंक अर्थात् ६ प्रतिशत करिब ४ मिनेट मै बढ्यो । 

बजार बढ्नुमा खास कारण अर्थमन्त्री प्रकाशशरण महतको बहिर्गमन मुख्य थियो । एमाले सरकारमा सामेल हुँदा गभर्नरसंग ट्युनिङ मिल्नसक्ने र सेयर बजारप्रति राष्ट्र बैंकको नीति खुकुलो होला भन्ने अपेक्षाले पनि बजारमा सकारात्मक सर्किट ब्रेक लागेको लगानीकर्ताहरु बताउँछन् । तर कांग्रेसी अर्थमन्त्री सरकारबाट बाहिरिँदै गर्दा सेयर बजारमा लागेको सर्किट ब्रेकले भने सबैलाई आश्चर्यचकित बनाएको छ । यसका खास कारणहरू पनि छन् । 

सेयर बजारलाई राष्ट्र बैंकले कसिलो नीति मार्फत नियन्त्रणमा राखेको छ । त्यसको लागि सेयर धितो कर्जाको सीमा तोकिएको छ भने जोखिम भार 'रिक्स वेटेज' समेत बढाइएको छ । पछिल्लो समय बैंकहरुमा तरलताको सहजता भएसँगै राष्ट्र बैंकले सेयर बजार नीतिमा केही खुकुलो समेत गर्दै गएको छ । यझपि, सेयर बजार मापन नेप्से इन्डेक्समा भने सुधार्न हुन् सकेको छैन । गत असोज महिनामा राष्ट्र बैकका गभर्नरले एकीकृत निर्देशिका मार्फत १२ करोडको सेयर धितो सीमालाई बढाएर १५/२० करोडसम्म पुर्याए ।

त्यसताका राष्ट्र बैंक निकै लचक होला भन्ने अनुमान सबैमा थियो । कम्तीमा संस्थागत लगानीकर्ता तर्फको सीमा हट्छ भन्ने आस लगानीकर्तामा थियो । तर संस्थागत सीमा २० करोडमा सीमित राखियो । दोष सबैले गभर्नर महाप्रसाद अधिकारीलाई दिए । तर सीमा त्यति नै गर्ने अन्तिम सहमति अर्थ मन्त्रालयमा भएको थियो । त्यसताका अर्थमन्त्री महतले नै एकैपटक त्यो भन्दा खुकुलो बनाउनु हुन्न भन्ने पक्षमा अडान राखेका थिए । 

त्यसैगरी, मौद्रिक नीतिको पहिलो त्रैमासिक समीक्षा ढिलो गरी मंसिर महिनामा सार्वजनिक भयो । त्यहाँ सेयर बजारको रिक्स वेटेज ५० लाख माथिका कर्जामा एक सय ५० प्रतिशत बाट घटाएर एक सय बनाइयो । त्यो पनि गभर्नरले समीक्षाको अघिल्लो दिन अर्थमन्त्रीसंग सगै बसेर सहमतिमा गरेका थिए । 

२०८० माघ २९ गते राष्ट्र बैंकले मौद्रिक नीतिको अर्थ बार्षिक समीक्षा गर्यो । यसपटक पनि राष्ट्र बैंकले सेयर बजारप्रति लिएको कसिलो नीतिमा केही खुकुलो गर्ने अनुमान गरिएको थियो । त्यसको लागि गभर्नर अधिकारीले राष्ट्र बैंक व्यवस्थापन समितिमा समेत छलफल गरेका थिए । छलफलमा जोखिम भार पुन: घटाई १००% मा झार्न गभर्नर तयार रहेको स्रोत बताउँछ । गभर्नरले राष्ट्र बैंक सञ्चालक समितिको बैठक माघ २९ गते साँझ बोलाए । य

सपटक पनि राष्ट्र बैंक सञ्चालक समितिमा एजेण्डा लानु अघि गभर्नर अधिकारीले अर्थमन्त्री महतलाई व्रिफिङ गराउन अर्थमन्त्रालय पुगे । तर अर्थमन्त्री महतले सेयरको पुन: जोखिम भार घटाउँदा सबै पैसा तथा उद्योगी व्यवसायीको आकर्षण सेयर बजारमा जाने भन्दै त्यसलाई रोक्न भने  । अन्तत: गभर्नर अधिकारीले त्यो बुँदा एजेण्डा बाट हटाएको स्रोतहरू बताउँछन् । फलस्वरूप अहिले सेयर बजार लगातार झरिरहेको थियो ।

सेयर बजारमा पुन: नेप्से इन्डेक्स अठार सय अंकमा आउनसक्ने अडकलबाजीले बजार त्रसित थियो । एकाएक तिनै सेयर बजार प्रति निर्मम अर्थमन्त्रीको बहिर्गमनको सुनिश्चितताले सोमबारको सेयर बजारमा सकारात्मक सर्किट ब्रेक लागेको बताउँछन् स्वतन्त्र पूँजीबजार सुधार संघर्ष समितिका अध्यक्ष शुशिल लुनियाँ । आजको सर्किट ब्रेक अर्थमन्त्रीमा महत बाहिरिने पक्कापक्की भएकाले लागेको  लुनियाँले बताए । उनी भन्छन्, प्रमुख कारण महतको बहिर्गमन नै हो, दोस्रो कारण सरकारमा एमाले सामेल हुँदा सरकार गभर्नरको ट्यूनिङ मिल्ने अनुमानले पनि सेयर लगानीकर्तामा आत्मबल बढ्दा नेप्सेमा सर्किट ब्रेक लाग्यो, लुनियाँले भने ।

अर्थमन्त्री जस्तो संवेदनशील नियामक मान्छेले सेयर बजारलाई जथाभावी बोल्दै हिँड्दा लगानीकर्तामा मनोबल गिरेको थियो भन्छन् अर्का सक्रिय लगानीकर्ता भोगिन्द्र भण्डारी । सानो हल्लाले पनि सेयर बजार प्रभावित हुने ठाउँमा अर्थमन्त्रीले जहांसुकै सेयर बजारमा धेरै लोन गयो, उद्योगी व्यवसायी त्यहा फसे, अनि अर्थतन्त्र चल्न नसकेको बताउँदै हिड्नु हुन्छ ? भन्दै प्रश्न गर्छन् भण्डारी ।

सेयर बजारका कारण अर्थतन्त्रमा समस्या आएको पटक पटक भन्दै हिड्ने अर्थमन्त्री आउट हुँदा खुसीयाली स्वरूप आज लगानीकर्ताको खुसीले नेप्सेमा सर्किट ब्रेक लागेको भण्डारीले बताए । कहिले मुठ्ठीभरका सीमित मान्छेको कब्जामा नेपालको सेयर बजार छ भन्ने, कहिले सेयर बजार बढे सबै पैसा त्यही जान्छ भन्दै बोल्दै हिड्ने अर्थमन्त्री चाहिन्न भन्ने सन्देश पनि आजको सर्किट ब्रेकले दिएको छ, भण्डारीले भने ।

अर्थ संसारमा प्रकाशित सामग्रीबारे कुनै गुनासो, सूचना तथा सुझाव भए हामीलाई [email protected] मा पठाउनु होला। *फेसबुकट्वीटरमार्फत पनि हामीसँग जोडिन सकिनेछ । हाम्रो *युटुब च्यानल पनि हेर्नु होला।

ताजा समाचार

छुटाउनुभयो कि?

सम्बन्धित खबर

धेरै पढिएको